अप्रेशन गरिएका विरामीको मृत्युपछि विजयपुर हस्पिटलमा तोडफोड(फोटोफिचर)

धरान । पेट दुखेर उपचार गर्न आएका एक व्यक्तिको अप्रेशन पश्चात मुत्यु भएपछि धरान १० स्थित विजयपुर हस्पिटलमा तोडफोड भएको छ । ‘एपेन्डिसाइट’ भएको भन्दै शल्यक्रिया गरेका धरान १७ एन्फा मार्गका २९ बर्षीय अमित जोशीको उपचारको क्रममा मृत्यु भएपछि आफन्तजन एवं छिमेकले अस्पतालमा तोडफोड गरेका हुन् ।
विरामीको मृत्यु भएपछि परिवारजनलाई घटनाबारे ययार्थ बताउनुअघि नै अस्पताल प्रशासनले प्रहरी बोलाएपछि आफन्तजन झनै आक्रोशित भए । उज्यालो नहुदै मंगलबार बिहान करिब ३ बजेतिर अस्पताल परिसरमा भेला भएका आफन्त, छरछिमेकले ढुंगामुढा गरेका थिए । ढुंगा प्रहारबाट अस्पतालको आकस्मिक कक्ष, प्रशासनिक भवन, विल काउण्टरलगायतको सिसाहरु फुटेका छन् । आक्रोशित स्थानीयबासीले अस्पताल अघिको पुतलीलाइन सडकखण्ड मंगलबार बिहानैदेखि मध्याह्न यातायात आवागमनसमेत ठप्प पारेका थिए । तोडफोड हुन थालेपछि अस्पतालमा ठुलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
पेटको दुखाई बढेपछि मृतक जोशी सोमबार बिहानै करिब एक बजेतिर आफै मोटरसाइकल हाकेर विजयपुर हस्पिटलमा आएका थिए । चिकित्सकले उनलाई एपेन्डिसाइट भएको भन्दै सोमबार दिनभर वार्ड भर्ना गरेर राखेको थियो । राती करिब ७ बजेतिर सर्जन डा.रोशन खतिवडाको टिमले अप्रेशन गरेको थियो । करिब अढाई घण्टापछि डाक्टरले अप्रेशन सफल भयो भनेर परिवारजनलाई सुखद खबर सुनाएका थिए । ‘केही बेर पछि एक्कासी विरामी त काम्न थाल्यो । हामीले के भयो भनेर सोध्दा औषधीको कारणले हो भन्दै सिस्टरले पानीपट्टी दिनु भन्यो, दियौं’–मृतककी भाउजु चन्द्रमाया श्रेष्ठले भनिन्–‘सास फेर्न गाह्रो भएजस्तो भयो, मुखबाट खुनसहित फिज पनि आएपछि अवस्था झन बिग्रियो ।’
अप्रेशन थिएटरमा हुल्नुअघिसम्म पनि सामान्य अवस्थामा रहेका जोशीको चिकित्सककै लापरवाहीले मृत्यु भएको मृतकका परिवारजनको आरोप छ । ‘दिनभरि वार्डमा नै राखिएको थियो, अप्रेशन अघि ज्वरो आएजस्तो पनि थियो । अरु त सब सामान्य थियो’–मृतककी साली जुनु बुढाथोकीले भनिन्–‘सामान्य मान्छे अप्रेशन भएपछि पो मृत्यु भयो । यो त उपचारमा ठुलो लापरवाही भयो ।’ विरामीलाई के भएको भनेर राम्रोसँग जानकारी नदिई अस्पतालले पहिला नै प्रहरी बोलाएकोले लापरवाहीले मृत्यु भएको अनुमान सत्य भएको पनि उनको भनाई थियो । डाक्टरसँग स्पष्ट जानकारी माग गर्दा विरामीले हाच्छिऊ गरेपछि थुक(¥याल) सर्केर श्वासनली हुदै फोक्सोमा पुगेको र सास फेर्न नसकेर मृत्यु भएको भन्ने गोलमटोल जवाफ दिएको पनि उनले बताइन् ।
अस्पताल निर्देशक प्रभात खतिवडाले भने एपेन्डिसाइटको शल्यक्रिया सफल भएको दाबी गर्दै ¥याल श्वास नलीबाट फोक्सोमा पुगेपछि सास फेर्न गाह्रो भएर विरामीको मृत्यु हुन पुगेको बताए । उपचारमा लापरवाही नभएको उनको जिकिर थियो । ‘विरामी एकदमै नर्मल थियो, यस्तो हुनुपर्ने कुनै अवस्था थिएन । तर, थुक श्वासनली हुदै फोक्सोमा गएर सास फेर्न गाह्रोभएपछि अवस्था गम्भीर भयो’–खतिवडाले भने–‘अवस्था बिग्रिएपछि तत्काल डाक्टर आएर बचाउन प्रयास पनि ग¥यौं, तर सफल भएनौं । उपचारमा वेवास्ता गरिएको होइन ।’ मृतक परिवारजनको माग वमोजिम छानबिन गर्न, परिवारको चाहनाअनुसार जही लगेर पनि शवको पोष्टमार्टम गर्न र चिकित्सकको लापरवाही भएको प्रमाणित भए तुरुन्त कारबाही गर्न अस्पताल सहमत रहेको उनले बताए । अस्पतालका सर्जन डा. खतिवडा यसअघि पनि यस्तै विवादमा फसेका थिए । ती घटनालाई अस्पताल प्रशासनले पीडित पक्षसँग भित्रभित्रै मिलाएर सामसुम बनाएको स्रोतले जानकारी दिएको ।  
.........................................................................

                                 पीडित परिवारसँग तीन बुदे सहमति 

शल्यक्रिया पश्चात मृत्यु भएका अमित जोशीका परिवारजन र विजयपुर हस्पिटल प्रशासनबीच ३ बुँदे सहमति भएको छ । जोशीको राती नै मृत्यु भएपछि अस्पताल तोडफोड गर्दै सडक अवरुद्ध गरेर मंगलबार बिहानैदेखि आफन्तजन र छरछिमेकहरु आन्दोलनमा उत्रिएका थिए । तनाव बढ्दै गएपछि मृतकको तर्फबाट एक टोली अस्पताल प्रशासनसँग वार्तामा बसेको थियो । वार्तामा छानबिन समिति गठन गरी प्रतिवेदनअनुसार दोषीलाई कारबाही गर्ने, मृतकका आफन्तजनप्रति माफी माग्ने र परिवारजनलाई क्षतिपुर्ति व्यवस्थापन गर्नेसहितको तीन बुँदे सहमति भएको मृतककोतर्फबाट वार्तामा सहजीकरण गरेका मनोज भट्टराईले बताए ।
‘पहिलो बुँदामा घटनाबारे छानबिन समिति गठन गर्ने र रिपोर्टअनुसार दोषीलाई कारबाही गर्ने भन्ने छ । दोस्रोमा अस्पटाल प्रशासनले घटनाप्रति दुःख व्यक्त गर्ने र परिवारजनप्रति माफी माग्ने, तेस्रोमा मृतकमा आश्रित परिवारजनलाई क्षतिपुर्ति व्यवस्थापन गर्ने भन्ने तीन बुँदे सहमति भयो’–उनले भने । सहमतिको बुँदामा कति क्षतिपुर्ति दिने भन्ने उल्लेख नगरिएपनि अस्पतालले १९ लाख रुपैया मृतकको परिवार र सन्तानको भविष्यको लागि उपलब्ध गराउने सहमति छ । मृतक जोशी छाताचोक नजिकै ग्लास हाउस खोलेर सिसा फ्रेमिङको व्यावसायमा गर्थे । उनको परिवारमा वृद्ध आमा, श्रीमति संगीता र साना दुई छोरी छन् ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे