धरानमा ठुला योजनाहरुले गति लिदै

धरान । स्थानीय निकाय जनप्रतिनिधिविहिन भएपछि सानातिना विकासे योजनाहरुमा अल्मलिएको धरान उपमहानगरपालिकाले यो बर्ष भने एकैपटक डेढ दर्जन ठुला योजनाहरुलाई अघि बढाएको छ । धरानको विकासमा कोसेढुंगा हुने अनुमान गरिएको ती परियोजनाहरुलाई कार्यान्वयन गर्न उपमहानगरपालिकाले विभिन्न अधिकृत एवं फाँटका कर्मचारीहरुलाई जिम्मेवारीसमेत बाँडफाट गरेको छ ।
नयाँ कार्यकारी अधिकृतको रुपमा धरान आएलगत्तै विष्णुप्रसाद कोइरालाले १९ वटा विभिन्न आयोजनाहरुलाई अघि बढाएका हुन् । ती मध्ये केही आयोजनाहरु जनप्रतिनिधि नभएर थाती रहेका पुरानै छन् भने अधिकांश नयाँ आयोजनाहरु हुन् । जनप्रतिनिधिविहिन भएपछि धरानमा सञ्चालन भएको एक मात्र ठुला आयोजना एकीकृत शहरी विकास आयोजनाअन्र्तगत खानेपानी परियोजना मात्र हो । नगरबासीले समेत अत्यधिक चासो र प्राथमिकता दिएको बसपार्कसहितको तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजना र प्रस्तावित एयरपोर्ट निर्माणको आयोजनाले अपेक्षितरुपमा गति लिइसकेको छ । जग्गा एकीकरण आयोजनालाई कार्यान्वयन गर्न नगर बिकास कोषले लगानी गर्ने भएको छ भने एयरपोर्ट बनाउन नागरिक उड्यान प्राधिकरण आफै सकरात्मक छ । एयरपोर्टको इआइए र डिटेल सर्वेको लागि २ करोड बजेट पनि विनियोजन भइसकेको छ । जग्गा एकीकरण आयोजनाको प्रमुखमा वरिष्ठ कर अधिकृत खगेन्द्रप्रसाद खतिवडाले जिम्मेवारी पाएका छन् भने विमानस्थल निर्माण कार्य सुचारु गर्न सुचना अधिकृत भक्तिराज शर्मालाई आयोजना प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै, विमानस्थल निर्माणलाई सहज बनाउन धरान १७ र ११ मा प्राविधिक कार्य गर्न तथा नापी ल्याउने, प्रारम्भिक सर्वे र लगतकट्टा गर्नेलगायत कार्यको लागि इञ्जिनियर देशकुमार राईले जिम्मेवारी पाएका छन् ।
एसियाली विकास बैंक र नेपाल सरकारको ऋण तथा अनुदानमा सञ्चालित परियोजनाको कुल लागत एक अर्ब ४८ करोड रहेको छ । खानेपानी परियोजनाबाहेक धरानले पछिल्लो डेढ दशकमा कुनै ठुला योजना एवं परियोजनाहरुलाई अघि बढाउन सकेको थिएन । पक्की सडक, ड्रेन तथा कल्र्भट निर्माण जस्ता सानातिना विकासे योजनाहरुको माग जनस्तरमा अत्यधिक छ । उपमहानगपालिका तिनै योजनाहरुमै सिमित थियो । ‘आजसम्म अवधारणा र प्रस्तावै पनि बनाइएको थिएन । केन्द्रबाट योजना आउछ भनेर मात्र सोचियो । सरकार, विदेशी दातृ निकाय, नगर बिकास कोष छ, अहिलेसम्म मागेकै छैनौं’–कार्यकारी अधिकृत कोइराला भन्छन्–‘अहिल्यै बजेट आइहाल्ने त होइन । योजना डिजाइन, डिपिआर, स्टिमेटलगायत काम सक्न एक, डेढ बर्षजति त लाग्छ । त्यसबेलासम्म जनप्रतिनिधि आउछन् र यी योजनाहरुले मुर्तरुप आवश्य लिन्छ । कार्यान्वयन हुनसक्यो भने धरानको कायापलट हुन्छ ।’
उपमहानगरले सर्दु कोरिडोर सडक विस्तार र सप्तरंगी पार्क व्यावस्थापन गर्न वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडालाई आयोजना प्रमुखको जिम्मेवारी दिएको छ । सर्दु कोरिडोर नयाँ योजना हो भने सप्तरंगी पार्क गुरुयोजना अभावमा वेवारिसे बनेको पुरानै योजना हो । यस्तै, सेउती कोरिडोर सडक र बाइपास हाइवे निर्माणको लाग वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठलाई आयोजना प्रमुख तोकिएको छ । कोशी राजमार्ग विस्तार हुदा धरानको मुख्य बजारको अस्तित्व नै नरहने भएपछि सेउती कोरिडोर हुदै वाइपास हाइवे निर्माणमा सरकारले पनि चासो दिएको छ । यसैगरि, विजयपुरको सडक विस्तार, निर्माण, वृक्षारोपण र सडकबत्ति व्यवस्थापन गर्न वरिष्ठ आन्तरिक लेखा परीक्षक रमेशकुमार शाहलाई आयोजना प्रमुखको जिम्मेवारी दिइएको छ भने विजयपुरको विविधता व्यावस्थापन र पञ्चकन्या वन व्यावस्थापन गर्न लेखा प्रमुख भेषराज अधिकारीलाई आयोजना प्रमुख तोकिएको छ ।

सार्वजनिक निजी साझदारी(पिपिपि) मोडलअन्र्तगत फोहोरमैला व्यावस्थापन गर्न सामाजिक विकास अधिकृत सुनिल नेपालले आयोजना प्रमुखको जिम्मेवारी पाएका छन् भने बधशाला तथा मासु व्यावस्थापन कार्यको लागि शिसिर श्रेष्ठलाई आयोजना प्रमुख तोकिएको छ । यस्तै, सर्दु जलाधार व्यावस्थापन गर्न नायब सुब्बा रामकुमार राई, सभागृह व्यावस्थापन गर्न सब इञ्जिनियर किसोर अधिकारीलाई आयोजना प्रमुखको जिम्मेवारी दिइएको छ । धरान १६ जनपथ सडक विस्तार, निर्माण, वृक्षारोपण र सडक बत्ति व्यावस्थापन गर्न नायब सुब्बा सारदाप्रसाद भट्टराई, ट्राफिक व्यवस्थापन कार्य गर्न नगर प्रहरीका सई रामकुमार कार्की, कोका खोला क्षेत्रमा पोखरी निर्माण गर्न आवश्यक ड्याम एवं पोखरी निर्माणको लागि इञ्जिनियर शैलुज शाक्यलाई आयोजना प्रमुख तोकिएको छ ।
यसैगरि, धरान वडा २४, २५ र २६ मा वन्यजन्तु संरक्षण गरी खुला प्राणी उद्यम कार्य गर्न शाखा अधिकृत चक्रकुमार राईलाई जिम्मेवारी दिइएको छ भने धरान १३ र २४ स्थित बीपी पार्क निर्माणको लागि किरण भुजेललाई आयोजना प्रमुखको जिम्मेवारी दिइएको छ । कार्यालय भवन तथा सौर्य बत्ति व्यावस्थापन योजनासहित खहरे करिडोर योजना(साइकल मार्ग, पदमार्ग र हरियाली मार्ग) निर्माणको लागि सब इञ्जिनियर बालकृष्ण कार्कीलाई आयोजना प्रमुख तोकिएको छ । आयोजना प्रमुखहरुलाई एक महिनाको कार्यप्रगति विवरण पेश गर्न पनि कार्यकारी अधिकृत कोइरालाले निर्देशन दिइसकेका छन् । योजना शाखा प्रमुखसमेत रहेका इञ्जिनियर सुरज श्रेष्ठ यी आयोजना कार्यान्वयनमा चुनौतीहरु थुपै भएपनि प्रशस्तै सम्भावना भएको बताउछन् । अघि सारिएको १९ योजनाहरु मध्ये केहीलाई नगर विकास कोषले आर्थिक सहयोग गर्न सहमत भइसकेको पनि उनले खुलाए । ‘बसपार्कसहितको जग्गा विकास आयोजना, एयरपोर्टको काम अघि बढिसक्यो । विजजयपुर र जनपथको सडक विस्तारको अध्ययन भइसकेर नगर विकास कोषमा प्रस्ताव पठाइएको छ’–उनले भने–‘सेउती र सर्दु कोरिडोरको गृहकार्य पनि भइरहेको छ, सेउती कोरिडोरमा सरकारले ५० लाख छुट्याएकोले सडक डिभिजनबाट डिजाइनिङ सर्वे हुदैछ ।’
सभागृह व्यावस्थापन गर्न कन्सल्टेन्सी आएर अध्ययन गरिसकेको छ भने नगर विकास कोषअन्र्तगतको चक्रिय कोषबाट लगानी जुट्ने भएको छ । यस्तै, कोका खोलामा ड्याम बनाएर पोखरी निर्माण गर्न पनि कोषमा नै प्रस्ताव पेश भइसकेको छ । ‘यी प्रोजेक्टहरुमा अहिल्यै लगानी नजुटे पनि डिपिआर मात्र तयारी भयो भने भविष्यमा निर्वाचित जनप्रतिनिधिले तत्काल कार्यान्वयनमा लैजान सक्छन्, त्यसैले चुनौतीहरु हुदाहुदै पनि धरानको लागि महत्वपुर्ण प्रोजेक्टहरु हुन्’–योजना शाखा प्रमुख श्रेष्ठले भने । माओवादी केन्द्रका नेता चोत्लुङ परियोजनाको शुरुवाती चरण सकरात्मक रहेको तर सावधानी अपनाउदै कार्यान्वयनमा जानुपर्ने धारणा राख्छन् । धरान र नगरबासीको भविष्यलाई हेरेर जिम्मेवारी पाएका कर्मचारी, राजनीतिक दलले सकरात्मक भुमिका खेल्न आवश्यक रहेको उनी बताउछन् । ‘उपमहानगरपालिकाले अघि सारेका योजनाहरु धरानको भविष्यको लागि धेरै महत्वपुर्ण र प्रभाव पार्ने खालका छन्, सम्भावनाहरु धेरै छन् । त्यसैले यसको कार्यान्वयनमा सहजीकरण गर्न दलहरुको पनि सकारात्मक भुमिका हुनुपर्छ’–उनले भने ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे