बुढासुब्बा गोल्डकपमा पुलिस च्याम्पिनय(फोटोफिचर)

धरान । सिएमजि क्लब संकटालाई सडन डेथमा हराउदै नेपाल पुलिस क्लब १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको च्याम्पियन बनेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार निर्धारित समयको खेल र टाइब्रेकरमा समेत बराबरी भएपछि सडन डेथमा पुलिसले जित हात पारेको हो ।
सिजनको पहिलो उपाधि जितेको पुलिसले बुढासुब्बामा सर्वाधिक उपाधि विजेताको रेकर्ड पनि बनायो । साथै, आहा रारा गोल्डकप पोखरामा संकटासँग भएको हारको वदला पनि पुलिसले लियो । पुलिसले यसअघि बुढासुब्बाको दोस्रो, पाँचौै, छैटौं र एघारौं सँस्करणमा उपाधि जितेको थियो । च्याम्पियन पुलिसले नगद ५ लाखसँगै ट्रफी हात पा¥यो भने उपविजेता संकटाले नगद २ लाख ५० हजारसगै उपविजेता ट्रफीमा चित्त बुझायो । निर्धारित समयको खेलमा पहिलो हाफको २७ औं मिनेटमा राज पौडेलले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पुलिसका डिफेन्स अजित भण्डारीको मिस पासमा उनले पाएको वलमा गोल गरे । दोस्रो हाफको ३४ औं मिनेटमा जुमानु राईले पेनाल्टीमा गोल गर्दै खेल बराबरी बनाए । संकटाका अनिल गुरुङले बुद्ध लामालाई डि बक्सभित्र फल गरेपछि रेफ्री नविन्द्र मर्हजनले पुलिसलाई पेनाल्टी अवसर दिएका थिए । निर्धारित समयको खेल एक एक गोलको बराबरीमा सकिएपछि सिधै टाइब्रेकर भएको थियो । टाइब्रेकरमा पुलिसका तेज तामाङ, जुमानु राई र अभिषेक रिजालले गोल गरे भने अजित भण्डारीले बाहिर प्रहार गरे भने बुद्ध लामाको प्रहार संकटाका गोलकिपर विनय श्रेष्ठले रोके ।
यस्तै, टाइब्रेकरमा संकटाका अनिल गुरुङ, सुसिल केसी र अमित तामाङले मात्र गोल गर्न सफल भए । मार्टिन अजय र राज पौडेलको प्रहारलाई पुलिसका गोलकिपर रोशन खड्काले रोकेपछि टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा पुलिस र संकटाका समान ६ खेलाडीले प्रहार गरेका थिए । पुलिसका बिक्रम धिमाल, तीर्थ राना र अरबिन चाहारको प्रहारलाई संकटाका गोलकिपर विनय श्रेष्ठले रोके भने भोला सिलवाल र गोलकिपर रोशन खड्काले गोल गरे । संकटाका भुषण सुब्बा, लवल ओलेकन र दिपेश श्रेष्ठको प्रहार पुलिसका गोलकिपर रोशन खड्का रोके भने कुलदिप कार्की र प्याट्रिक जोनले मात्र गोल गरे । निर्णायक प्रहारमा पुलिसका सुरज घिमिरेले गोल गरे भने संकटाका गोलकिपर विनय श्रेष्ठको प्रहारलाई पुलिसका गोलकिपर खड्काले रोकेपछि पुलिसले सिजनको पहिलो उपाधि चुम्यो ।
संकटाका गोलकिपर विनय श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले यामाहा मोटरसाइकल हात पारे । पुलिसका गोलकिपर रोशन खड्का उत्कृष्ट गोलकिपर र फाइनलको म्यान अफ दि म्याच घोषित हुदै क्रमशः नगद १५ हजार र ५ हजार हात पारे । यस्तै, उत्कृष्ट स्ट्राइकर घोषित हुदै पुलिसका जुमानु राईले नगद १५ हजार पाए भने उनलाई एक फ्यानले थप ६ हजार पुरस्कार दिएका थिए । प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर धरान निलोका हेमन्त गुरुङ, उत्कृष्ट डिफेन्स पुलिसका बिक्रम धिमाल र उत्कृष्ट कोच पुलिसका कुमार कटवाल घोषित भए । उनीहरुले जनही नगद १५ हजार थापे । समान ३ गोल गरेका पुलिसका जुमानु राई र संकटाका अनिल गुरुङले हाइ स्कोररको पुरस्कार नगद २५ हजार बाँडे । उदयीमान खेलाडीकोरुपमा धरान निलोका रेजिन सुब्बा घोषित हुदै नगद १० हजार थापे ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे