बुढासुब्बाको उपाधि हत्याउन पुलिस र संकटा भिड्दै


धरान । मोफसलको प्रतिष्ठित १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको उपाधिको लागि आज(शनिबार) नेपाल पुलिस क्लब र सिएमजि क्लब संकटाबीच फाइनलमा भिडन्त हुदैछ । बुढासुब्बा गोल्डकपमा चार पटकको विजेता पुलिस सर्वाधिक उपाधि उचाल्ने दाउमा छ भने संकटा नयाँ च्याम्पियन बन्दै जारी सिजनमा उपाधि ह्याट्रिक गर्न आतुर छ ।
नेपाली फुटबलको महारथी पुलिसको खेल खस्किदै गएपछि पछिल्लो समय आलोचना खेपिरहेको छ । यो सिजनमा ५ वटा नकआउट प्रतियोगिता खेलेको पुलिस बुढासुब्बामा मात्र फाइनल पुग्न सफल भयो । उपाधिको खडेरी टार्दै पुलिस आलोचकलाई गतिलो जवाफ दिन मात्र चाहिरहेको छैन, आरा–रारा गोल्डकप पोखरामा संकटासँग व्यहोरेको हारको वदला पनि लिन चाहन्छ । पोखरामा संकटासँग भेट हुदा पुलिस २–१ गोलअन्तरले हारेको थियो ।
संकटा बुढासुब्बामा पहिलो सहभागितामै फाइनल पुग्ने फाग्यशाली टोली हो । फाइनल जित्दा संकटा बुढासुब्बाको नयाँ च्याम्पियन मात्र हुनेछैन, उसले सिजनको तेस्रो महत्वपुर्ण उपाधि पनि उचाल्नेछ । जारी सिजनमा ९ वटा प्रतियोगितामा भाग लिएको संकटाले यसअघि ४ वटामा फाइनल खेलेको छ । त्यसमध्ये नारायणगढको विकास रनिङ सिल्ड र सिमरा गोल्डकपको उपाधि जितेको छ भने खप्तड गोल्डकप(धनगढी) र राइनो गोल्डकप(नवलपरासी)मा उपविजेतामा सिमित भएको थियो । बुढासुब्बामा थ्रीस्टार र पुलिस सर्वाधिक ४ पटक उपाधि जित्ने टोली हो । पुलिस बुढासुब्बाको दोस्रो, पाँचौं, छैटौं र एघारौं सँस्करण विजेता टोली हो भने तेस्रो, सातौं, बाह्रौं र अठारौं सँस्करणको उपविजेता पनि हो ।
पुलिसले बुढासुब्बामा आयोजकको धरान पहेलो, कञ्चनजंघा फुटबल क्लब सिलगुडी र सेमीफाइनलमा राष्ट्रिय खेलाडीहरुको साथ पाएको आयोजकको निलोलाई हराउदै फाइनल यात्रा तय गरेको हो । संकटाले दुर्गापुर स्टिल कलकत्ता, एपिएफ काठमाण्डौं र सेमीफाइनलमा रुपन्देही ११ लाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । दुवैले सशक्त टोलीलाई पन्छाउदै फाइनल पुगेकोले उपाधि उचाल्न सहज भने हुनेछैन । गत कार्तिकदेखि पुलिसको प्रशिक्षक बनेका कुमार कटवाललाई पनि उपाधि जित्नै पर्ने दबाब छ । ‘इतिहास बोकेको टिम हो, तर पछिल्लो समय पुलिसको खेल खस्कियो भनेर आलोचना भइरहेको छ । त्यसले गर्दा पनि हामीले जित्नै पर्छ, नत्र राम्रो सन्देश जादैन’–प्रशिक्षक कटवालले भने–‘टिममा अनुभवी र जोसिला खेलाडी छन्, त्यसैले जित्छौं भन्ने आत्मविश्वास छ ।’
Kumar Katwal,police coach
पुलिसको सबैभन्दा भरपर्दा अनुवभी खेलाडी हुन, कप्तान जुमानु राई र भोला सिलवाल । दुवैमा प्रशिक्षक कटवालको विश्वास अडेको छ । धरानविरुद्धको सेमीफाइनल खेलमा जुमानु राईले उत्कृष्ट प्रर्दशन गर्दै पुलिसलाई जिताए । फाइनलमा पनि उनीबाट यस्तै प्रर्दशनको प्रशिक्षक कटवालले अपेक्षा गरेका छन् । फाइनलमा ४–४–२ अनुसार मैदानमा उत्रिए पनि अवस्थाअनुसार पुलिसको रणनीति बदलिनेछ । बिक्रम धिमाल, मनबहादुर परियार, अजित भण्डारी र सुरज घिमिरेले पुलिसको रक्षापंक्तिमा मात्र सिमित हुदैनन्, आवश्यकता पर्दा गोल गर्न पनि सक्षम छन् । आयोजक पहेलोविरुद्ध बिक्रमले मात्र ३० सेकेण्ड बाँकी छदा बराबरी गोल गर्दै टाइब्रेकरमार्फत टिमलाई जित दिलाएका थिए भने सेमीफाइनलमा धरान निलोविरुद्ध मनबहादुरले पहिलो गोल गरेका थिए । मिडफिल्डमा तेज तामाङ, अभिषेक रिजाल, भोला सिलवाल र बुद्ध लामा हुनेछन् ।
संकटाका प्रशिक्षक सल्यान खड्गी भने २ बर्षअघिसम्म क्लबकै खेलाडी थिए । उनले प्रशिक्षकको कमाण्ड सम्हालेयता यो सिजनमा संकटाले उत्कृष्ट लय समातेको छ । खेलाडीहरुले निर्देशन वमोजिम र अपेक्षा गरेअनुसार प्रर्दशन गरिरहेकोले उपाधि जित्नेमा उनी आशावादी छन् । पुलिसजस्तै ४–४–२ अनुसार खेलेपनि संकटाको पहिलो हाफमै गोल गर्ने लक्ष्य हुनेछ । पोखरामा भएको हारको वदला लिने पुलिसको दाउप्रति संकटा सचेत छ । ‘खेल ५०/५० हो, तर हामी पहिलो हाफमा गोल गर्न खेल्ने हो । अहिलेसम्म यो लक्ष्यमा सफल भएका पनि छौं’–खड्गीले भने–‘पुलिसको खेल गरेका छांै, र कमजारी थाह छ । हामीसँग युवा जोश र उत्साह भएका खेलाडी छन्, एकता र प्रतिवद्धता छ ।’
salyan khadgi,sankata coach
प्रशिक्षक खड्गीको भरपर्दा फरवर्ड हुन, मार्टिन र अनिल गुरुङ । अनिलले प्रतियोगितामा ३ गोल गरिसकेका छन् । मिडफिल्डमा सजिन थापा, राज पौडेल, लावल ओलेकन र सुसिल केसी खेल्नेछन् भने डिफेन्समा भुषण सुब्बा, प्याट्रिक, कुलदीप कार्की र सविन कोइराला खम्बा हुनेछन् । रवि सिलवाल घाइते भएकोले गोलकिपर विनय श्रेष्ठको कप्तानीमा संकटा मैदानमा उत्रनेछ । धरान श्रेष्ठको गृहनगर पनि हो । ‘बुढासब्बामा पहिलो चोटी खेल्न आएको हो, फाइनलमै पुग्यौं । यो सिजनमा तेस्रो उपाधि जित्ने चाहना छ, अवश्य पुरा हुन्छ’–प्रशिक्षक खड्गीले भने । विजेताले च्याम्पियन ट्रफीसँगै नगद ५ लाख पाउनेछ भने उपविजेताले नगद २ लाख ५० हजार हात पार्नेछ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे