घर वहाल कर पाँच गुुण बढी संकलन


धरान । आर्थिक बर्ष सकिन लागेपछि धरान ९ पुतली लाइनका लक्ष्मी प्रसाद तामाङ आफन्त मिठु तामाङको एकीकृत सम्पत्ति कर तिरिदिन बिहिबार धरान उपमहानगरपालिका गए । राजश्व शाखाको कम्प्युटरमा घरधनी मिठु तामाङको एकाउण्ट खुलेन । कर्मचारीले उनलाई शाखा प्रमुख कर अधिकृत खगेन्द्रप्रसाद खतिवडाको कार्यकक्षमा पठाइदिए ।
अधिकृत खतिवडाले पुनः कम्प्युटरमा चेक गर्दा तामाङको घर भाडामा लिएर व्यावसाय गरेकामध्ये केसी इलेक्ट्रोनिक्सको घरवहाल कर तिर्न बाँकी रहेको देखियो । त्यसवापत तामाङले ३ हजार ६ सय तिरेपछि मात्र एकीकृत सम्पत्ति कर तिर्न पाए । अनि, मात्र उनको एकाउण्ट ‘अनलक’ भयो । आर्थिक बर्ष २०७२/०७३ सकिन लाग्दा उपमहानगरपालिकामा एकीकृत सम्पत्ति कर तिर्नेको घुइचो थियो । तर, घर भाडा(वहाल)मा लगाएका मिठु तामाङ जस्ता घरधनीहरुले विगतमा जस्तो यसपाली सजिलै घरवहाल कर नतिरी उम्कन भने पाएनन् । ‘हामीले लोकेशनमा आधारित सुचना दिने प्रणाली(जिएमआइएस) लागु गरेका छौं । यसले कुन चोकको घरजग्गा हो, बाटोदेखि कति भित्र छ । घर भाडामा लगाएको छ कि छैन भन्ने सबै तस्बिरसहित जानकारी दिन्छ’–कर अधिकृत खतिवडाले भने–‘कर तिर्न आउदा घर वहाल, व्यावसायी कर तिरेको छैन भने उसको अकाउण्ट नै खुल्दैन । पहिला जस्तो घर भाडामा लगाएको छैन भनेर कसैले पनि झुट बोल्नै सक्दैन ।’
अधिकृत खतिवडाले भनेजस्तै एकीकृत सम्पत्ति कर तिर्न आएका करदाता सर्वसाधारणहरु आफ्नो घरको फोटोसहित जानकारी कम्प्युटरमा देखेपछि जिब्रो टेक्थे । फोटो स्टुडियोको व्यावसायी कर तिर्न आएका धरान ६ की फलकुमारी याक्खाले घरधनी नरबहादुर राईको वहाल कर पनि तिरिदिनुप¥यो । ‘वाफ रे, घरको फोटो पनि रै छ’–कम्प्युटरमा घरको तस्बिर देखेर छक्क पर्दै याक्खाले भनिन् । आर्थिक बर्ष २०७२/०७३ देखि धरान उपमहानगरपालिकाले कर संकलनमा जिएमआइएस(जिओग्राफिक म्युनिसिपाल इन्फर्मेशन सिस्टम) लागु गरेको थियो । जसमा कर र जिएमआइएसलाई लिंक गरिएको छ । कसैले एकीकृत सम्पत्ति कर तिर्न आएमा घर वहाल र व्यावसायी कर तिरे–नतिरेको तत्काल जानकारी दिन्छ ।
यो प्रणाली लागु गरेपछि नगरबासीलाई करको दायरामा बाध्न उपमहानगरपालिकालाई सहज भएको छ भने कर संकलनमा पनि वृद्धि भएको छ । राजश्व शाखाका अनुसार जिएमआइ सिस्टमले कारण लागु भएको करिब डेढ दशकपछि मात्र घर वहाल कर पुर्णरुपमा कार्यान्वयनमा आउन सकेको छ । विगतका आर्थिक बर्षहरुको तुलनामा भन्दा चालु आर्थिक बर्षमा घरवहाल कर पाँच गुणा बढी संकलन भएको राजश्व शाखाले जनाएको छ । धरानमा आर्थिक बर्ष ०५६/०५७ देखि घर वहाल कर लागु भए पनि पुर्ण कार्यान्वयन हुन सकेको थिएन ।

शाखाका अनुसार अघिल्लो आर्थिक बर्ष २०७१/२०७२ मा धरान उपमहानरपालिकालमा घरवहाल करअन्र्तगत ५ लाख ३५ हजार २ सय ७८ रुपैया मात्र संकलन भएको थियो । तर, यो आर्थिक बर्ष २०७२/०७३ मा जिएमआई सिस्टम लागु भएपछि असार ३० गतेसम्म २७ लाख ४३ हजार ७० रुपैया घर वहाल कर संकलन भइसकेको छ । गत बर्षको तुलनामा यो पाँच गुणा बढी हो । घर वहाल कर घरधनीले तिर्नुपर्ने भएपनि कतिपय वहालवाला व्यावसायीले नै तिरेका थिए । ‘भाडावालाले म आफै तिर्छु भन्यो भने मात्र हो । घरधनीले नै तिर्छु भन्यो भने घरधनीलाई नै तिराउछौं’–कर अधिकृत खतिवडाले भने ।
अघिल्लो बर्षको तुलनामा एकीकृत सम्पत्ति करमा पनि बृद्धि भएको छ । गत आर्थिक बर्षमा १ करोड १० लाख संकलन भएकोमा आर्थिक बर्ष २०७२/०७३ को असार ३० गतेसम्म एक करोड १८ लाख रुपैया संकलन भइसकेको छ । जिएमआइ सिस्टम लागु भएपछि यो आर्थिक बर्षदेखि नगरबासी उपमहानगर कार्यालयमा कुनै सेवा लिन आउदा एकीकृत सम्पत्ति कर तिरे नतिरेको भनेर हेरिने र बाँकी भए तिराएर मात्रै ती सेवा दिने नीति अवलम्बन गरेको छ । तत्कालीन धरान नगरपालिका पहिलो पटक एकीकृत सम्पत्ति कर लागु गर्ने नगरपालिकाहरुमध्येमा पर्छ । यहाँ आर्थिक बर्ष ०५७/०५८ देखि लागु भएको थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे