मुन्धुम साँझमा गीत र कविताको फ्युजन

धरान । अहिलेका युवा पुस्ताको ध्यान पप, रक र ¥याप गीत संगीतले तानेको छ । आधुनिकताले गाँजेको धरानमा त्यही भएर धेरै जसो हल्लीखल्ली मच्चाउने कन्सर्ट र डान्स पार्टीहरु हुन्छन् । माघ २२ गते शनिबार साँझ भने धरान १५ स्थित चुम्लुङ हिम परिसरमा फरक खालका संगीतका पारखीहरुको जमघट भयो ।
प्रथम मुन्धुम साँझ नाम दिइएको सांगीतिक कार्यक्रमका दर्शकहरु कुर्सीमा शान्तसँग बसेका थिए । गायकले गीत गाइसकेपछि उनीहरु परर ताली बजाउथे । न धेरै हुटिङ, न हो हल्ला । जस्तो गीत उस्तै दर्शक र सांगीतिक माहौल । गीतसंगीतको बीचमा कविता पनि वाचन । मुन्धुम बुटिक तथा मेख्ली हाउसले आयोजना गरेको सांगीतिक कार्यक्रमका प्रमुख आकर्षण थिए, सुगम संगीतका साधक गायक गणेश रसिक । कवि उपेन्द्र सुब्बाको कविता वाचनले पनि धरानेहरुको मन जित्यो । गायक रसिकलाई उनका केही गीतमा गायिक सुनिता लिम्बुले साथ दिएकी थिइन् । भोजपुरमा जन्मिए पनि इलामलाई कर्मथलो बनाएका गायक रसिकको धरानमा यो पहिलो पटक एकल सांगीतिक प्रस्तुती थियो । आफ्नो मावली शहरमा ७० बर्षको उमेरमा पहिलो पटक एकल प्रस्तुती दिन पाउदा उनी पनि असाध्यै खुशी र भावुक थिए ।
मेरो प्यारो नेपाल..बोलको देशभक्ति गीतबाट प्रस्तुती शुरु गरेका रसिकले एकपछि अर्को सुगम र सालिन गीतहरु पस्किएर स्रोताहरुको मन जिते । पाँच सय र हजारको टिकट कोटर आएका सुगम संगीतका पारखीहरुलाई उनले निराश बनाएनन् । करिब साढे ६ बजे शुरु भएको कार्यक्रम निरन्तर ९ बजेसम्म चल्यो । उनले थोरै सम्झे थोरै हुन्छ.., झुप्रोमा बस्छिन् ती मेरी आमा..,ओ याञ्जी नाना..,उकालीमा एक्लै हिड्दा..ओ शुन्यता.., तिम्रो सुन्दर रुपमा बस्छु म..,घरबेटी नानी आँगनीमा देउ न मलाई बास..जस्ता सदावहार गीतहरु गाए । युगल गीतमा गायक रसिकलाई सुनिता सुब्बाले साथ दिइन् ।
गायक रसिकले हरेक गीत गाउनु अघि भुमिका बाध्दै गीतको रचनागार्भ पनि सुनाएर कार्यक्रमलाई झन् रोचक बनाएका थिए । कविता शैलीको गीत र त्यसमा सुहाउदो संगीत भर्न माहिर गायक रसिकले गीतमा कविता नभए हप्ते गीत मात्र हुने धारणा पनि राखे । ‘गीतमा कविता लेख्न मन पराउछु । यसो गर्दा केही दुर्वोध पनि हुन्छ तर कविता भएन भने गप्ते गीत मात्र हुन्छ । फरक किसिमको गीत लेख्नुपर्छ भन्ने लाग्छ’–प्रस्तुतीसँगै उनले भने । गीत गाउदै उनले बाल्यकालमा मावलीमा बसेको रमाइलो स्मृति पनि सुनाउन भुलेनन् । उनको मावली घर धरानको भानुचौक पुर्व देशीलाइन हो । ‘धरान मेरो मावली ठाउँ हो । यहाँ धेरै साथीभाई छन् । बाल्यकालमा खालीखुट्टै दौडन्थ्यौं, खहरेमा पौडी खेल्थयांै । धरान मेरो प्यारो ठाउँ हो’–उनले भने ।
मुन्धुम बुटिककी सञ्चालिका मनु मिभकको एक्लो प्रयासमा कार्यक्रम आयोजना भएको हो । गीत, संगीतबाट टाढै रहेकी उनले राजधानीमा करिब २ बर्षअघि गणेश रसिकको सांगीतिक कार्यक्रममा सहभागी भएपछि सुगम गीत,संगीतप्रति आकर्षित भएकी थिइन् । त्यही कार्यक्रमबाट प्रभावित उनले धरानमा पनि रसिकलाई प्रस्तुत गराएकी हुन् ।

उपेन्द्र सुब्बाको कविता वाचन

मुन्धुम साँझमा गायक गणेश रसिक र सुनिता सुब्बाको मात्र गीत प्रस्तुत भएन, सशक्त कवि उपेन्द्र सुब्बाको पनि कविता वाचन भयो । शान्तसँग सुगम गीत,संगीत सुनेर आनन्दित भइरहेका धराने स्रोताहरुले कवि सुब्बालाई हरेक कवितामा वाह वाह भन्दै हौसाइ रहे ।
कृर्ति मोह शिर्षकको कविताबाट वाचन शुरु गरेका उनले सायद, रवितिर जादा, बाटो, ढुंगाको मन, ढुंगालगायत कविताहरु सुनाए । भेडेटारको पिकनिक शिर्षकको कविताबाट उनले आफ्नो वाचनलाई विट मारेका थिए । सृर्जनशील अराजकता साहित्यिक आन्दोलनका एक हस्ती सुब्बाको सृर्जना लाटो पहाडले सन् २०१५ मा पद्म श्री पुरस्कार पाएको थियो ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे