धरानमा दार्जिलिङका दुई कवि(फोटोफिचर)

बरु झुण्ड्याईदिऊँ उँधोमुन्टै
बजिया आँखाहरु
सिधा हेर्नुको अभियोगमा दर्ता
मुद्दा छ मस्तिष्कको नपुंसक चौकीमा ।
कसले देख्नु भनेको थियो ?
घनटाउके प्रश्न भैmँ
घनटाउके मान्छेहरु ? घनटाउके सपनाहरु ?
दार्जिलिङका कवि भुपेन्द्र सुब्बाले आफ्नो कृति ‘बजिया आँखाहरु’को शिर्षक कविता वाचन गर्दा पर्र ताली बज्यो । उनले वाचन गरेका हरेक कविताले वाहवाही र ताली पायो । धरान ९ स्थित होटल रत्न इनमा कलरव धरान र कवि विमल गुरुङ स्मृति पुस्तकालयले दार्जिलिङका कवि सुब्बा र सुधिर क्षेत्रीलाई साहित्यनुरागीमाफ उभ्याएको थियो । निरन्तरको बर्षालाई पनि वेवास्ता गर्दै साहित्यका पारखीहरु दुवैलाई सुन्न पुगेका थिए । दुवैले साहित्य पारखीहरुलाई निराश बनाएनन् । सुब्बापछि माइला र युद्ध शिर्षकको कवितामा यसरी कड्किए अर्का कवि सुधिर क्षेत्री,
युद्धको बान्ता सोहोरेको उसले
युगौंँ ।
त्यसैले उसको आङबाट निस्कन्छ
विखालु पाण्डुलिलिपको दुर्गन्ध,
उसको घाँटीबाट फुस्कन्छ सन्धि चिच्याएको क्रन्दन,
उसको जुँगामा गनाउँछ ताजा बोफोर्सको गन्ध ।
माइला देशका निम्ति टाइमपास हो ।
सन् १८१६ को सुगौली सन्धीपछि नेपालको सिमा मेचीमा खुम्चिए पछि दार्जिलिङ र त्यहाँका नेपालीहरु पनि भारतीय हुन पुगे । तर, उनीहरुको मन सधै नेपाली रहिरह्यो । पहाडकी रानी(दार्जिलिङ)मा नेपाली भाषा, साहित्यमा कलम चलाउने थुप्रै साहित्यकारहरु जन्मिए । ति मध्येका समकालीन युवा कवि हुन्, भुपेन्द्र र सुधिर । मेची पारिको भारतीय नेपाली बाहुल्य क्षेत्रमा दुवै कविको चर्चा छ । त्यता दुवै सुनिन्छन्, पढिन्छन् । शनिबार भने दुवै कविलाई धरानमा नेपाली साहित्यकार र पाठकहरुले प्रत्यक्ष सुन्ने, पढ्ने अवसर पाए ।
कवि सुब्बाको पछिल्लो कविता संग्रह हो ‘बजिया आँखाहरु’ । क्षेत्रीको संग्रह हो, ‘फेरी अर्को अनुष्टुप’ । कार्यक्रममा कविद्धयले संग्रहका कविताहरु सुनाए । साहित्यकारहरुले कृतिमाथि चर्चा गरे । कवि सुब्बाको कृति ‘बजिया आँखाहरु’माथि चर्चा गर्दै कवि वम देवानले सुगौली सन्धीले जर्बजस्ती टुक्रिएको भुमिलाई प्रवास र त्यहाँका भारतीय नेपालीलाई प्रवासी भन्न नसकिने धारणा राखे । ‘राजनैतिक कारणबाट सुगौली सन्धी भएर टुक्रिएको नेपाली भुमि हो, बाध्यताले टुक्रिएको भुभाग र त्यहाँका नेपालीलाई प्रवासी सम्झदैनौं, मान्दैनौं’–कवि देवानले भने–‘उहाँहरु दुवै कवि भारतीय नेपाली साहित्यलाई उचाईमा पु¥याउने उच्चस्तरको कवि हुनुहुन्छ ।’ आँखा सुन्दर, मायालु हुने तर्क गर्दै कवि सुब्बाले बजिया भनेर गाली गरेपनि त्यो ब्यङ्ग्य भएको देवानको धारणा थियो । ‘जे देखेको छ, त्यो सिधै भन्न सक्ने स्थिति नभएपछि घुमाउरो पारामा यो बजिया आँखा नै उस्तो भन्दै कविले लेखेका छन् । मेटाफोरकोरुपमा कविताहरु आएको छ’–देवानले भने ।
साहित्यकार कुन्ता शर्माले क्षेत्रीको फेरी अर्को अनुष्टुपमाथि चर्चा गर्दै कवितामा दिनानुदिन भोगिरहेको समस्याहरु उठान भएको बताइन् । उत्तरअनुनिकतावाद र राजनीति, शासकप्रति ब्यङ्ग्य भरिएको कविताहरु पनि रहेको शर्माको भनाई थियो । ‘विश्वमा अहिले दिनहु आतंकवादको नाममा त्रस्त हुनुपरिरहेको छ, उहाँको कविताहरुमा पनि युद्धको भय छ, त्रासदी छ’–कवि शर्माले भनिन् । कार्यक्रममा सुब्बाले एक दर्जन कविता वाचन गरेका थिए भने क्षेत्रीले ८ वटा कविता वाचन गरे । ‘कविताबारे शब्द, कला, शैली हुनुपर्छ कि विचार भन्ने युवाहरु छौं, हामी त्यो बीचबाट कविता लेखिरहेका छौं’–कवि क्षेत्रीले मेची परिको साहित्य माहौलबारे थोरै टिप्पणी गरे । कार्यक्रम विमल गुरुङ स्मृति पुस्तकालयका संरक्षक पुर्णबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
 












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे