आयोजकलाई हराउदै पुलिस क्वार्टरफाइनलमा

धरान । घरेलु मैदानमा आयोजक धरान फुटबल क्लबको धरान पहेलो टिमलाई सडन डेथमा स्तब्ध पार्दै नेपाल पुलिस क्लब १९ औं बुढासुब्बा रेडबुल गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शुक्रबार भएको खेल एक एक गोलको बराबरीमा टुंगिएपछि सिधै टाइब्रेकर खेलाइएको थियो । टाइब्रेकर हुदै सडन डेथमा पुगेको पेनाल्टी सुटआउटमा पुलिसले धरान पहेलोलाई १०–९ गोलअन्तरले हरायो ।
पुलिसले फागुन १० गते क्वार्टरफाइनलमा सिधै वाइ पाएको युनाइटेड सिक्किम फुटबल क्लब भारतसँग खेल्नेछ । पहिलो हाफको १६ औं मिनेटमा योगेश राईले फ्रिकिकमा गोल गर्दै धरानलाई अग्रता दिलाएका थिए । जुनियर खेलाडीले भरिए पनि पुलिसलाई गोल गर्ने मौका नदिएको धरानले जितको खुशी मनाउन नपाउदै अन्तिम मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । दोस्रो हाफको खेल सकिन मात्र ३० सकेण्ड बाँकी हुदा धरान सम्हालिन सकेन र गोल खायो । पुलिसका बिक्रम धिमालले हेडमार्फत गोल गरेपछि धरान स्तब्ध बन्यो ।
टाइब्रेकरमा पुलिसका अजित भण्डारी, तेज तामाङ, बुद्ध लामा, जुमानु राई र अभिषेक रिजालले गोल गरे भने धरानका दोर्जे तामाङ, विनोद राई, रिवस मास्के, जोशन राई र योगेश राईले पनि गोल गरे । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि सडन डेथमा मनोज राई, रोमन लिम्बु, तीर्थ बस्नेत, हेम लिम्बुले गोल गरे भने विवेक राई गोल गर्न चुकेका थिए । सडन डेथमा पुलिसका निरकुमार राई, भोला सिलवाल, हेम तामाङ र मानबहादुर परियारले गोल गरे । पुलिसका बिक्रम धिमालले सडन डेथमा निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच धरानका हेम लिम्बु घोषित भए । उनले नगद ५ हजार हात पारे ।
पुलिसका प्रशिक्षक कुमार कटवालले नियमविपरीत आयोजकले ४० मिनेट मात्र खेलाएको र एक्स्ट्रा समय पनि नखेलाएकोमा असन्तुष्टी पोखे । धरानको खेलको प्रसंसा गर्दै उनले आफ्ना खेलाडीहरुले भने अपेक्षाअनुसार खेल्न नसकेको बताए । ‘धरानले राम्रो खेल्यो, प्रतिस्पर्धात्मक खेल भयो । तर पुरा समय खेलाइएन, बराबरी भएपछि एक्स्ट्रा समय पनि खेलाइएन’–उनले भने । धरानका प्रशिक्षक सुवास केसीले आफ्ना खेलाडीहरुमा अनुभव नहुदा अन्तिम समयमा स्ट्राइकरले वल होल्ड नगर्दा हार भएको बताए । ‘स्ट्राइकरले वल होल्ड गरिदिएनन्, डिफेन्स पनि चुक्यो र गोल खायौं । हारको मुख्य कारण यही भयो’–उनले भने । प्रतियोगितामा शनिबार उदयपुर गोल्डकपको विजेता रुपन्देही ११ र झापा गोल्डकपको उपविजेता काकडभिट्टा ट्रेनिङ सेन्टरबीच हुनेछ ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे