युपिएस नहुदा करोडौंको मेशिन थन्कियो

धरान । विद्युत आपुर्तिमा हुने अनियमितता(भोल्टेज अप–डाउन) नियन्त्रण गर्न युपिएस ब्याकअपको व्यवस्था नहुदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको डिआर(डिजिटल रेडियोग्राफी)एक्स रे मेशिन सञ्चालनमा आउन नसकेको पाइएको छ । विरामीको उपचार सेवासँग प्रत्यक्ष सरोकार राख्ने डिआर मेशिन ठिक अवस्थामा भएपनि एउटा युपिएस नहुदा करिब तीन महिनादेखि थन्किएर बसेको छ ।
करिब पाँच करोड रुपैयाको डि.आर. मेशिन प्रतिष्ठानलाई स्वास्थ्य मन्त्रालयले उपलब्ध गराइदिएको हो । यो गत साउन पहिलो साता तत्कालीन स्वाथ्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरेका थिए । करोडौं मुल्यको मेशिन उपयोगमा ल्याउन अस्पताल प्रशासनले एउटा युपिएस व्यवस्था गर्न नसक्दा सर्वसाधारण विरामीहरुले सास्ती खेप्नु परिरहेको छ । यो मेशिन सञ्चालनमा ल्याउदा नै युपिएस ब्याकअपको आवश्यकता महसुस गरिए पनि हालसम्म अस्पताल प्रशासनले व्यावस्था गरेको छैन । प्रतिष्ठानलाई दक्षिण एसियाकै नमुना मेडिकल कलजे तथा अस्पतालकोरुपमा लिइन्छ ।
प्रतिष्ठान पूर्वका विभिन्न सरकारी र निजी अस्पतालबाट विरामी रिफर भइआउने स्वास्थ्य संस्था हो । ओपिडीमा मात्रै दैनिक दुई हजार बढीको संख्यामा विरामीहरु उपचार गराउछन् भने यहाँ दैनिक अढाई सयदेखि साढे तीन सयको हाराहारीमा एक्स रे गराउछन् । डिआर मेशिन सञ्चालनमा नहुदा सि.आर.प्रविधिबाट मात्र एक्स रे हुन्छ । यो प्रविधिमा एक्स रे गर्न हरेक पटक क्यासेट लगाउनुपर्छ र त्यसलाई झिकेर रिडरमा लैजानुपर्छ । डिजिटल प्रविधिमा भने त्यही पर्मानेन्ट क्यासेट हुने भएकोले यी सबै गरिरहनु पर्दैन । जसले गर्दा विरामीहरुले छिटो सेवा पाउछन् भने गुणस्तर र विश्वस्नीयता पनि बढ्छ । यो अत्याधुनिक मेशिन पुर्वाञ्चलमा पहिलो पटक प्रतिष्ठानमा सञ्चालनमा आएको थियो ।
रेडियोलोजी विभागका अनुसार विद्युतको समस्याले गर्दा डि.आर.मेशिन बिग्रिएको थियो । कम्पनीले बनाइदिएर ठिक अवस्थामा भएपनि युपिएस नलगाएसम्म नचलाउनु भन्दै पत्राचार गरेपछि तीन महिनादेखि उपयोग हुन सकेको छैन । ‘डि.आर. राम्रोसँग चलेको थियो, विद्युतकै कारण एउटा बोर्ड जल्यो । कम्पनीले लगाइदिइसकयो, मेशिन रेडी छ’–रेडियोलोजी विभाग प्रमुख डा.आर.के.रौनियारले भने–‘तर, कम्पनीले युपिएस विना नचलाउनु भनेको छ ।’ विभागले पनि पुनःबिग्रिने डरले डिजिटल एक्स रे सञ्चालनमा ल्याएको छैन । डि.आर.नचल्दा विरामीहरुको एक्स रे सि.आर.प्रविधिबाट भइरहेको छ । सि.आर.प्रविधिमा एक्स रे गर्दा समय लाग्छ र विरामीको चाप पनि बढी हुन्छ । डि.आर. मेशिन सञ्चालन भए दैनिक ३ सय जनासम्मको एक्स रे गर्न सकिन्छ । त्यो नहुदा न्युन संख्यामा मात्रै सि.आर.प्रविधिबाट हुन्छ ।
विभागले अस्पताल प्रशासनलाई डिजिटल एक्सरेको लागि ८ के.भी.को युपिएस ब्याकअप माग गरेको थियो । तल अहिलेसम्म उपलब्ध भएको छैन । अस्पताल निर्देशक डा.अरविन्द सिन्हाले युपिएस ब्याकअप आवश्यक भए पनि अहिलेसम्म जोखिम मोलेर नै चलाइरहेको बताए । युपिएस खरीद प्रक्रियामा रहेको भन्दै उनले चाडै व्यवस्था हुने बताए । तर, हालसम्म जोखिम मोलेर मेशिन चलाइरहनुको कारण भने स्पष्ट खुलाएनन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे