चिहानसमेत भत्काएर सरकारी जग्गा प्लटिङ

धरान । साविक पाँचकन्या ५(हाल धरान २२) का टेकबहादुर राईको आमा देउलक्ष्मीको ७४ बर्षको उमेरमा २०५५ साल बैशाख १० गते मृत्यु भयो । परिवारले उनको शवलाई आँपटार चौरीमा लगेर सँस्कारअनुसार गाडे । स्थानीयहरु आफन्तको मृत्यु हुदा त्यही चौरीमा शव गाड्थे । आमालाई औधी माया गर्ने टेकबहादुरले पछि छरछिमेकको पनि सहयोग लिएर शव गाडेको सोही स्थानमा कपुरथान(चिहान)समेत बनाए ।
बुबाको २०३० सालमै मृत्यु भएकोले टेकबहादुरको लागि देउलक्ष्मीले नै आमा र बुबा दुवै थिइन् । आँपटार चौरी हुदै कतै जादा उनी परैबाट आमाको कपुरथान हेरेर चित्त बुझाउथे । तर, ठ्याक्कै दश दिन भो, उनले कपुरथान देख्न नपाएको । उनी सधै हिड्ने त्यही बाटो हिड्छन् । आँखा आफै आँपटार चौरीमा पुग्छ, जहाँ पहिला आमाको कपुरथान थियो । त्यहाँ त कपुरथानको अवशेष पनि छैन । चित्त दुख्छ, आँखामा आशु टिलपिल हुन्छ । उनी मनलाई सम्हाल्छन् । ‘गाउँलेको सहयोगमा कपुरथान बनाएको थिएँ । आमालाई नदेखे पनि कपुरथान हेरेर चित्त बुझाउथे’–दुःखी हुदै ६८ बर्षीया राईले भने–‘अहिले नदेख्दा एकदमै दुःख लाग्छ, चित्त दुख्छ ।’
आमाको चिहान(कपुरथान) प्राकृतिक प्रकोप वा बाढीपहिरोले क्षति पुगेको भए पनि त उनी चित्त बुझाउथे । तर, आमाको कपुरथान सरकारी जग्गा हडप्न नेपाली कांग्रेसका स्थानीय नेता सन्तोष लिम्बु र उनको गिरोहले डोजर लगाएर भत्काइदिएको थियो । लिम्बुले डोजर लगाउदै गर्दा उनले कपुरथान नभत्काइदिन आग्रह पनि गरेका थिए । सरकारी जग्गा प्लटिङ गरी बिक्री गरेर लाखौं कमाउने दाउमा रहेकाले उनको कुरा के सुन्थे ? गुण्डागर्दी पृष्ठभुमि भएका कांग्रेस उपमहानगर कमिटि सदस्य लिम्बुलाई स्थानीयहरुले रोक्न पनि सकेनन् । टेकबहादुरले भने हिम्मत गर्दै कारबाहीको माग गरेर प्रहरी, इलाका प्रशासन कार्यालय र उपमहानगरपालिकामा निवेदन दिन पुगे । तर, अहिलेसम्म कारबाही भएको खबर सुन्न पाएका छैनन् । ‘त्यहाँ अरुको पनि कपुरथान थियो, सबै भत्काइयो । त्यो सरकारी जग्गा हो, कब्जा गरेर प्लटिङ भइरहेको छ’–उनले भने ।
स्थानीयका अनुसार आँपटार चौरी विगतमा पाँचकन्या गाविसवले रेशम खेतीको लागि छुट्याइएको सरकारी जग्गा हो । बाँझो जमिनको संरक्षण र सदुपयोग गर्न करिब दुई दशकअघि गाविसले अढाई बिघा जमिनमा रेशम उत्पादन गर्न किम्बु खेती गरेको थियो । उत्पादित रेशम इटहरीमा बिक्री हुन्थ्यो । तर, स्थानीय निकाय जनप्रतिनिधिविहिन भएपछि र माओवादी द्धन्दको कारण कर्मचारीहरु गाविसमा बस्न नसक्दा किम्बु खेती मासियो । त्यसपछि भने रेशम खेतीको जग्गा भुमाफियाको अतिक्रमणको चपेटामा पर्दै गयो । राजनीतिक संरक्षण पाएका भुमाफियाले सरकारी जग्गा पटक पटक बिक्री गरेको स्थानीय बताउछन् । ज्यानै जानसक्ने खतरा भएकोले स्थानीयहरु खुलेर विरोध गर्न सक्दैनन् । यसअघि बिक्री भइसकेको सरकारी जग्गामा कतिपयले घर नबनाएको मौकामा खाली जग्गा पुनः सन्तोषले कब्जामा लिएर प्लटिङ गरेको स्थानीयको दाबी छ । ‘केही बोल्यो भने ज्यानै खतरामा पर्छ । पहिला भाईले बिक्री गरेको थियो, अहिले त्यही जग्गामा जर्बजस्ती दाईले डोजर लगाएर प्लटिङ गर्दैछ’–एक जना स्थानीयले भने ।
रेशम खेतीको जग्गा संरक्षण गर्न भन्दै धरान उपमहानगरपालिकाले यो बर्ष योजनामा समेटेर ८० हजार बजेटसमेत विनियोजन गरेको छ । तर, भुमाफिया र स्थानीय नेताहरुको मिलेमतोमा प्लटिङ हुन थालेपछि स्थानीयस्तरममा संरक्षण समितिसमेत गठन हुन सकेको छैन । सरकारी जग्गा प्लटिङ भएको र चिहान भत्किएको निवेदन परेपछि उपमहानगरपालिकाले नगर प्रहरीलाई स्थलगत अध्ययन गर्न पठाएको थियो । नगर प्रहरीले बुझाएको प्रतिवेदनमा पनि चिहान भत्काएको, जथाभावी प्लटिङ गरेको र डोजर लगाएर डाँडाको भित्तासमेत खोस्रेको उल्लेख छ । ‘ऐन नियममा चिहान भत्काउदा कारबाही गर्ने अधिकार हामीलाई छ भने अघि बढ्छौं, नभए सम्बन्धित निकायलाई आग्रह गछांै’–वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले भने । सरकारी ऐलनी, पर्ती जग्गा संरक्षणको जिम्मेवारी स्थानीय निकायको हो । कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले प्रहरीसँग समन्वय गरेर जग्गा अतिक्रमण र प्लटिङ रोक्न निर्देशन भइसकेको बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे