बीपीका सुरक्षा गार्डहरुद्धारा धर्ना

धरान । ठेकेदार कम्पनी केटिएम सेक्युटिरी सर्भिस प्रालिविरुद्ध आन्दोलनमा उत्रिएका  सेक्युरिटी गार्डहरुले मंगलबार र बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जिओपिडी भवन अघि धर्ना दिएका छन् ।
निष्काशनमा गरिएका गार्ड गोपी योगीलाई पुर्नवहाली गर्नुपर्नेलगायत विभिन्न ७ बुँदे माग राख्दै सुरक्षा श्रमिकहरुले चरणवद्ध आन्दोलन शुरु गरेका हुन् । गार्डहरुले पहिलो दिन डिउटी छोडेर बिहान ८ बजेदेखि एक घण्टा र दोस्रो दिन बुधबार दुई घण्टा धर्नामा बसेका थिए । आन्दोलित गार्डहरुले साउन ३ गतेसम्म प्रत्येक दिन धर्नाको समय एक घण्टा बढाउदै लैजाने घोषणा गरेका छन् । प्रतिष्ठानमा एक सय २९ जना सुरक्षा गार्डहरु कार्यरत छन् । ती मध्ये नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन घोपामा आवद्ध सुरक्षा गार्डहरु आन्दोलनमा होमिएका हुन् । युनियन एमाले निकट जिफन्टको एउटा घटक हो । साउन ३ गतेसम्म पनि माग पुरा नभए केटिएम सेक्युरिटीको सम्पर्क कार्यालय, कन्ट्रोल रुम र क्षेत्रीय कार्यालयसँगै प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टाको कार्यालयमा पनि अनिश्चितकालीन तालाबन्दी गर्ने युनियनले घोषणा गरिसकेको छ ।
दुर्घटनामा परेका मजदुर गोपी योगीले आफ्नो सट्टामा त्यही कार्यरत अर्का मजदुरलाई डिउटीमा खटाउदा कम्पनीले हाजिरी गर्न नदिए पछि विवाद भएको थियो । त्यही घटनाले उग्ररुप लिएपछि कम्पनीले उनलाई निष्काशन गरेको थियो । एमाले कार्यकर्ता रहेको योगीलाई पुर्नवहाली गराउन एमाले नेताहरुले प्रयास गरेपनि सफल नहुदा करिब तीन महिनापछि मात्र दबाब दिन आन्दोलन शुरु भएको हो । अस्पतालजस्तो अत्यावश्यक तथा संवेदनशील सेवा प्रदायक संस्थामा धर्ना, हडताल बस्न कानुनले निषेध गरेको छ । तथापी, प्रतिष्ठानमा कानुनको उल्लंघन हुदै बेला बेला धर्ना, हडतालजस्ता आन्दोलन हुने गरेको छ । धर्नामा एमाले निकट युवा संघ, विद्यार्थी, मजदुर संगठन, स्वास्थ्य स्वयमसेविकाका स्थानीय नेतृत्वसमेत सहभागी थिए ।



बिहानको डिउटी छोडेर केही गार्डहरु एक घण्टा धर्नामा बसेपनि उनीहरुको डिउटी पोष्टमा दिउसो र बेलुका सिफ्टको कामदार ल्याएर पोष्ट खाली हुन नदिएको ठेकेदार कम्पनी केटिएमका इञ्चार्ज पवन खड्काले बताए । बाकी दिनमा पनि पोष्ट खाली नराख्ने र प्रतिष्ठानको आन्तरिक सुरक्षा कमजोर हुन नदिने खड्काको भनाई छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे