रजत जयन्तीमा अक्षय कोष अभियान

धरान । स्थापनाको २५ औं बर्ष पुगेको अवसरमा धरान ३ तुर्केस्थित सरस्वती बालआश्रमले अक्षय कोष स्थापनाको अभियान चलाउने भएको छ । साउन ९ गतेदेखि भदौ २९ गतेसम्म एक महिना रजत जयन्ती मनाउने तयारी गरेको आश्रमले दीगो आम्दानीको स्रोत बनाउन अक्षय कोष अभियान शुरु गर्न लागेको हो ।
रजत जयन्तीबारे शुक्रबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी आश्रमले ५० लाखको अक्षय कोष खडा गर्ने लक्ष्य लिएको जनाएको छ । यसको लागि रजत जयन्ती अवसरलाई उपलब्धीमुलक बनाउन आश्रमले पहल गरिरहेको सचिव मनिष खड्गीले जानकरी दिए । ‘सहाराबिहिन बालबालिकालाई आश्रय दिइरहेको संस्थाले रजत जयन्ती मनाउने कि नमनाउने भनेर व्यापक छलफल ग¥यौ’–सचिव खड्गीले भने–‘रजत जयन्तीलाई सहाराविहिन बालबालिकालाई समर्पित गर्दै उपलब्धीमुलक बनाउने भन्ने निष्कर्ष भयो ।’
आश्रमका अनुसार बालबालिकाको लालनपालन र संरक्षणमा थप सहयोग जुटाउने अभियान स्वरुप रजत जयन्ती मनाउने निर्णय भएको हो । संस्थाले ५० लाख बराबरको अक्षय कोष स्थापना गर्ने लक्ष्य लिइएकोले रजत जयन्ती मनाउदै गर्दा करिब २५ लाख संकलनको लक्ष्य लिएको जनाएको छ । हाल सस्थामा करिब १५ लाख जति अक्षय कोष भएको सचिव खड्गीले बताए । ‘आजिवन सदस्य एक हजार मात्र बनायांै भने पनि ११ लाख संकलन हुन्छ, घरदैलो गरेर ५ सय जनाबाट कम्तीमा ५ हजार सहयोग संकलन भयो भने लक्ष्यमा पुग्न सक्छौं’–उनले थपे–‘अहिलेसम्म बिहान बेलुकाको छाक टार्न, खान लाउनमै हामीले चिन्ता लिइरहनु परेको छ, बच्चाहरुको भविष्यबारे सोच्नै पाइएको छैन ।’
अक्षय कोष स्थापना भएमा संस्था सञ्चालनसँगै विद्यार्थीहरुलाई उच्च शिक्षा पढाउन तथा प्राविधिक ज्ञान दिलाएर बाँच्न सक्ने आधार तयार गर्न सजिलो हुने आश्रमकी अध्यक्ष अम्बिका राईले बताइन् । ‘आजिवन सदस्यबाहेकका विशिष्ट व्यक्तिहरु निम्ताएका छौ, उहाँहरुलाई अक्षयकोषको लागि सहयोगको आग्रह गछौं’–उनले भनिन् । हाल आश्रममा २० जना बालबालिकाहरु आश्रित छन् । यो आश्रम ०४८ सालमा स्वर्गीय कृष्णबहादुर शाहीले स्थापना गरेका थिए । त्यसयता यहाँबाट ६२ जना बाललबालिकाहरु संरक्षित भएर हुर्किसकेको आश्रमले जनाएको छ ।
आश्रमका अनुसार ९ गते रजत जयन्ती समारोह उद्घाटनसँगै ब्रोसर विमोचन, स्तम्भ सिलान्यास र टि सर्ट बिक्री कार्यक्रम हुनेछ भने नेपालका जलविद्युत विशेषज्ञ डा.अम्बरबहादुर नेपालीसँग बालबालिकाहरुको साक्षात्कार हुनेछ । यस्तै, विभिन्न मितिमा क्यानभाष टच विथ सरोजा खड्गी, पुर्व कार्यसमिति पुर्नमिलन, ख्यातीप्राप्त व्यक्तिसँग जम्का भेट, रक्तदान, पुर्वाञ्चलभरिका आश्रम कार्यशाला गोष्ठी, चित्रकला प्रतियोगिता, माविस्तरीय बाल यौन हिंसा सम्बन्धी तालिमलगायत कार्यक्रमहरु हुनेछ भने भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसर पारेर रजत जयन्ती समापन गरिने आश्रमले जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे