विद्यालय पुननिर्माण गर्न शिक्षा सदनमा महोत्सव

धरान । महाभुकम्पले क्षति पुगेको मुल भवन पुननिर्माणको अभियानलाई सार्थक बनाउन धरान १५ स्थित शिक्षा सदन उच्चमाविमा हुन लागेको सप्ताहव्यापी शैक्षिक तथा धार्मिक महोत्सवको तयारी पुरा भएको छ । मुल आयोजन समारोह समितिले सोमबार पत्रकार सम्मेलन गर्दै फागुन ५ देखि १२ गतेसम्म विद्यालयमा हुने महोत्सवको तयारी पुरा भएको जानकारी दिएको हो ।
राष्ट्रशान्ति अभियानको सहयोगमा हुन लागेको महोत्सवबाट कम्तीमा २ करोड आर्थिक संकलन गर्ने लक्ष्य लिइएको छ भने पुर्ननिर्माण अभियानलाई निरन्तरता दिएर ७ करोड संकलन गर्ने दीर्घकालीन लक्ष्य राखिएको महोत्सव मुल संयोजक श्यामबहादुर कटुवालले जानकारी दिए । ‘हाम्रो तत्कालको लक्ष्य ८ कोठे भवन निर्माणको लागि आर्थिक संलकन हो, तर महोत्सव पछि पुर्ननिर्माण अभियान जारी रहन्छ । दीर्घकालीन लक्ष्य भनेको ७ करोडको हो र यो विद्यालयलाई प्रदेशकै नमुना बनाउने लक्ष्य हो’–विद्यालय व्यावस्थापन समितिका अध्यक्षसमेत रहेका कटवालले भने ।
धार्मिक महोत्सव भनिए पनि योग शिविर, आर्युवेद शिक्षा, जीवन जीउने कला, पुस्तक प्रर्दशनी, बहुसाँस्कृतिक कार्यक्रमहरु आयोजना गरिने आयोजकले प्रष्ट पारेको छ । महोत्सवमा विभिन्न धर्मका अगुवाहरु भेला हुने र साँस्कृतिक झाँकीहरु पनि प्रर्दशन गरिने विद्यालयका सह प्रअ एवं महोत्सव प्रचारप्रसार उपसमिति संयोजक अशोक पोख्रेलले जानकारी दिए । ‘यो धार्मिक कार्यक्रम होइन, विद्यालयको पुर्ननिर्माण अभियान हो । विद्यालय सबै जाति, वर्गको साझा थलो भएकोले सबै धर्मका अगुवाहरु दाताहरुको खोजीमा सहयोग र सकार्य गरिरहनु भएको छ’–उनले भने ।
कार्यक्रममा प्रत्येक बिहान योग शिविर, पुजा र पाठपरायण हुनेछ भने दिउँसो कथा, प्रवचन, झाँकी प्रर्दशनी हुनेछ । साँझमा झाँकी, कथा र भजन किर्तन पनि हुनेछ । कथावाचककोरुपमा गोविन्द शरण महाराज र मीरा दिदी हुनेछिन् । मिरा दिदीले जीवन जिउने कला पनि सिकाउने आयोजकले जनाएको छ । महोत्सव शुरु हुन अघिल्लो दिन विद्यार्थीहरुको वृहत ¥याली हुनेछ भने उद्घाटनको दिन २ हजारको शान्ति कलश यात्रा पनि आयोजना हुने पोख्रेलले जानकारी दिए ।
२०१२ सालामा स्थापना भएको सदन स्कुलको मुख्य भवन २०२७ सालमा निर्माण भएको थियो । २०४५ सालकै भुकम्पले सामान्य क्षति पुगेको उक्त भवनमा १६ वटा कक्षा कोठाहरु थिए । २०७२ सालको महाभुकम्पले जगैसमेत चर्किएपछि इञ्जिनियरहरुको सल्लाहवमोजिम कक्षा सञ्चालन गरिएको छैन । त्यहाँको विकल्पमा विद्यालयले चौरमा बाँसको टहरा बनाएर कक्षा सञ्चालन गरिरहेको छ । भुकम्प अतिप्रभावित जिल्लामा नपरेकोले सरकारबाटसमेत कक्षा कोठा निर्माणको लागि सहयोग नआएउने भएपनि विद्यालय आफैले पुर्ननिर्माणको पहल थालेको थियो । ‘विद्यार्थीहरु टहरामा पढ्नु परिहेको छ । त्यसैले क्षतिग्रस्त भवनको पुर्ननिर्माण गरेर विद्यार्थीहरुलाई व्यवस्थित र आधुनिक शिक्षा दिलाउने मुख्य उद्देश्य हो’–अध्यक्ष कटवालले भने–‘तत्काल ८ वटा मात्र कोठा बनाउने अभियान हो, तर दीर्घकालीन लक्ष्य भने प्रदेशकै नमुना शैक्षिक केन्द्र बनाउने छ ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे