राती पनि खेल्न सकिने बास्केटवल कोर्ट

धरान । विगत ३ बर्षदेखि नियमित बास्केटवल कोर्ट धाउन थालेका ओमकुमार राई साँझ पर्न थालेपछि अझै खेल्ने, सिक्ने चाहना हुदाहुदै पनि बाधा पुग्थ्यो । अध्यारो हुँदा प्रशिक्षण र खेल दुवै राकिन्थ्यो । अन्य खेलाडी साथीहरुसँग उनी गफिदै घर फर्किन्थे ।
धरान १८ स्थित डिपोट आर्दश बहुमुखी क्याम्पसको त्यही बास्केटवल कोर्ट । जहाँ उनी नियमित प्रशिक्षणमा जान्छन् । अचेल अबेर रातीसम्म पनि उनी ढुक्कले बास्केटवल खेल्छन् । अध्यारो हुदा पनि उनको प्रशिक्षण होस् वा खेल, निरन्तर चल्छ । उनी भन्छन्,–‘पहिला त खेल्दा खेल्दै साँझ पथ्र्यो र खेल रोकिन्थ्यो । अहिले त रात परे पनि ट्रेनिङ र खेल हुदैछ भने पनि रोकिदैन ।’ अध्यारोमा पनि बास्केटवल खेल वा प्रशिक्षणले निरन्तरता पाउनुमा भर्खरै डिपोटको बास्केटवल कोर्टमा ‘लिड लाइट’ जडान भएकोले हो । राष्ट्रिय खेलकुद परिषदले करिब डेढ लाख रुपैया खर्चिएर यो कोर्टमा ६ वटा लाइटको प्रबन्ध गरिदिएको छ । जसले गर्दा ओमकुमार जस्ता बास्केटवल क्रेजी युवा खेलाडीहरु अचेल अबेर रातीसम्म कोर्टमा खेलिरहेका भेटिन्छन् ।
डिपोटको बास्केटवल कोर्ट अन्र्तराष्ट्रिय साइजमा बनेको पुर्वको एक मात्र कोर्ट हो । पुर्वाञ्चलमा हुने भनिएको सातौं राष्ट्रिय खेलकुदअन्र्तगत बास्केटवल खेल यही कोर्टमा आयोजना गर्ने राखेपले निर्णय गरिसकेको छ । त्यसैको तयारी स्वरुप परिषदले करिब दुई साताअघि ६ वटा लाइट पोलसहित व्यवस्था गरेको हो । यसले गर्दा यहाँ दिन र रातको समयमा पनि खेलाडीले अभ्यास गर्न र खेल्न सक्ने भएको छ । ‘लाइट हालेपछि डे नाइट नै अभ्यास गर्न सकिने भएको छ । जाडो समयमा त चाडै रात पर्छ, त्यतिबेला त झनै अभ्यास गर्न गाह्रो हुन्थ्यो । कैले कही त प्रतिस्पर्धा गर्दा गर्दै रात पथ्र्यो र खेलै रोक्नु पथ्र्यो’–बास्केटवलका क्षेत्रीय प्रशिक्षक तथा जिल्ला बास्केटवल संघका सहसचिव विकास राईले भने–‘अब समस्या छैन, बिहान बेलुकी अभ्यास हुन्छ । रात पर्छ कि भन्ने चिन्ता पनि छैन ।’
प्रशिक्षक राईका अनुसार कोर्टमा स्पोर्टस् लाइट नै लगाउने योजना भए पनि नेपालमा नपाइने र महंगो पनि भएकोले लिड लाइट नै जडान गरिएको हो । स्पोर्टस् लाइटलाई धेरै विजुली चाहिने भएकोले पनि समस्या आउने भएपछि योजना फेरिएको हो । लिड लाइटले रातीको समयमा राष्ट्रियस्तरकै प्रतियोगिता सम्भव नभए पनि स्थानीयस्तरको प्रतियोगिता र अभ्यास गर्न सकिने प्रशिक्षक राईको भनाई छ । डिपोटको बास्केटवल कोर्ट पुर्वाञ्चलको एक मात्र अन्र्तराष्ट्रियस्तरको कोर्ट हो । यो कोर्ट क्याम्पसको सञ्चालक समिति र वेल्फेर अफिसको १३ लाख बढी लगानीमा भएको हो । त्यसमध्ये पनि वेल्फेयर अफिसको डेढ लाख रुपैया मात्र लगानी छ । लम्बाई २८ मिटर र १५ मिटर चौढाई रहेको कोर्टमा फाइवरको बोर्ड राखिएको छ । करिब ३ सय दर्शक क्षमताको प्याराफिट पनि निर्माण गरिएको छ ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे