सर्दु पुलको डिपिआर तयार

धरान । सर्दु खोलामा पुल नहुदा बर्षौंदेखि सास्ती भोग्नु परिरहेका साविक विष्णुपादुका गाविस(हाल धरान) का जनतालाई सुखद खबर छ । अबको दुई बर्षभित्र धरानसँगको मुख्य नाकामा पक्की पुल बन्नेछ । विष्णुपादुकालाई धरानसँग जोड्न मंगलबारे हुदै जाने सडक वडा ११ र २६ को बीचमा सर्दु खोलामाथि पक्की पुल बनाउन डिटेल प्रोजेक्ट रिपोर्ट(डिपिआर)समेत तयार भइसकेको छ ।
स्थानीय विकास मन्त्रालयको डोलिडार विभागअन्र्तगतको स्थानीय सडक पुल कार्यक्रम(एल.आर.बि.पि.)ले सर्दुमा पुल बनाउन डिपिआर तयार गरेको हो । डिपिआर अनुसार कुल १० करोड २६ लाख ५८ हजार ८ सय १४ बराबरको लागत स्टिमेट तयार भएको छ । अध्ययनअनुसार १ सय २१ मिटर लम्बाई र ११ मिटर चौडाईको पुल बन्नेछ । यो पुलको आयु ८० देखि १ सय बर्षको हुनेछ । ‘सर्दुमा पुल बनाउन मन्त्रालयमा अनुरोध गरेका थियौं, पुलको डिपिआर तयार भइसकेको छ’–धरान उपमहानगरका योजना शाखा प्रमुख सुरज श्रेष्ठले भने–‘आउदो बजेटमा प¥यो भने यही बर्षदेखि कामको शुरुवात हुनसक्छ ।’
विष्णुपादुका धरानमा गाभिनु अघि २०४६ सालको परिवर्तन भएदेखि नै स्थानीय जनताले सर्दुमा पक्की पुलको माग गरेका थिए । तर, केन्द्रमा राजनैतिक तथा प्रशासनिक पहुच नहुदा स्थानीयको आवाज राज्यले सुनवाई गरेको थिएन । साविक विष्णुपादुका गाविस धरानमा समायोजन भएपछि वडा २४, २५, २६ र २७ बन्यो । तर, सर्दुमा पुल नहुदा भौतिक र भावनात्मकरुपमा पनि धरान र विष्णुपादुकाबीच दुरी कायमै थियो । धरानका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइराला आगामी बजेटमा सर्दुको पुल समेटिने भएकोले अबको २ बर्षभित्र निर्माण हुने बताउछन् । ‘अहिले विष्णुपादुकामा ड्रेन र बाटो विस्तार हुदैछ । आउदा बजेटमा पर्छ र अबको २ बर्षभित्र केन्द्रीय बजेटबाटै पुल बन्छ’–कोइरालाले भने–‘समायोजन भएका पाँचकन्या र विष्णुपादुका क्षेत्रमा विकास निर्माणका योजनाहरुलाई क्रमैसँग अघि बढाएर विकामा समावेश गर्दैछौं ।’
कृर्षि उत्पादनको बिक्री, खाद्यान्न किनमेल, उपचार, शिक्षालगायतमा धरानमा निर्भर विष्णुपादुकाको बर्षायाममा भने सम्बन्ध टुट्थ्यो । अत्यावश्यक कामको लागि विष्णुपादुका क्षेत्रका सर्वसाधारणहरु जोखिम मोलेरै सर्दु खोला तर्नुपर्छ । विष्णुपादुका कृर्षिको उर्बर भुमि हो । त्यहाँको कृर्षिजन्य उत्पादनको प्रमुख बजार धरान हो । हरेक मंगलबार र शुक्रबार धरान ११ स्थित मंगलबारे चोकमा बजार(हटिया) लाग्छ । तर, बर्खामा बाढी आउदा गाडी चल्दैन । स्थानीयले आफ्ना कृर्षि उत्पादन बिक्री गर्नसमेत पाउदैनन् । धरान ११ बाट विष्णुपादुका हुदै धनकुटाको आहाले जाने बाटो स्थानीयबासीले प्रयोग गर्ने प्रमुख र चल्तीको बाटो हो । यो बाटो हुदै विष्णुपादुका, बराहक्षेत्रका ३ वडा र धनकुटाको आहालेका किसानहरुले आफ्नो नगदेबाली धरान ल्याउने गर्छन् । ‘पुल बन्यो भने विष्णुपादुकाबासीको जीवनमा आमुल परिवर्तन हुन्छ, यो क्षेत्रले आर्थिक फड्को मार्छ’–पुर्व गाविस अध्यक्ष मणीराम राई भन्छन्–‘यो सडक धनकुटाको आहाले हुदै तमोर र भोजपुरको दक्षिणी क्षेत्र घोडेटार जोड्ने महत्वपुर्ण बन्छ ।’

..................................

                          ड्रेन र सडक स्तरोन्नति हुदै

धरान ११ मंगलबारे हुदै विष्णुपादुकाको भञ्ज्याङ पुग्ने सडकको स्तरोन्नतिसँगै ड्रेन निर्माण भइरहेको छ । धरान उपमहानगरपालिका र स्थानीयको संयुक्त लगानीमा ६० लाख स्टिमेटमा ड्रेन र सडक स्तरोन्नति भइरहेको हो । स्टिमेटमध्ये ४५ लाख उपमहानगरको हो भने जनसहभागीता १५ लाखको हो । उपमहानगरले ४५ मध्ये यो बर्ष ३० लाख उपलब्ध गराउनेछ भने १५ लाख आगामी आर्थिक बर्षमा दिनेछ । यो बर्ष ९ सय ७६ मिटर ड्रेन तथा सडक चौडा पार्ने काम गर्नुपर्ने भएपनि उपभोक्ताहरुले बढी काम गरिसकेका छन् । ‘स्थानीयले स्टिमेटभन्दा बढी १ हजार ३ सय मिटर ड्रेन बनाइसकेका छन्’–योजना शाखा प्रमुख सुरज श्रेष्ठले भने–‘अर्को बर्ष थप बजेट निकासा गरेर भञ्याङसम्मै ड्रेन पु¥याउछौं ।’
उपमहानगरका अनुसार आगामी आर्थिक बर्षमा पनि ६० लाख रुपैया निकासा हुनेछ । सडकलाई पनि विस्तार गर्दै २६ मिटर चौडा स्तरोन्नति हुनेछ । समायोजन भएपछि विष्णुपादुका क्षेत्रको भौतिक पुर्वाधार विकासमा विनियोजन भएको यो ठुलो बजेट हो । उपमहानगरले पछिल्लो समय समायोजन भएको विष्णुपादुका र पाँचकन्या क्षेत्रमा बर्षेनी एउटा ठुलो योजनामा बजेट छुट्याउने नीति लिएको छ । सर्दु खोलादेखि भञ्ज्याङसम्म ७ किलोमिटर सडकखण्ड छ । ड्रेन र बाटोको स्तरोन्नति सकेपछि पक्की सडक बनाउन उपमहानगरले पहल गर्नेछ । ‘पिच बनाउन केन्द्रमा पहल गछौं, नभए आफ्नै बजेटले भएपनि काम गछांै’–श्रेष्ठले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे