पुर्वमा प्रकृतिप्रेमीहरु(फोटोफिचर)

धरान । राजधानीमा स्वास्थ्य किसिमको आन्तरिक पर्यटन प्रर्वद्धन गर्नेहरुको एउटा समुह छ, प्रकृति प्रेमी समुह । प्रत्येक महिनाको अन्तिम साता यो समुह प्रकृतिसँग रमाउदै राजधानी र आसपासको क्षेत्रमा पदयात्रामा जाने गर्छ ।
शनिबार भने यो समुहका सदस्यहरु धरानमा थिए । उनीहरुसँगै मिमिए धराने हाइकिङको टोली । विजयपुर गढीमा अवस्थित ऐतिहासिक मन्दिर डुल्दै धरान र काठमाण्डौंको पदयात्रीहरु धरान २० स्थित अग्र्यानिक गाउँ वसन्तटार पुग्यो । जहाँ स्थानीयले पदयात्रीहरुलाई अग्र्यानिक स्वागत र अग्र्यानिक खाजाको स्वाद चखाए । दशकअघिदेखि अग्र्यानिक अभियान शुरु भएको वसन्तटारमा २०६७ सालदेखि पुर्णरुपमा विषादी र रासायनिक मल निषेध छ । पदयात्रीहरुलाई स्थानीयले अग्र्यानिक हरियो साग थमाएर स्वागत गरे भने खाजाकोरुपमा तरुल, हरियो साग एवं तरकारी खुवाए । खाजा मात्र होइन, स्थानीयले प्लेटकोरुपमा टपरी र चम्चा पनि बाँसको खोलबाट बनेको अग्र्यानिक नै प्रयोग गरेका थिए ।
स्वास्थ्य आन्तरिक पर्यटनको अभियानलाई देशव्यापी बनाउने क्रममा प्रकृति प्रेमी समुह पुर्वी धरान आइपुगेको संस्थापक अध्यक्ष डा.उमेश श्रेष्ठले बताए । ‘मानिस स्वस्थ्य रहन उचित आहार, विहार र विचार गर्नुपर्छ । त्यसको लागि अग्र्यानिक खाना वा कम मसला, कम चिल्लो, कम पिरो भएको स्वास्थ्यवद्र्धक आहार खानुपर्छ भनेर प्रर्वद्धन गर्न हाइकिङ गछौं’–डा.श्रेष्ठले भने–‘उपचार प्रकृतिले गर्ने हो, डाक्टर त प्रकृतिको नियम लागु गराउने माध्यम मात्र हो । प्रकृतिमा बाँधिएर उचित आहार, विहार र विचार गर्ने हो भने हामी सधै खुशी र आनन्द रहन्छौं ।’ प्रकृति प्रेमीहरुको यो १ सय १८ औं पदयात्रा हो । धरानदेखि धनकुटाको नाम्जे, डाँडाबजर र राजारानीसम्मको दुई दिने पदयात्रामा सहभागी हुन ३६ जनाको टोली धरान आएको थियो भने पदयात्रामा उतिकै संख्यामा धरानेहरु पनि सहभागी भए ।
‘स्वच्छ धरान, स्वस्थ्य धरान’ नारा दिएको सेवक अभियानले नेचर थेपारी नाम दिएर तीन दिने कार्यक्रम आयोजना गरेको हो । जसअन्र्तगत पहिलो दिन शुक्रबार उचित आहार, विहार र विचारबारे डा.श्रेष्ठ र कृर्षि विज्ञ मदन राईसँग अन्र्तक्रिया भएको थियो । शनिबार भने प्रकृति प्रेमी समुह र धराने हाइकिङको संयुक्त टोली २ दिने पदयात्रामा निस्किएको छ । अग्र्यानिक जीवनशैली र पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले शुरु हाइकिङ टोली शनिबार वसन्तटार, दानाबारी हुदै भडेटारको प्रसिद्ध नाम्जे होमस्टेमा रात बितायो । आइतबार नाम्जेबाट डाँडाबजार, ध्वजे डाँडा हुदै राजारानी पुगेर पदयात्रीहरु फकिएका थिए । धराने हाइकिङका कतिपय सदस्यहरु भने दानबारीबाटै फर्किएका थिए । हाइकिङको यो रुट पर्यटकीय गन्तव्यहरु हुन् भने पदमार्गको प्रचुर सम्भावना बोकेको रुट पनि हो । तीन दिने कार्यक्रमअवधिभर सहभागीहरुलाई प्रकृतिसँग नजिक बनाउने, सम्मान गर्न सिकाउने र अग्र्यानिक जीवनशैली अपनाउन प्रेरित गरिने कार्यक्रम संयोजक तथा पथप्रर्दशक गोपाल राईले बताए ।
वसन्तटारको अग्र्यानिक अभियानबाट प्रभावित कृर्षि विज्ञ मदन राईले गाउँलाई कृर्षि पर्यटनसँग जोडेर अघि बढाउनसमेत स्थानीयलाई सुझाव दिएका थिए । ‘तपाईहरु अब तरकारी उत्पादनमा मात्रै सिमित नरहनुस्, यो गाउँलाई अग्र्यानिक कृर्षि पर्यटनसँग जोड्नुस र गाउँघरमै तरकारी किन्न आउने गरी पर्यटक भित्र्याउने अभियानमा जुट्नुस’–उनले सुझाए । वसन्तटारका अग्र्यानिक अभियन्ता कृष्ण राईले वसन्तटारको करिब ३० हेक्टर जमिनमा बिषादी, रासायनिक मल र भिटामिनलाई निषेध गरेर प्राकृतिकरुपमा मात्र खेती लगाइने गरेको बताए । साथै उनले गाउँको तरकारी, दुग्धलगायत उत्पादनबाट विभिन्न परिकार बनाएर पर्यटक भित्र्याउने योजना बनाएको पनि खुलाए ।
......................................................................................................................................................

                                       एकल महिलालाई आर्थिक सहयोग

पदयात्रा गर्दै शनिबार बिहान वसन्तटार पुगेको पदयात्रीहरुले एक वृद्धा तथा एकल महिलालाई जीवीकोपार्जनको लागि आर्थिक सहयोगसमेत गरे । नागरिकता नहुदा वृद्धा भत्ताबाट समेत बञ्चित ७४ बर्षीया निरमाया लिम्बु(राई)लाई हाइकिङ टोलीले ७ हजार ५ सय रुपैया सहयोग गरेको हो । धराने हाइकिङले प्रत्येक हाइकिङमा असहाय, असक्तहरुलाई रकम संकलन गरेर सहयोग गर्ने गरेको छ ।
धराने हाइकिङका अभियन्ता गोपाल राईका अनुसार एक्लै घरमा बस्दै आएकी निरमायालाई जिविकोपार्जनको लागि सानो कुखुरा फार्म खोल्ने उद्देश्यले सहयोग गरिएको हो । वृद्धालाई अग्र्यानिक अभियन्ता कृष्ण राईले कुखुरा फार्म खोल्न मद्दत पु¥याउने गरी चाजोपाजो मिलाइएको उनले बताए । वृद्धा निरमायाका अनुसार उनको श्रीमान्को ७ बर्षअघि मृत्यु भएको थियो भने २ सन्तान पनि जोगिएनन् । लामो समय भारतको आसाम बसेर १४ बर्षअघि नेपाल फर्किए पनि नागरिकता बनाउन वास्तै नभएको उनी बताउछिन् । ‘आफ्नो कोही छैन । वृद्धा भत्ता पाउछ रे । तर नागरिकता छैन । कहाँ बनाउने, कसलाई भन्ने थाह छैन’–उनले भनिन् ।
सम्पत्ति, जग्गा जमिन पनि केही नभएकी वृद्धालाई वसन्तटारका स्थानीयले बस्नको लागि सानो घर बनाइदिएका छन् । मजदुरी र बनिबुतो गरेर छाक टारिरहेको उनी बताउछिन् । कुखुरापालन गर्न सहयोग पाएपनि त्यसको लागि ठाउँ नभएको भन्दै उनी चिन्तित छिन् । तर, गाउँका अगुवा युवा कृषक कृष्ण राईले निरमायालाई कुखुरा फर्म व्यवस्था गरिदिने प्रतिवद्धता जनाएका छन् ।














Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे