पिण्डेश्वरमा बोलबम(फोटोफिचर)

धरान । हिन्दु आराध्य देव शिवको प्रिय महिना मानिने साउनमा धरान १४ स्थित पिण्डेश्व बाबाधाम(मन्दिर)मा बोलबम मेला शुरु भएको छ । मनोकांक्षा पुरा हुने विश्वासका साथ हरेक बर्ष साउनको सोमबार पिण्डेश्वरमा जल चढाउन भक्तजनहरुको घुइचो लाग्छ ।
गेरु(पहेलो) वस्त्र पहिरिएका भक्तजनहरु चतरास्थित कोशीको पवित्र जल बोकेर मन्दिरसम्म पैदल आउने र जल चढाउने गर्छन् । यसैलाई बोलबम भनिने गरिएको छ । साउनको सोमबार अरु दिनमा झै भक्तजनहरुले सजिलै जल चढाउन वा पिण्डेश्वर महादेवको दर्शन गर्न भने पाउदैनन् । आइतबार रातीदेखि नै भक्तजनहरु लामवद्ध भइसकेका हुन्छन् । ‘बिहान ४ बजे मात्र ढोका खोल्ने भनेका थियौं, तर एकदमै भिड भएपछि साढे ३ बजे नै खोल्यौं’–बाबाधाम समितिका सचिव जयन्त गौतमले भने ।
शिवका गेरुवस्त्रधारी भक्तहरु आइतबार नै चतरा जान्छन् र कोशी नदीको पवित्र जल बोकेर ल्याउछन् । पहिला चतराबाट धरानसम्म भक्तजनहरु हिडेर आउथे भने अचेल सवारीसाधानमा पनि आउने गर्छन् । पहिलो सोमबार कोशी गएर जल ल्याउने भन्दा स्थानीय भक्तजनहरुको घुइचो थियो । ‘संख्या यकिन गर्न सकिदैन, चतराबाट आउनेभन्दा स्थानीय भक्तजनहरु अत्यधिक छन्’–सचिव गौतमले भने । साउन महिना हिन्दु आराध्य देव शिवको प्रिय महिना मानिन्छ । मनोकांक्षा पुरा हुने विश्वासका साथ भक्तजनहरुले साउनमा शिवालयमा जल चढाउने गर्छन् । सौभाग्यको प्रतिककोरुपमा साउनमा महिलाहरुले हरियो चुरा, पोते, वस्त्र पहिरिने चलन छ । बोलबम भक्तजनहरुलाई लक्षित गरेर समितिले नेपाल प्रहरी तथा विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर सुरक्षा, पिउने पानी, निःशुल्क खाना तथा स्वास्थ्य जाँचलगायत सेवा सुविधा उपलब्ध गराएको अध्यक्ष गौरीशंकर अग्रवालले जानकारी दिए ।

            पिण्डेश्वरको महत्व

 साउन महिनाको सोमबार देशैभरका शिवालयमा जल चढाउने चलन छ । तर, धरानको पिण्डेश्वरमा जल चढाउनुको बिशेष महत्व छ । समुन्द्र मन्थनको क्रममा निस्किएको अमृतको तर र छोक्रालाई पिण्डको आकारमा शिवलिङ्ग स्थापना गरी देवताहरुले कौशिकी( पवित्र )नदीबाट जल ल्याएर चढाएको पुराणहरुमा उल्लेख छ । देवताहरुले स्थापना गरी जल चढाएको त्यही लिङग नै पिण्डेश्वर हो । यहाँ जल चढाउने प्रचलन देवताहरुले नै शुरुवात गरेकोले मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ । त्यसैगरि, त्रिपुरासुर दैत्यको बध गरेपछि रौद्र रुपधारी शिव यही ठाउँमा आइपुगेपछि रिस शान्त भएको र शिवको आँखाबाट हर्षका आँसु झरेको थियो । त्यही आँशु रुद्राक्षकोरुपमा यहाँ उत्पत्ति भएकोले यो क्षेत्रलाई रुद्राक्षरण्य क्षेत्र पनि भनिन्छ । यहाँको रुद्राक्ष पहिरिदा वा अन्य क्षेत्रमा उत्पादन भएको रुद्राक्षलाई पिण्डेश्वर महादेवमा छुवाएर पहिरिदा शुभ हुने विश्वास गरिन्छ । यहाँ नेपालका विभिन्न स्थानसँगै भारत, भुटानबाटसमेत भक्तजनहरु जल चढाउन आउछन् ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे