धरानमा एयरपोर्टः ‘जग्गा पाए तत्काल काम शुरु हुन्छ’

मन्त्री शाहीले एयरपोर्ट बनाउन पैसाको नभई प्रतिवद्धताको खाँचो रहेको जिकिर गर्दै स्थानीय निकायबाट चाडै जग्गाको व्यावस्थापन गर्न निर्देशनसमेत दिए । उनले प्राधिकरणका महानिर्देशक, मन्त्रालयका सहसचिव, इञ्जिनियरलाई साक्षी राख्दै भने–‘उहाँहरु र धराने जनतालाई साक्षी राख्दै मबाट एयरपोर्ट बनाउन कुनै कानुनी बाधा अड्चन हुने छैन भन्ने प्रतिवद्धता जनाउछँु । म सकेजति बजेट पनि राख्छुँ तर यहाँबाट जग्गा चाडै उपलब्ध होस् ।’ धरानमा २०५७ सालतिरैबाट डाँडाघोपामा नगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाअन्र्तगत यति इन्कर्पोरेट प्रालिसँग मिलेर एयरपोर्ट बनाउने प्रक्रिया थालेको थियो । नगरपालिकाको रोहबरमा यतिले स्थानीयसँग ६ महिनाभित्र एयरपोर्ट निर्माण कार्य शुरु नभए किनेकै भाउमा जग्गा फिर्ता गर्ने सर्तसहित ७ बिघा साढे ३ कट्टा साढे ५ धुर जग्गा खरीदसमेत गरेको थियो । तर, सरकारले यतिलाई एयरपोर्ट बनाउन स्वीकृति नदिएपछि नगरपालिका र नगरबासीको चर्को दबाबमा प्राधिकरण आफै धरानमा एयरपोर्ट बनाउन कस्सिएको छ । ट्विनअटर विमानको लागि डिटेल सर्वेसमेत भइसकेको छ । उक्त सर्वेको आधारमा २०६९ बैशाख १७ गते जग्गा लगायत अन्य प्रावधानहरु पुरा गर्ने गरी धरानमा विमानस्थल निर्माणको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने मन्त्रीस्तरीय निर्णय पनि भएको थियो ।
नागरिक उड्यान प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जनताको माग र आवश्यकतालाई ध्यान दिदै धरानमा एयरपोर्ट निर्माण गर्न सकरात्मक रहेको प्रष्ट्याए । ‘प्रमुख कुरा एयरपोर्ट यहाँको जनताको माग र आवश्यकता हो, विराटनगरमा एयरपोर्ट हुदैमा धरानमा बन्न नहुने होइन । एउटै शहरमा पनि २, ३ वटा एयरपोर्ट हुन्छ’–महानिर्देशक गौतमले भने–‘एयरपोर्टको लागि आवश्यक जग्गा सरकारले वा स्थानीय निकायले निःशुल्क दिनुपर्छ भन्ने नीति छ, जग्गा उपलब्ध भए भोलीदेखि नै काम शुरु हुन्छ । कालिकोटमा जस्तै ३१ बर्ष लाग्दैन, यहाँ एयरपोर्ट बन्छ ।’ पछिल्लो पटक सरकारले २ करोड बजेट विनियोजन गरेपछि मन्त्रालय र प्राधिकरणले पनि चासो दिदै धरानमा एयरपोर्ट बनाउने प्रक्रियालाई पुनःअघि बढाएको छ । विनियोजन भएको बजेटमध्ये डेढ करोडले एयरपोर्टको वातावरणीय प्रभाव मुल्यांकन(इआइए)सहित अन्य निर्माणको काम गर्न हो भने ५० लाख पुनः डिटेल सर्वे गर्नलाई हो । यसअघि ट्विनअटर विमान मात्र उडान र अवतरण गर्नसक्ने क्षमताको स्टल एयरपोर्ट निर्माण गर्न अध्ययन भएको थियो । अब भने एटिआर ४२ सम्मको विमान उडान र अवतरणको लागि एयरपोर्ट बनाउन अध्ययन शुरु हुने प्राधिकरणले जनाएको छ ।
मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार इआइएको लागि प्राधिकरणबाट पेश भएको ‘टिओआर एण्ड स्कोपिङ डकुमेन्ट’ मन्त्रालयले स्वीकृत गरी फाइल वातावरण मन्त्रालयमा पठाइएको छ । त्यहाँबाट पनि स्वीकृत भएर आएपछि काम अघि बढ्नेछ । मन्त्रालयबाट गर्नुपर्ने काममा कुनै समस्या नभएको भन्दै उनले प्राधिकरणलाई जग्गा उपलब्ध गराउन र सहजीकारण गर्न उपमहानगरपालिकाले भुमिका खेल्नुपर्ने बताए । कांग्रेस नेता एवं सांसद मिन बिश्वकर्माले धराने जनता, राजनीतिक दलले एयरपोर्ट निर्माणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै सरकार र मन्त्रालयले पनि पहिलो प्राथमिकतामा राख्न आग्रह गरे । ‘धरानमा हजार भन्दा बढी शैयाको बीपी प्रतिष्ठान छ, यहाँ पुर्वका पहाडी दुर्गम क्षेत्रबाट विरामीलाई समयमै उपचारमा ल्याउन पनि समस्या छ । जनताले प्राथमिकता दिएको छ, अब सरकारले पनि दिनुपर्छ’–सांसद बिकले भने ।

Comments
Post a Comment