ग्रेडिङ नहदा अदुवाले भाउ पाएन

धरान । ग्रेडिङ गर्ने व्यवस्था नहुदा पुर्वी नेपालका किसान तथा व्यापारीहरुले अदुवाबाट उचित लाभ लिन सकेका छैनन् । किसानले माटोसरी अदुवा व्यापारीलाई बिक्री गर्छन् । त्यसलाई व्यापारीहरुले जुटको बोरामा सामान्य रि–प्याकिङ गरेर भारतीय बजारसम्म पु¥याउछन् ।
व्यापारीहरुका अनुसार नेपालमै अदुवा धुलाई गर्ने र ग्रेडिङ गरेर प्याकिङ गर्ने व्यवस्था भए व्यापारीलाई मात्र होइन, किसानहरुलाई पनि धेरै फाइदा हुन्छ । तर, नेपालमा अदुवा धुलाई गर्ने र साइजअनुसार केलाएर प्याकिङ गर्ने सुविधा छैन । ‘अदुवा धुलाई गर्ने र साइज अनुसार केलाउन, छुट्याउन पाए मुल्य पाइन्थ्यो । यसले किसानहरुलाई पनि फाइदा हुन्थ्यो’–अदुवा निर्यातकर्ता व्यापारी दिपक शाह भन्छन्–‘अहिले हामी भारतमा लगेर नै धुन्छौं ।’ धुलाई वापत व्यापारीहरुले भारतमा अतिरिक्त खर्च व्यहोर्छन् ।
कोशी अञ्चलको पहाडी जिल्लाबाट किसानहरुले धरान १३ स्थित कृर्षि उपज बजारस्थलमा अदुवा बिक्री गर्न ल्याउछन् । किसानहरुले ल्याएको अदुवा हिलो–माटोसरी हुन्छ । किसानहरुले बिग्रने डरले हतारमा नै अदुवा बिक्री गर्छन् । केही व्यापारीहरुले भारतमा बढी मुल्य पाउने आशामा माटो झार्छन् र पंखा प्रयोग गरेर अदुवाको हिलो(माटो) सुकाउछन् । त्यसो गर्दा अरुको भन्दा राम्रो अदुवा ल्याएको भन्दै भारतीय व्यापारीहरुसँग बार्गेनिङ गर्न सकिने उनीहरुको भनाई छ । पुर्वी नेपालमा उत्पादन हुने अदुवा ९० प्रतिशत भारतमा निर्यात हुन्छ । नेपालमा रातो माटोमा उत्पादन भएको अदुवा राम्रो मानिन्छ । जसलाई पाना अदुवा भनिन्छ । पाना अदुवालाई धुलाई र ग्रेडिङ गर्न सके राम्रो मुल्य पाइने व्यापारीहरु बताउछन् ।
कृर्षि उपज बजारस्थलका व्यावस्थापक लक्ष्मण भट्टराई ग्रेडिङ गर्ने व्यवस्था भए किसानले यही बार्गेनिङ गर्न सक्ने अवस्था बन्नसक्छ । भाउ नपाउदा एक सातासम्म अदुवा होल्ड गरेर किसानले राख्न पनि सक्थे । ‘ग्रेडिङ यही हुदा किसानले भाउ कस्न सक्थे, नत्र एक सातासम्म राखेर भाउमा बार्गेनिङ पनि हुन्थ्यो’–भटराईले भने–‘अहिले त हिलोसरी अदुवा ल्याएका हुन्छन्, अनि बिग्रन्छ कि भनेर हतारमा कम दाममै बेचिहाल्छन् ।’ व्यापारीले काकडभिट्टा नाकाबाट भारतीय सहर नक्सालवाडी पु¥याएर यहाँको अदुवा धुने गरेका छन् । भारतमा अदुवा धुएर सुकाए पछि ग्रेडिङ गरेर रि–प्याकिङ भई तेस्रो मुलुकतिर पनि पठाउने गरेको भटराईको भनाई छ । बजारस्थलमा धुलाई र ग्रेडिङको लागि पर्याप्त पानी र ठाउँको अभाव भएको उनले बताए । पूर्वमा इलाम र धनकुटा जिल्लामा अत्यधिकरुपमा अदुवा उत्पादन हुने गर्छ । यस्तै, सुनसरीको बिष्णुपादुका गाविस, मोरङको उत्तरी गाविस,तेह्रथुम,भोजपुर,सखुवासभा,उदयपुर र खोटाङ्गबाट उत्पादन हुने अदुवा धरानको कृर्षि उपज बजारमा आउने गरेको छ ।

..........................................................................................      

                       मुल्य भारतीय बजारमा निर्भर

ठुलो परिमाणमा उत्पादन हुने अदुवाको मुल्य भारतीय बजारको मागमा निर्भर हुदा नेपालका किसान र व्यापारीहरु मारमा पर्छन् । भारतीय बजारमा अदुवाको माग बढी हुदा मात्र यहाँका किसानहरुले राम्रो भाउ पाउछन् । माग नहुदा भने किसानको अदुवा कुहिएर खेर जाने गरेको व्यापारीहरुको भनाई छ । राज्यले तेस्रो मुलुक निर्यात गर्ने वातावरण तयार नगरे वा स्वदेशमा अदुवा प्रशोधनजन्य उद्योग स्थापना नगरेसम्म किसान र व्यापारीको लगानी जहिल्यै जोखिममा पर्ने किसान तथा व्यापारीहरुको भनाई छ । ‘भारत गएन भने अदुवा ५ रुपैया किलोमा पनि बिक्दैन, भारतमा माग नहुदा लगानी डुब्ने डरले व्यापारीहरुले पनि किसानबाट किन्दैनन्’–व्यापारी सन्तोष सिंहले भने–‘अदुवा किसानलाई बचाउन राज्यले केही गर्नुपर्छ ।’
पूर्वी नेपालमा उत्पादन हुने अदुवा ९० प्रतिशतजति भारततर्फ निकासी हुने गरेको छ । सरकारले निर्यातजन्य कृर्षि उत्पादनमा राखेको अदुवाको स्थानीय बजार १० प्रतिशत मात्रै छ । नेपालमा अदुवाको बजार थोरै मात्र भएकोले किसानहरु जहिल्यै जोखिममा हुन्छन् । ‘भारतमा अदुवा धेरै उत्पादन हुदा नेपालबाट जादैन, किसानको अदुवा त्यतिकै सडेर खेर जान्छ’–कृर्षि उपज बजारस्थलका व्यावस्थापक भटराईले भने–‘भारतीय बजारको निर्भरतालाई तोड्न नेपालले विकल्पमा तेस्रो देशमा बजार खोजी गर्नुपर्छ वा अदुवालाई स्वदेशमै मसला, जाम, सेन्ट, सुठो बनाउने सम्भावनाको खोजी हुन जरुरी छ ।’ उनका अनुसार भारत मात्र बजार हुदा पनि अहिले अदुवा खेतीमा किसानहरुको आकर्षण बढ्दो छ । तेस्रो मुलुक वा प्रशोधन गरेर अन्य उत्पादनमा ध्यान दिन सके किसानहरुले धेरै लाभ पाउनसक्ने उनको धारणा छ ।
कृर्षि उपज बजारस्थलका अनुसार भारतीय बजारमा अदुवाको माग हुदा आर्थिक बर्ष ०७०/०७१ मा प्रतिकिलो एक सय ६० रुपैयासम्म किसानले मुल्य पाएका थिए । यो पछिल्लो एक दशककै उच्च मुल्या थियो । तर, भारत निकासी गर्न नपाउदा प्रतिकिलो ५ रुपैयामा पनि स्थानीय बजारमा बिक्री नभएको किसानहरुसँग तितो अनुभव छ । बजारस्थलका अनुसार ३/४ बर्षको अन्तरालमा किसानले अदुवाको भाउ नपाउने ट्रेण्ड बसेको छ । आर्थिक बर्ष ०७०/०७१ मा प्रतिकिलो १ सय ६० भएको अदुवाको मुल्या ०७१/०७२ मा एक सय ४० मा झरेको थियो । सोही आर्थिक बर्षको जेठ असार महिनामा प्रतिकिलो एक सय १० रुपैयामा बिक्री भएको अदुवा यो बर्ष भने प्रतिकिलो ५०/६० मा बिक्री भएको थियो । बजारस्थलका अनुसार आर्थिक बर्ष ०७१/०७२ मा ६ हजार ८ सय २१ मेट्रिक टन अर्थात ७५ करोड ३ लाख बराबर अदुवा भारततर्फ निकासी भएको थियो ।
..................................................

                     जिल्लैपिच्छे निकासी कर

नेपाल सरकारले कृर्षिजन्य वस्तुमा उत्पादन भएको जिल्लामा मात्रै निकासी कर लिने कानुनी व्यवस्था गरेको छ । तर, यो कागजमा मात्रै सिमित छ । अन्य कृर्षिजन्य वस्तुमा जस्तै अदुवामा पनि किसान तथा व्यापारीहरुले जिल्लापिच्छे निकासी कर तिर्न बाध्य छन् ।
किसानहरुले धरानस्थित कृर्षि उपजमा अदुवा बिक्री गर्न ल्याउदा धनकुटा र सुनसरीको सिमाना भेडेटारमा निकासी कर तिरेका हुन्छन् । त्यही अदुवा व्यापारीहरुले खरीद गरेर भारततर्फ निर्यात गर्दा फेरि प्रत्येक जिल्लाको नाकामा निकासी कर तिर्न बाध्य बनाइन्छ । ‘जिल्लैपिच्छे निकासी कर तिर्नुपर्छ । सुनसरी, मोरङ र झापाको बोर्डरमा तिछौैं’–व्यापारी दिपक शाहले भने–‘यहाँ पुर्जी काटेपछि अरुतिर नकाट्नु पर्ने हो ।’ व्यापारीहरु प्रतिवाद गरेर विवादमा फस्नुभन्दा चुपचाप कर तिरेर जाने गरेका छन् ।
बजारस्थलका व्यावस्थापक लक्ष्मण भट्टराई जिल्लो पिच्चे निकासी कर लिइरहेको सम्बन्धित निकाय र सरकारलाई थाह भएर पनि आँखा चिम्लिएको बताउछन् । कृर्षिलाई महत्व दिने भनेपनि समस्याहरुप्रति भने राज्य गम्भीर नभएको उनले बताए । ‘यो सबै जिविसले ठेक्का लगाउदाको परिणाम हो, ठेक्का लिएपछि ठेकेदारले जसरी पनि कमाउनुपर्छ भनेर जर्बजस्ती कर उठाइरहेको हुन्छ । व्यापारीले दिनहुँ ओहोर दोहोर गर्नुपर्ने भएकोले विवादमा पर्नुभन्दा चुपचाप तिरेर जान्छन्’–भटराईको भनाई छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे