अवधि नसकिदै खानेपानीको परीक्षण वितरण

धरान । निर्माण अवधि सकिन अझै ५ महिना समय बाँकी छदै धरान खानेपानी आयोजनाले रेल्वे सब सिस्टमको पानी परीक्षणकोरुपमा वितरण शुरु गरेको छ । धरान १७ स्थित रेल्वेमा आयोजित एक समारोहबीच खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले शुक्रबार धारा खोल्दै पानी परीक्षण वितरणको शुभारम्भ गरेका थिए । त्यसक्रममा मन्त्री खड्का आफैले धाराको पानीसमेत पिए ।
आयोजनाअन्र्तगत विभिन्न ५ सब सिस्टममध्ये रेल्वेअन्र्तगतका उपभोक्ताहरुलाई परीक्षणकोरुपमा पानी वितरण गरिएको हो । यो सब सिस्टममा कुम्भीआहालस्थित जंगलमा बोरिङ गरिएको पानी धरान ११ विष्णुचौकमा रहेको रिजर्ब वेयरमा जम्मा गरिएको छ । त्यहाँ ५ लाख लिटर क्षमताको टंकी छ । आयोजनाका अनुसार रेल्वे सब सिस्टमअन्र्तगत ३ हजार ५ सयको हाराहारीमा उपभोक्ताहरु छन् । ती मध्ये हाल धारा जडान भएको एक हजार २ सय घरधुरी उपभोक्ताहरुलाई शुक्रबारदेखि परीक्षणकोरुपमा पानी वितरण गरिएको आयोजना प्रमुख राजु पोख्रेलले जानकारी दिए । हाल मिटर जडान नगरिएकोले ती घरधुरीमा बिहान र बेलुकी मात्र पानी वितरण गरिनेछ । रेल्वे सब सिस्टमअन्र्तगत धरानको वडा नम्बर १७ को पुरै र ११ वडाको आधा घरधुरीलाई समेटिएको छ । ‘अरु घरमा पनि धारा जडान भइरहेको छ । एक हप्ताभित्र मिटर आइपुग्छ र जडान गछौं । त्यसपछि चौबिसै घण्टा वितरण गछौं’–प्रमुख पोख्रेलले भने । उनका अनुसार हालसम्म आयोजनाको ६७.५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
दुई बर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएर जुलाई २०१५ देखि खानेपानी आयोजनाको काम शुरु भएको थियो । आयोजना ५ जलाई २०१७ भित्र सम्पन्न भइसक्नु पर्नेछ । पाँच सब सिस्टममध्ये पञ्चकन्यामा मात्र रिजर्ब वेयर निर्माण हुन बाँकी छ । कर्मचारी विनियमावली र खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व हस्तान्तरणको काम चाडै भए तोकिएकै समयमा सम्पन्न हुने यो नेपालकै नमुना आयोजना हुने धरानका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । ‘कर्मचारी विनियमावली नबनेसम्म खानेपानी व्यवस्थापन बोर्ड र नगरपालिकाले कर्मचारी राख्न गाह्रो छ, संस्थानको सम्पत्ति र दायित्व पनि हस्तारण भइसकेको छैन । दुवै काम चाडै भइदिए तोकिएकै समयमा आयोजना सम्पन्न गरेर देखाउछौं’–उनले भने । खानेपानी व्यवस्थापन बोर्ड गठन भएपछि निर्माण सकिनु एक बर्ष अगावै संस्थानको सम्पत्ति तथा दायित्व बोर्डमा हस्तान्तरण भइसक्नुपर्ने कानुनी प्रावधान भएपनि धरानमा भने संस्थानको अहिलेसम्म हस्तान्तण हुन सकेको छैन ।
कुल एक अर्ब ४८ करोड लागत रहेको यो आयोजना लगानीको हिसाबले दोस्रो ठुलो खानेपानी आयोजना हो । अन्य आयोजना तथा ठुला विकासका कामहरु तोकिएको समयमा पुरा नभइरहदा धरान खानेपानी आयोजना भने लक्ष्यअनुसार गति लिइरहेको छ । आयोजनाको परामर्शदाता बिडिएका निर्देशक अनिल नेपालका अनुसार प्रतिमहिना ८ प्रतिशतको लक्ष्य लिएपनि जनवरीमा ११.८७ प्रतिशतले आयोजनाको काम भएको थियो । अब प्रत्येक महिना ८ प्रतिशतले मात्रै काम अघि बढे तोकिएकै समयमा यो आयोजना सम्पन्न हुने उनले बताए ।
एकिकृत सहरी विकास आयोजनाअन्तर्गत एशियाली विकास बैंक(एडिबि) र नेपाल सरकारको ऋण तथा अनुदान सहयोगमा यो आयोजना सञ्चालनमा आएको हो । कुल लागतमध्ये ३५ प्रतिशत एडिबिको ऋण हो भने २६ प्रतिशत अनुदान हो । साथै, २४ प्रतिशत नेपाल सरकारको अनुदान रहेको यो आयोजनामा धरान उपमहानगरपालिकाको पनि १५ प्रतिशत लगानी रहेको छ ।
.................

                   ऋणको ब्याजदर घटाउछौंः राज्यमन्त्री

खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले अबको ५ बर्षभित्र एक घर एक धारा पु¥याउने सरकारको लक्ष्य अनुसार मन्त्रालय अघि बढेको खुलाउदै ऋणमा चलेका खानेपानी आयोजनाहरुको ब्याज घटाउन पहल भइरहेको बताए । हाल नेपाल सरकारले ५ प्रतिशत ब्याजदरमा धरानसहितका अन्य खानेपानी आयोजनालाई ऋण उपलब्ध गराएको छ । ऋणमा सञ्चालित यी आयोजनाहरुको ब्याजदर अझै कम गर्न अर्थमन्त्रालयसँग छलफल भइसकेको मन्त्री खड्काको भनाई थियो । साथै, सिचाईलाई जस्तै खानेपानीलाई पनि विद्युत महशुलमा ५० प्रतिशत छुट दिलाउन पनि प्रस्ताव गरिसकेको उनले बताए ।
यस्ता आयोजनाहरु कुनै दातृनिकाय वा आइएनजिओको नभई नेपाल सरकारले नै ऋण र अनुदान लिएर जनतालाई छिटोछरितो सेवा सुविधा दिलाउन सञ्चालनमा आएकोले सरकारकै सम्झिन पनि मन्त्री खड्काको आग्रह थियो । ‘ऋणमा चलेको आयोजनाहरु ५ प्रतिशत ब्याज छ, तर यो ब्याजदर पनि घटाउनुपर्छ भनेर अर्थमन्त्रालयसँग छलफल भएको छ’–मन्त्री खड्काले भने–‘यो आयोजना एडिबि वा कुनै आइएनजिओले दिएको होइन, सरकारले ऋण र अनुदान लिएर दिएको हो । त्यसैले नेपाल सरकारकै हो ।’ उनले यस्ता आयोजनाहरुमा आर्थिक अनुशासन कायम राख्न निरन्तर निगरानी गर्ने पनि खुलस्त पारे । साथै, धरानको आयोजनाको कामको प्रगतिको प्रसंसा गर्दै उनले यहाँको नमुनालाई देशव्यापीरुपमा ‘कपि’ गर्न पनि निर्देशन दिने मन्त्री खड्काको भनाई थियो ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे