बीपीमा ओपन हर्ट सर्जरी सेवा शुरु

धरान । मुटु रोगको उपचार गराउन राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपन हर्ट सर्जरी शुरु भएको छ । एक महिनाको अवधिमा यहाँ एघार जना मुटू रोगीको सफल शल्यक्रिया भइसकेको छ ।
मुटुको सम्पुर्ण रोगको उपचार एवं शल्यक्रिया सेवा यही उपलब्ध हुने प्रतिष्ठानको दाबी छ । अब मुटु रोगको उपचार गराउन विरामीहरु राजधानी एवं विदेश जानुपर्ने बाध्यता पनि हटेको छ । ‘एक महिना अघि यही ओपन हर्ट सर्जरी शुरु भएको छ, अहिलेसम्म विभिन्न खालका ११ जना मुटु रोगीको सफल सल्यक्रिया पनि भइसक्यो’–प्रतिष्ठानका अस्पताल निर्देशक डा.अरविन्द कुमार सिन्हाले भने–‘अब मुटु रोगीले उपचार गराउन काठमाण्डौं गइरहनै पर्दैन, सबै उपचार यही हुन्छ ।’ प्रतिष्ठानमा यसअघि नै क्याथल्याब सेवा सञ्चालनमा भएपनि दक्ष जनशक्तिको अभावमा ओपन हर्ट सर्जरी भने हुन सकेको थिएन । नेपालका अधिकांश मुटुरोगीहरु काठमाण्डौंस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार गराउन जान्छन् । जसले गर्दा त्यहाँसम्म पुग्न कठिन यात्रा र खर्च पनि बढी हुनेगर्छ ।
प्रतिष्ठानका अनुसार भारतको प्रसिद्ध मेडिकल कलेज एम्सबाट एम.सि.एच. गरेका कार्डियोथोरासिक सर्जन डा.लोकेश जैसवाल आएपछि प्रतिष्ठानले बिशेषज्ञ उपचार सेवाअन्र्तगत ओपन हर्ट सर्जरी शुरु गरेको हो । सर्जन जैसवाल कार्डियोथोरासिकमा डिग्री(एमसिएच) गर्ने पहिलो नेपाली चिकित्सक हुन् । उनी जनकपुर निवासी हुन् । एमबिबिएस एम्सबाटै उर्तिण गरेका जैसवालले एम.एस. पिजिआई चण्डीगढमा अध्ययन गरेका थिए । उनी करिब १० महिनाअघि नै प्रतिष्ठानमा आएका थिए । त्यसयता, नर्सिङ स्टाफ, एनेस्थेसियालगायतको टिम तयार गर्न तालिम र आवश्यक सामग्री, मेशिन तयारीमा प्रतिष्ठान जुटेको थियो ।
अस्पताल निर्देशक सिन्हाका अनुसार प्रशासनका अनुसार हालसम्म जन्मजात मुटु रोगको ३ वटा (एएसडि २ र पिडिए १) शल्यक्रिया भइसकेको छ । यस्तै, सिउडोएन्युरिज्म रिपेयर ५ वटा, एनुर्जम सर्जरी एउटा र पेरिकार्डियोटोमी दुइ वटा सफल भइसकेको छ । चिकित्सक जैसवालका अनुसार सफल शल्यक्रिया भएका मुटुरोगीहरु धरान, झापा, सिन्धुली र उदयपुरका हुन् । अधिकांश उपचार पछि डिस्चार्ज भइसकेका छन् । बिशेषज्ञ सेवाअन्र्तगत जन्मजात मुटु रोग(एएसडी, भिएसडी, पिडिए, टिओएफ) को शल्यक्रिया प्रतिष्ठानमै हुन्छ । यस्तै, भल्व प्रत्यारोपण(एमभिआर, एभिआर, डिभिआर) सेवा पनि यही उपलब्ध हुनेछ । सिएबिजि सर्जरी, एन्युरिजम सर्जरीलगायत सबै सेवा भएकोले अब पुर्वाञ्चलबासीले मुटुको उपचार गराउन अन्यत्र गइरहनु नपर्ने उपकुलपति प्रा.डा.बलभद्र प्रसाद दासले बताए । सेवालाई अझ प्रभावकारी बनाउन नयाँ क्याथल्याब स्थापना गर्ने प्रक्रिया शुरु भइसकेको उपकुलपति दासको भनाई छ ।
‘हामी नेपालको स्वास्थ्य क्षेत्रमा धेरै अघि बढीसकेका छौं । कति बिशेषज्ञ सेवा शुरु भइसकेको छ, कति प्रक्रियाको चरणमा छ’–उपकुलपति दासले भने–‘युरोजोली सेवा छदैछ, यसलाई अरु उपकरण थपेर विस्तार गर्दैछौं । ग्याष्ट्रोइन्ट्रोलाजी सेवा पनि छ ।’ नेपाल सरकारले प्रतिष्ठानमा ४ सय शैइयाको मातृशिशु स्याहार केन्द्र(एम.सि.एच. सेन्टर) बनाउन बजेट विनियोजन गरिसकेको छ । केन्द्र निर्माणको लागि टेण्डर पनि भइसकेको छ । यस्तै, हालै बजेटमार्फत सरकारले आर्थिक बर्ष ०७३÷०७४ मा २ सय शैइयाको क्यान्सर सेन्टर(अस्पताल) बनाउने घोषणा गरिसकेको छ । मृगौला रोगलाई डाइलाइसिस सेवा दिइरहेको प्रतिष्ठानमा मृगौला प्रत्यारोपण र प्लाष्टिक सर्जरी सेवाको लागि प्रयास भइरहेको उपकुलपति दासको भनाई छ । यहाँ उपत्यका बाहिर पहिलो पटक रगतको ४ कम्पोनेन्ट निकाल्ने अत्याधुनिक ब्लडबैंक पनि सञ्चालनमा आइसकेको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे