उपचारमा लापरवाही,मानिसकको विरामी पेट सुन्निएर मृत्यु

धरान । मानसिक समस्या देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना गरिएका एक युवकको पेट सुन्निएर अस्वाभाविक मृत्यु भएको छ । प्रतिष्ठानमा भर्ना हुदा मानसिकबाहेक अन्य स्वास्थ्य समस्या नभएका ती युवकका अभिभावकले चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दै कारबाहीको माग गरेका छन् ।
मानसिक समस्या देखिएपछि धरान १५ का ३३ बर्षीय सुरज राईलाई असार १६ गते प्रतिष्ठानको मानसिक विभागमा भर्ना गरिएको थियो । दुई दिन अघिदेखि पेट सुन्निएर स्वास्थ्य बिग्रदै गएका उनलाई विभागले राती १० बजेतिर आकस्मिक कक्षमा रिफर गरेको थियो । राईको शनिबार बिहान करिब ४ बजेतिर प्रतिष्ठानको आकस्मिक कक्षमा मृत्यु भएको हो । डाक्टरले उपचारमा हेलचेक्राई गरेकोले छोराको मृत्यु भएको अभिभावकको आरोप छ ।
मृतक सुरजका बुबा हिमाल चाम्लिङ राईले उपचारमा संलग्न मानिसक विभागका चिकित्सक र आकस्मिक कक्षमा उपचारमा लापरवाही गर्ने चिकित्सकलाई आवश्यक अनुसन्धान तथा छानबिन गरी कारबाही गर्न माग गरेका छन् । उनले शनिबार नै इलाका प्रहरी कार्यालयमा लिखित जाहेरी दिएका थिए । तर, सार्वजनिक विदा परेकोले जाहेरी दर्ता हुन सकेन । घटनाको बिषयमा आइतबार अस्पताल प्रशासन, सम्बन्धित चिकित्सक र मृतक परिवारबीच छलफल हुने प्रहरीले जनाएको छ । ‘वार्डमा भर्ना भएको विरामीलाई राती इर्मजेन्सिमा लगेर हेरचाह नगर्दा मृत्यु भयो भन्ने उहाँहरुको भनाई छ, त्यसबिषयमा आइतबार अस्पताल निर्देशक, चिकित्सक र मृतक परिवारवीच छलफल हुन्छ, त्यसपछि मात्र अनुसन्धान गर्नुपर्ने भए आवश्यक प्रक्रिया शुरु गछौं’–इलाका प्रहरी कार्यालयका डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले भने । मृतकको शव आकस्मिक कक्षबाट शवगृहमा राखिएको छ ।
मृतकका बुबाका अनुसार मानसिक वार्डमा बिहिबारदेखि सुरजको पेट सुन्निन थालेको थियो । पेट सुन्निएको समस्या कम नभएपछि राती करिब १० बजेतिर इर्मजेन्सि कक्षमा रिफर गरिदिएका थिए । त्यहाँ उनको एक्स रे र भिडियो एक्स रे गरियो । राती करिब २ बजेतिर मात्र पिसाब नली लगाएपछि पिसाब खुल्यो । एउटा इन्जेक्सन र दुवै हातमा स्लाइन लगाए पछि भने डाक्टरले हेर्दै नहेरेको बुबा हिमालको आरोप छ । ‘छोराको हालत सिरियस थियो भने अक्सिजन लगाएर आइसियु लैजानुपथ्र्यो, नसक्ने हो भने अरु अस्पतालमा पठाउनुपथ्र्यो’–जाहेरी दिन प्रहरी कार्यालय पुगेका राईले भने–‘नर्मल छ भन्दै हेर्दै नहेरी राख्यो, अन्तिम बेला छाती थिच्यो आए । यसरी कसैको पनि ज्यान नजाओस् ।’ मृतककी आमा मनकुमारीले उपचारमा लापरवाही गर्नेलाई छानबिन गरेर कारवाही गर्न माग गरिन् । उपचार राम्रो र छिटो गर्न, नसक्ने भए अन्यत्रै रिफर गरि दिन पनि उनले चिकित्सकहरुलाई सुझाव दिइन् ।
प्रतिष्ठानको आकस्मिक कक्षका एक चिकित्सकले भने उपचारमा लापरवाही नभएको दाबी गरे । मानसिक वार्डबाट सर्जरीको डाक्टरलाई देखाउन भनि आकस्मिक कक्षमा रिफर भएर आएको र एक जना जेआरले हेरेको उनको भनाई छ । ‘एक्स रे, भिडियो एक्स रे गर्दा आन्द्रा सुन्निएको देखिएको थियो । सर्जरीको जुनियर डाक्टरले हेरेपछि सिनियर पठाउने भनेर गएको थियो’–ती चिकित्सकले भने–‘पछि ज्वरो एक्कासी बढेको रहेछ ।’ मृत्युको कारणबारे भने उनले केही बताउन सकेनन् । आकस्मिक कक्षकी एक स्टाफ नर्सका अनुसार विरामीको अवस्था हेरेर उपचार गरिने भएकोले सुरजजस्ता विरामी प्राथमिकतामा पर्दैनन् । अधिकांश मानसिक रोगीको स्वास्थ्य ठिक हुने भएकोले पनि सुरजलाई जाँच गरेर वेटिङमा राखिएको र अरु गम्भीर विरामीलाई प्राथमिकतामा दिइएको हुनसक्ने उनको भनई थियो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे