अनाम धरानको पक्षमा फैसला, रिमालले संस्थालाई पैसा तिर्नुपर्ने

धरान । नाट्या क्षेत्रमा अग्रणी संस्था अनाम धरानका पुर्वअध्यक्ष राजेन्द्रकिसोर रिमाल र वर्तमान पदाधिकारीबीच मानहानी र लेनदेन मुद्दामा सुनसरी जिल्ला अदालतबाट पुर्व अध्यक्ष रिमालको विपक्षमा फैसला भएको छ । जिल्ला अदालत इजालश नम्बर ३ का न्यायाधिश देवेन्द्रप्रसाद पौडेलको इजालशले असार २८ गते पुर्वअध्यक्ष रिमालको विपक्ष तथा वर्तमान पदाधिकारीको पक्षमा फैसला गरेको अनाम धरानले जनाएको छ ।
करिब दुई बर्षअघि रिमालले अनामका अध्यक्ष विनोद श्रेष्ठ, कोषाध्यक्ष रमेश शाह र सदस्य हिमाल दाहाललाई विपक्षी बनाएर जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गरेका थिए । रिमाल हाल नाट्यकर्मी महासंघ नेपालका केन्द्रीय महासचिव पनि हुन् । त्यसलगत्तै संस्थाका अध्यक्ष श्रेष्ठले पनि रिमालले संस्थालाई ५ लाख ७२ हजार तिर्न बाँकी रहेकोले अशुल उपर गरिपाउँ भनि जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । ‘राजेन्द्रकिसोर रिमालले दायर गरेको मानहानीको मुद्दा ठहर हुन नसकेको र संस्थाले निजबिरुद्ध दायर गरेको लेनदेनको मुद्दा भने सत्य ठहर गर्दै फैसला भएका छ, यसबारेमा सबैले सुसुचित हुन आवश्यक ठानेका छांै’–बुधबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष श्रेष्ठले भने ।
अनामका पदाधिकारीले जिल्ला अदालतको फैसला स्वीकार्दै रिमालले संस्थाको भवन बनाउने उद्देश्य रहेको रकम इमान्दाररुपमा फिर्ता गर्न पनि आग्रह गरेका छन् । वितेका २ बर्षमा मुद्दामामिलाको अनावश्यक झञ्झटले संस्था गतिशिल हुन नसकेको र रंगमञ्चमा नयाँ पिढी जन्माउन नसकिएको भन्दै अनाम पदाधिकारीले चिन्ता पनि प्रकट गरेका छन् । ‘उहाँले त भ्रष्टाचार लुकाउन संस्था विघटन गर्न लाग्यो भन्ने भ्रम पनि फैलाउनु भयो । मुद्दाले गर्दा २ बर्षदेखि हामीले केही गर्न सकिरहेको छैनौं’–रंगकर्मी कुलचन्द्र न्यौपानेले भने–‘अब रिमालजीले इमान्दरीतापुर्वक संस्थाको भवन बनाउने भनिएको पैसा फिर्ता गर्नुहुनेछ भन्ने आशा लिएका छौं ।’अनामको विवादबारे जिल्ला अदालतको पुर्ण फैसला पाठ भने आउन बाँकी रहेको छ । तर, रिमालको तर्फबाट मुद्दा लडेका वकिल कृष्णप्रसाद दाहालले पनि रिमालले जिल्ला अदालतबाट मुद्दा हारेको स्वीकार गरे । ‘रिमालजीको विपक्षमा फैसला आएको छ, तर यो नै अन्तिम होइन । उहाँले पुनरावेदन जान चाहनु भयो भने जान सक्नुहुन्छ, ३५ दिनको म्याद हुन्छ’–वकिल दाहालले भने ।
धरानको रंगकर्ममा २८ बर्षे इतिहास बोकेको अनाम नाट्य जमात ०५७ सालमा फुटेर रिमाललगायत कलाकारहरुले अनाम नाट्य एकेडेमी खडा गरेका थिए । अग्रज कलाकारहरुको पहलमा करिब ५ बर्षअघि अनाम पुन ः एकीकरण भएको थियो । अनामको अध्यक्ष पदबाट राजिनामा दिएका रिमालले सन् २०१२ मा आरडिआईएफसँगको वित्तिय साझेदारीमा अधिकार, लोकतन्त्र, समावेशीकरण परियोजनाको कार्यकारी निर्देशक बनेका थिए । त्यसबेला परियोजना अन्र्तगत सडक नाटकका कलाकारहरुले आफ्नो परिश्रमिकबाट संस्थाको भवन निर्माण गर्न रकम छुट्याएका थिए । प्रत्येक शोमा ५ हजार रुयैया संस्थाको भवन बनाउन जोगाउने सहमति भएको थियो । जसमा ११ लाख रुपैया सस्थाले पाउनुपर्नेमा रिमालले ५ लाख ७२ हजार तिर्न बाँकी थियो । पटक पटक संस्थाले पहल गरेपछि रिमालले कागजसमेत गरेका थिए । त्यही बिषयमा विवाद बढ्दै गएर दुवै पक्ष अदालतसम्म पुग्नु परेको थियो ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे