ओझेलमा धरानको नाइन प्वाइन्ट

धरान । गत बर्ष यहाँको विभिन्न ९ वटा पर्यटकीय गन्तव्यहरु(नाइन प्वाइन्ट) छनौट गरिएपछि सरोकारवाला एवं पर्यटनकर्मीहरु धरानको पर्यटनले गति लिने भन्दै निक्कै उत्साहित भएका थिए । नाइन प्वाइन्ट छनौटको एक बर्ष बितेपनि पर्यटनले भने अपेक्षित गति लिन सकेन ।
नौ पर्यटकीय गन्तव्य छनौट हुदा केही समय चर्चा भए पनि विस्तारै सेलायो । ती गन्तव्यहरुलाई प्याकेजकोरुपमा यहाँका व्यावसायीहरुले पर्यटकलाई आकर्षित गर्न सकेका छैनन् । सुनसरी पर्यटन प्रर्वद्धन समितिको पहलमा गत बर्ष साउनमा धरानको नाइन प्वाइन्ट छनौट गरिएको थियो । धरान आएका पर्यटकहरुलाई एकीकृत प्याकेजकोरुपमा बिक्री गर्ने उद्देश्यले गन्तव्य(प्वाइन्ट) निर्धारण गरिएको थियो । समितिका सचिव एवं सेक्ष ट्राभलिङ सम्बद्ध पर्यटन व्यावसायी वासुदेव वराल ती गन्तव्यहरुलाई प्याकेज बनाएर बिक्री गर्ने निकाय(व्यावसायी)हरुको अभावले ओझेलमा परेको बताउछन् । भुकम्प र नाकाबन्दीको असरले पनि नौ गन्तव्यसँगै पर्यटन थला परेको उनको भनाई छ । ‘खासमा भुकम्प र नाकाबन्दीले जुन सिथिलता आयो, त्यसबाट हामी उठ्नै सकेनौं । समय नै यस्तो प¥यो कि कसलाई मार्केटिङ गर्ने ?’–वरालले भने–‘प्याकेज बनाएर बेच्न सक्ने मान्छे पनि भइदिएन, हामीले निरन्तरता दिन सकेनौं ।’
समितिले सरोकारवालाहरुबीच एक गोष्ठी आयोजना गरी धरानको ९ पर्यटकीय गन्तव्य निर्धारण(छनौट) गरेको थियो । स्थानीयस्तरमा पर्यटनबारे चासो बढ्दै गएको बेला गन्तव्य छनौट फलदायी हुने सबैको अपेक्षा थियो । गोष्ठीमा ४६ वटा गन्तव्यहरु प्रस्तुत भएको थियो । ती मध्ये ऐतिहासिक विजयपुरगढीमा अवस्थित बुढासुब्बा, पिण्डेश्वर र दन्तकाली मन्दिर प्राथमिकतामा परेको थियो । यस्तै, तीनकुने जंगलमा अवस्थित शनि मन्दिर, धरान ५ स्थित गीता भवन(मन्दिर), भानुचौकस्थित घण्टाघर, धरान १६ स्थित इस्कोन मन्दिर, धरान १८ स्थित विपि प्रतिष्ठान र गल्फ मैदान पनि नौ गन्तव्यमा समेटिएको थियो । समितिले पुर्वीउत्तर भारतमा बोर्ड सिटि प्रोमोशन र वंगाल ट्राभल मार्टमा गएर नौ गन्तव्यसँगै पुर्वका पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धन गरेको थियो । त्यसबाहेक अन्य पर्यटन व्यावसायीहरुले पर्यटकहरुलाई नाइन प्वाइन्टमा आकर्षित गर्न कुनै योजना ल्याउन सकेका छैनन् ।
‘पर्यटनलाई गति दिनकै लागि नौ गन्तव्य छनौट गरिएको हो, तर यसलाई प्याकेज बनाएर सरोकारवाला व्यावसायीहरुले बेच्न सकेका छैनन् । जसले गर्नुपर्ने हो, उहाँहरुले प्याकेज बनाउने र पर्यटकलाई आकर्षित गर्नेतर्फ ध्यानै दिएको छैन’–समितिका अध्यक्ष एवं सुनसरी उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठले भने । उनका अनुसार यहाँ व्यावसायीहरुले पर्यटनलाई मुख्य पेशा बनाउन नसक्नु नै समस्या हो । निजी क्षेत्रले पर्यटनमा लगानी गरेर नेतृत्व नलिएसम्म सरकारी लगानीको आशाले मात्रै पर्यटनको विकास नहुने उनको भनाई छ ।
त्यसो त गत बर्ष नै नौ गन्तव्य(नाइन पोइन्ट) बारे धरानका होटल व्यावसायी, टेम्पो, मारुती र टेक्सी व्यावसायी तथा चालकहरुलाई जानकारी दिएर प्याकेज बिक्रीको पहल गर्ने समितिको योजना थियो । यसले उनीहरुमा पर्यटकमैत्री व्यावहार विकास हुने अपेक्षा पनि गरिएको थियो । तर, यो काम पनि हुन सकेन । ‘होटल व्यावसायीले बस्न आएका पाहुनालाई ९ पोइन्ट छ, घुम्नुस् भनिदिन्छन् । टेम्पो, टेक्सी र मारुती चालकले पनि धरानको नाइन पोइन्ट छ घुम्नुस् भनेर बुझाइदिन्छन् भनेर उनीहरुसँग छलफल गर्ने योजना थियो । तर गर्न सकेनौं’–पर्यटनकर्मी वरालले भने–‘यो बर्ष सिजन शुरु हुनुअघि नै यो काम गछौं ।’ नेपालमा असोजदेखि पर्यटनको सिजन शुरु हुन्छ ।
छनौट भएका ९ गन्तव्य मध्ये बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली धार्मिक पर्यटकीय हिसाबले धरानको मुख्य गन्तव्यमा पर्छ । शनि मन्दिर र इस्कोन पनि पछिल्लो समय चर्चामा छ । यस्तै, चिकित्सा विज्ञान(शिक्षा) र स्वास्थ्य उपचारको केन्द्रकोरुपमा बीपी प्रतिष्ठानको ख्याती छ भने प्रतिष्ठान अन्र्तगतको गल्फ मैदान खेल र प्राकृतिक सौन्दर्यले पर्यटकहरुलाई लोभ्याउछ । धरानको भानुचोकमै उभिएको घण्टाघर पर्यटकहरु प्रवेश नगरी फर्कदैनन् । छनौट भएका यी नौ गन्तव्यहरु पुर्वाधार, सहज पहुच र सुरक्षाको दृष्टिले पनि पर्यटकमैत्री छन् ।

                           उवा संघको नेतृत्व


धरानमा २०३० सालदेखि नै पर्यटनको चर्चा हुन थालेको हो । तत्कालीन नगर पञ्चायतले त्यतिबेलै धरानको पर्यटनलाई व्यवस्थित गर्न गाइड प्रकाशन गरेको थियो । तर, धरानले अहिलेसम्म पर्यटनमा फड्को मार्न सकेको छैन । उपमहानगरपालिकाले पर्यटकीय शहर बनाउने लक्ष्य लिएपनि उसँग ठोस योजना छैन । बार्षिक बजेट पनि न्युन विनियोजन गर्छ । अब भने पर्यटन विकास र प्रर्वद्धनको नेतृत्व उद्योग वाणिज्य संघले लिनुपर्ने आवाज उठिरहेको छ । यसमा संघ पनि सकरात्मक छ । ‘धरानमा पर्यटनको प्रचुर सम्भावना छ, यसमा संघ पनि सकरात्मक छ । संघको बार्षिक कार्यतालिका बनाउदैछौं, पर्यटनलाई पनि समेटछौं । आवश्यक परे नेतृत्वदायी भुमिका पनि लिनुपर्छ भन्ने मेरो मान्यता छ’–महासचिव शिवराज श्रेष्ठले भने । पर्यटन प्रर्वद्धनमा थोरै भएपनि बजेट विनियोजन गरिने उनले बताए । पर्यटनकर्मी वराल उवा संघले पर्यटनको नेतृत्व गरे धेरै उपलब्धी हुने बताउछन् । ‘उवा संघले नेतृत्व लिन्छ भने यो ज्यादै खुशीको कुरा हो । संघको नेतृत्वमा पर्यटन अघि बढ्छ । आवश्य नै गति लिन्छ’–उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे