सेउतीमा अवैधरुपमा उत्खनन, ढुवानीको साधन पक्राउ

धरान । सडक बनाउन भन्दै मिलेमतोमा धरानको सेउती खोलाको निषेधित क्षेत्रबाट उत्खनन भएको ढुंगा गिट्टी लिलाम गरी कारबाही गर्न प्रशासनले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । जिल्ला अनुगमन टोलीले सेउतीमा अवैधरुपमा उत्खनन गरी निकासी भइरहेको फेला पारेपछि प्रमुख जिल्ला अधिकारी लोकराज पौडेलले तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् ।
निर्देशन लगत्तै प्रहरीले अवैध उत्खनन गरी ओसारपासरमा संलग्न एक ट्रक र ४ वटा ट्याक्टरसहित चालकहरुलाई पक्राउ गरेको थियो । चालकसहित पक्राउ परेको ढुवानीका साधनहरुलाई वन ऐनअनुसार कारबाही गर्न सेक्टर वन कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । खोला किनारमा अवैध उत्खना गरि राखिएको मिक्सगिट्टीलाई जिविसले प्रक्रिया पु¥याएर लिलाम गर्नेछ ।
हाल धरान–पानवारी जोड्न सेउतीमा निर्माणाधिन पुलदेखि उत्तर खोला क्षेत्रमा अवैधरुपमा उत्खनन भइरहेको थियो । जिविसले ठेक्कासमेत नलगाएको उक्त क्षेत्रमा राजनीतिक संरक्षण र मिलेमतोमा उत्खनन गरी महादेव चोकदेखि निर्माणाधिन पुलसम्मको सडक निर्माणमा ढुंगा गिट्टी प्रयोग भइरहेको छ । ‘केही परिणाममा अवैध ओसार पसार भएको देखिन्छ । त्यसलाई वरामद गरेर लिलाम गर्न भनेको छुँ’–प्रजिअ पौडेलले भने–‘कानुन वमोजिम जिविसले ठेक्का लगाएको ठाउँबाट सामग्री ल्याउने हो, विकाको नाममा यसरी सार्वजनिक सम्पत्तिको दोहन गर्न कसैलाई पनि छुट हुदैन ।’ खोला उत्खननको अनुगमन गर्न मंगलबार प्रजिअ पौडेलको नेतृत्वमा प्रहरी प्रमुख(एसपी) पोषराज निरौला, जिल्ला वन अधिकृत(डिएफओ) राजेन्द्र निरौला, निमित्त स्थानीय विकास अधिकारी जितेन्द्रलाल कर्णलगायत धरान आएका थिए । जिल्लाको खोलाबाट ढुंगा गिट्टी उत्खननको अनुगमन गर्न प्रजिअको संयोजकत्वमा प्रहरी, वन, जिविसलगायत निकायको प्रमुख सदस्य रहेको अनुगमन समिति हुने कानुनी प्रावधान छ ।
धरानको वनक्षेत्रमा पर्ने सेउती खोला जिविसले ठेक्कामार्फत निश्चित क्षेत्रमा उत्खनन गर्न अनुमतिसमेत दिएको छ । तर, पानबारी जाने सडक बनाउन भन्दै जिविसले अनुमति नदिएको(ठेक्का नलगाएको) निषेधित क्षेत्रबाटै केही दिनदेखि उत्खनन भइरहेको थियो । राजनीतिक दलको संरक्षणमा भएको उक्त अवैध उत्खननमा प्रयोग भएको स्काभेटर गत बिहिबार प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । राजनीतिक संरक्षण पाएका स्थानीय युवाहरुले अवैध उत्खनन गरी मिक्सगिट्टी सडक निर्माण गर्ने ठेकेदारलाई बिक्री गर्ने गरेका थिए । अनुगमन टोलीले खोला किनारमा स्टक गरी राखेको मिक्सगिट्टीलाई मात्र लिलामी गर्न जिविसलाई निर्देशन दिएपनि सडकमा थुपारेको सम्पुर्ण गिट्टी पनि अवैधरुपमा उत्खनन गरिएको स्रोतको भनाई छ । स्रोतका अनुसार बाटो बनाउदा फिजिएको खोलालाई साँघुरो बनाउनुपर्दा ग्याप भएको थियो । सोही ग्यापलाई पुर्न खोलाबाट मिक्सगिट्टी सोहोरेर पुर्नलाई मात्र वन समुहले पनि मौखिक सहमति दिएको थियो । ‘ग्याप पुर्नलाई मात्र खोलाको गिट्टी सोहोरेर पुर्न आँखा चिम्लिएका थियौं, तर पछि वदमाशी नै भयो’–बाँझगरा वन समुह स्रोतले भन्यो–‘पछि त स्थानीय केटाहरुले त्यहीबाट ठेकेदारलाई सप्लाइ गर्न थाले । यसले त ठेकेदारलाई नाफैनाफा भएको छ ।’
धरानको महानदेव चोकबाट पानबारी जाने २ हजार १० मिटर सडक बनाउन आशिष स्वामिनारायण आर्शिवाद जेभीले २ करोड ३९ लाखमा ठेक्का पाएको छ । उक्त कम्पनीले २०७४ माघ मसान्तसम्म सडक निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । सडकका ठेकेदार तिलबिक्रम लिम्बु भने जिविसलाई कर तिरेर ल्याएको मिक्सगिट्टी खरीद गरेको दाबी गर्छन् । ‘ट्याक्टरहरुले कर तिरेको रसिद छ । मैले त खरीद गरेको मात्र हुँ, खोला खन्नलाई मैले लगाएको पनि होइन’–उनले भने । जिल्ला वन अधिकृत राजेन्द्र निरौला अवैधरुपमा उत्खननमा प्रयोग हुँदा पक्राउ परेका साधनलाई वन ऐनअनुसार कारबाही गरिने बताए । साथै, सडकमा थुपारिएको ढुंगा, मिक्सगिट्टीबारे पनि अनुसन्धान गर्ने उनले बताए । सुनसरीका निमित्त स्थानीय विकास अधिकारी जितेन्द्र लाल कर्णले पनि सडकमा थुपारिएको सामग्रीबारे अनुगमन समितिले छानबिन गर्ने बताए । ‘जफत भएको साधन र सामग्री कानुनवमोजिम कारबाही हुन्छ’–कर्णले भने–‘थुपारिएको ढुंगा गिट्टी पनि इजाजत प्राप्त ठाउँबाट ल्याइएको हो होइन भनेर छानबिन गछौं, अनुमति नभएको ठाउँबाट ल्याएको भए अवैध ठहरिन्छ ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे