पर्यटन प्रोडक्टः बोलबम

पहिला पहिला भक्तजनहरु आइतबार चतरा जान्थे । कोशीको पवित्र जल बोकेर सोमबार बिहान मात्र पैदल हिडेर धरान आउथे । ‘बोल बाम..बोल बाम’ सबैको मुखमा झुण्डिएको हुन्थ्यो । त्यसैले चलनचल्तीको भाषामा साउनमा पिण्डेश्वरमा बोलबम मेला लाग्छ भन्थ्यौं । अहिले पनि बोलबम नै भनिन्छ । युवतीहरुको हात मेहन्दीले रंगिएको हुन्छ । हातमा हरियो चुरा । पहेलो वस्त्र लगाएर चतराबाट पानी लिएर आएका तीर्थालुहरुको एउटा लाइन । घरबाट बिहानै जल मात्र चढाउन गएका भक्तजनहरुको छुट्टै लाइन । आइतबार मध्यरातदेखि नै पिण्डेश्वरमा रौनक छाउछ । वेलपत्र र शुद्ध जल चढाउनाले मनोकांक्षा पुरा हुने जनविश्वास छ । पुराणमा पिण्डेश्वरको महिमा वर्णन गरिएकोले पनि यसको धार्मिक महत्व छ । हिन्दु धर्मावलम्बीहरुको प्रमुख गन्तव्यमध्ये पिण्डेश्वर मन्दिर पनि एक हो ।
.......................................................
पिण्डेश्वरको महिमा

देवताहरुले जल चढाउन शुरु गरेपनि आधुनिक बोलबम भने २०३९ सालदेखि पुनः प्रारम्भ भएको हो । पथिक कवि लक्ष्मीप्रसाद आचार्यले देशको माटो देशको ढुंगा किताबमा पिण्डेश्वरमा जल चढाउने परम्पराको चर्चा गरेपछि पुनः कोशीबाट जल ल्याएर पिण्डेश्वरमा चढाउने परम्परा थालनी भयो । यस्तै, त्रिपुरासुर दैत्यको बध गरेपछि रौद्र रुपधारी शिव यही ठाउँमा आइपुगेपछि रिस शान्त भएको र शिवको आँखाबाट हर्षका आँसु झरेको थियो । त्यही आँशु रुद्राक्षकोरुपमा यहाँ उत्पत्ति भएकोले यो क्षेत्रलाई रुद्राक्षरण्य क्षेत्र पनि भनिन्छ । यहाँको रुद्राक्ष पहिरिदा वा अन्यत्र उत्पादन भएको रुद्राक्षलाई पिण्डेश्वर महादेवमा छुवाएर पहिरिदा शुभ हुने विश्वास गरिन्छ ।
...........................................................
लाखौं भक्तजन, आर्थिक गतिविधि न्युन
पिण्डेश्वरमा साउन महिनामा मात्र जल चढाउन करिब ४ लाखको हाराहारीमा भक्तजनहरु आउने अनुमान गरिन्छ । पिण्डेश्वर बाबाधाम समितिका अनुसार नेपालको विभिन्न जिल्लाबाट मात्र होइन, छिमेकी मुलुक भारतको विहार, सिक्किम, दार्जिलिङतिरबाट पनि तीर्थालुहरु आउछन् । एक जनाले मात्र सय रुपैया खर्च गर्दा धरानमा साउनमा मात्र करोडौं आर्थिक कारोबार भएको हुनुपर्ने हो । धार्मिक पर्यटन र आर्थिक दृष्टिकोणले यो उत्साहजनक अवस्था हो । तर, यथार्थ भने त्यस्तो छैन ।पर्यटनकर्मीहरु बोलबममा पर्यटनको नाममा भीड बढाउने काम मात्र भइरहेको ठान्छन् । बोलबम आउने तीर्थालु भक्तजनहरुलाई धार्मिक पर्यटक मान्ने हो भने यहाँ एक रात बस्ने, अरु मठमन्दिर घुम्ने र भोलीपल्ट मात्र फर्कनु पर्छ । पर्यटनको सामान्यतःसिद्धान्तले न्युनतम एक रात बास बस्ने मात्र पर्यटक हो, भन्छ । पर्यटनको सैद्धान्तिक दृष्टिबाट बोलबमलाई हेर्दा अवस्था निराशाजनक छ । ‘पर्यटकको नाममा भीड बढाउने काम मात्रै गदैछौं, खर्च गराउने गरी धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकेकै छैनांै । खर्च नगर्ने पर्यटक होइनन्, अवलोकनकर्ता मात्र हुन्’–बाबाधाम समितिका सदस्यसमेत रहेका पर्यटनकर्मी वासुदेव बराल भन्छन्–‘पिण्डेश्वर मन्दिर आपैmमा टुरिज्म प्रोडक्ट हो, भारतीयहरु पिण्डेश्वर र दन्तकाली आउन चाहन्छन् । तर बोलबम अझै प्रोडक्ट बन्न सकेन ।’
पर्यटनकर्मीका अनुसार बोलबममा आउने तीर्थालुहरुमध्ये अधिकांश नजिकको ग्रामिण भेगका हुन्छन् । उनीहरु सोमबार बिहान पिण्डेश्वरमा जल चढाएर घर फर्कन हतारिन्छन् । अत्यधिक भिड हुदा मन्दिरको ढोका मध्यरातमै खुल्छ । उज्यालो हुदा कतिपय पानी चढाएर फर्किसक्छन् । धार्मिक पर्यटनलाई परम्परागत सोचबाट मात्र हेरिएकोले पनि लाभ लिन नसकेको वरालको ठम्याई छ । ‘बोलबममा खर्च नगर्ने मान्छेहरु मात्र आउछन् भन्ने सोचाई छ, नजिकैको ग्रामिण भेगबाट आउनेहरुमा खर्च नगरी छिट्टै फर्किएला । तर, टाढाका जिल्ला र भारतीय शहरबाट बोलबममा आउने तीर्थालुहरुलाई बास बस्ने, थप गन्तव्यमा घुम्ने र खर्च गर्ने वातावरण बनाउनुपर्छ’–उनी थप्छन्–‘त्यसको लागि बोलबमलाई प्रोडक्ट बनाएर पिण्डेश्वरमा साउनमा जल चढाउदाको महत्वबारे प्रचार गर्ने र उनीहरुलाई लक्षित गरेर व्यापार प्रर्वद्धन गर्नुपर्छ ।’ यसको नेतृत्व बाबाधाम समिति, सुनसरी उद्योग वाणिज्य संघ, होटल व्यावसायीलगायत सरोकारवाला पक्षले लिनुपर्ने उनको सुझाव छ ।
सुनसरी उवासंघका महासचिव शिवराज श्रेष्ठ भने धार्मिक पर्यटन सस्तो हुने र लाखौं भक्तजन आउनु नै उपलब्धी ठान्नु पर्ने तर्क गर्छन् । बोलबम आउने भक्तजनहरुलाई अन्य मठमन्दिर र भेडेटार पुग्नको लागि प्रोत्साहित गर्नुपर्ने उनको धारणा छ । ‘झण्डै ४ लाख मान्छे आउनु नै ठुलो कुरा हो । विभिन्न जिल्ला र भारतबाट धरानमा पिण्डेश्वर बाबाधाम छ, जानुपर्छ भन्ने सोच आउनु नै पर्यटन विकासमा सकरात्मक छ’–श्रेष्ठ भन्छन्–‘आर्थिक हिसाबले धार्मिक पर्यटन अरुभन्दा सस्तो हुन्छ, दर्शन मात्र गर्ने उद्देश्यले आएका हुन्छन् ।’
......................................................................................
‘एन्टि टुरिज्म’ व्यावहार

पर्यटनकर्मी त व्यापारी, व्यावसायीको यो कदमलाई ‘एन्टि टुरिज्म व्यावहार’ भएको ठान्छन् । विभिन्न संघसंस्थाले बाबाधाममा आउने भक्तजनहरुलाई निःशुल्क भोजनको व्यवस्था गरिदिन्छ । यसले होटल व्यावसायलाई पनि मार पर्छ । पिण्डेश्वर मन्दिर बाहिर खाली जग्गामा साउनभरि अस्थायी टहरा बनाएर बजार लाग्छ । त्यही बजारमा मात्र भक्तजनहरुको सामान्य किनमेल हुन्छ । सुनसरी उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठ धरानमा सोमबार बजार गर्ने चलन बसिसकेकोले खुलाउने प्रयास गर्दा पनि सम्भव नभएको बताउछन् । सोमबारको सट्टा शनिबार बजार बन्द गराउन प्रयास गएपनि सफल नभएको उनले बताए । ‘पुजा सकेर धार्मिक पर्यटकहरु सपिङ गर्न चाहन्छन्, तर बजार पुर्णबन्द हुदा नमज्जा लाग्छ’–उनले भने–‘तर, गत बर्षसम्म सिक्किम, दार्जिलिङतिरबाट आउनेहरु एक रात बसेकै हुन्थे, होटलहरु सबै प्याक नै थियो ।’
..........................................
विजयपुर विकास समितिको माग

बाबाधाम समितिका अध्यक्ष गौरीशंकर अग्रवाल पनि विजयपुर विकास समिति राज्यस्तरबाट गठन गरेर वृहत्तर पर्यटन विकासको सम्भावना खोजी गर्नुपर्नेमा सहमत छन् । ‘बाबाधाम समिति एक्लैले आँटेर मात्र हुन्न, सरकारले नै नेतृत्व लिनुपर्छ । विजयपुर विकास समिति गठन गरेर धार्मिक पर्यटक विकासमा जोडदिनुर्छ भन्ने मेरा मान्यता छ’–अग्रवाल भन्छन्–‘पिण्डेश्वरको सरस्वती कुण्ड(पोखरी)लाई लाइटिङ झरना दिएर राती पनि पर्यटकलाई लोभ्याउने, पर्यटकलाई बस्ने ठाउँको सुविधा दिनेलगायत थुप्रै कामहरु हुनुपर्छ ।’
Comments
Post a Comment