फागुन ५ देखि १९ औं बुढासुब्बा गोल्डकप

धरान । मोफसलको चर्चित १९ औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिता फागुन पहिलो सातादेखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा हुने प्रतियोगितामा १० टिम सहभागी हुने क्लबले जनाएको छ । तर, साविक विजेता मनाङ मस्र्याङ्दी क्लब भने यो सँस्करणमा सहभागी नहुने पक्का भइसकेको छ । मनाङ बंगलादेशमा हुने अन्र्तराष्ट्रिय प्रतियोगितामा भाग लिन फेब्रअरी १७ तारिख प्रस्थान गर्ने भएकोले बुढासुब्बामा सहभागी हुन नसक्ने आयोजक क्लबका अध्यक्ष किसोर राईले जानकारी दिए । प्रतियोगिता तोकिएकै मितिमा शुरु हुने पनि उनले दाबी गरे । ‘पहिला जस्तो यसपाली प्रतियोगिताको मिति सर्दैन । डिफेन्डिङ च्याम्पियन मनाङ वंगलादेश खेल्न जाने भएकोले नआउने पक्का भइसक्यो’–एन्फा केन्द्रीय उपाध्यक्षसमेत रहेका राईले भने–‘तरपनि १० वटा उत्कृष्ट टिमहरुलाई ल्याएर स्तरीय, भव्य र सभ्यरुपमा प्रतियोगिता गराउछौं ।’ मनाङ बुढासुब्बाको छैटौं, १३ आंै र १८ औं सँस्करणको विजेता हो ।
प्रतियोगितामा १० टिम मात्र सहभागी भएपनि आयोजकले सम्भावित एक दर्जन टिमको नामावली सार्वजनिक गरेको छ । अन्र्तराष्ट्रिय टोलीकोरुपमा भुटानको राष्ट्रिय टिम, वंगलादेशको धनमुन्दी क्लब र भारत सिलङको टिमलाई सहभागी गराउन एन्फा मार्फत नै पहल भइरहेको पनि अध्यक्ष राईले खुलाए । यस्तै, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, सहारा क्लब पोखरा, हङकङ नेप्लीज टिम र रुपन्देही ११ सम्भावित टिम छन् । साथै, यसपटक उपाधि जित्ने लक्ष्यका साथ आयोजकको रातो र निलो गरी दुई टिम पनि सहभागी हुनेछ । माघ २८ भित्रमा सहभागी टिम निश्चित हुने र त्यसैबेला टाइसिटसमेत सार्वजनिक गर्ने क्लबले जनाएको छ । ‘अहिले झापा गोल्डकप र सिमरा गोल्डकप भइरहेको छ, त्यहाँको नतिजा हेरेर उत्कृट खेल्ने टिमलाई यहाँ सहभागी गराउछौं’–अध्यक्ष राईले भने–‘आयोजककै २ वटा टिम हुन्छ, एउटामा सिनियर खेलाडीहरु हुन्छ । अर्कोमा जुनियर नयाँ प्रतिभाहरुलाई मौका दिन्छौं ।’
यो सँस्करणमा पुरस्कार राशीमा पनि वृद्धि गरिएको महासचिव प्रताप तामाङले जानकारी दिए । उनका अनुसार विजेताले नगद पुरस्कार ५ लाख पाउनेछ भने उपविजेताले २ लाख ५० हजार हात पार्नेछ । गत सँस्करणमा विजेता र उपविजेताको पुरस्कार राशी ४ लाख र २ लाख मात्र थियो । यस्तै, उत्कृष्ट खेलाडीलाई एक थान यामाहा मोटरसाइकल दिइनेछ भने सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछन् । साथै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद १५ हजार दिइने महासचिव तामाङले बताए । प्रतियोगितालाई सफल बनाउन विभिन्न उप समितिहरु गठन गरेर तीब्ररुपमा तयारीमा जुटेको पनि उनले खुलाए ।
कुल ६५ लाख ६७ हजार ५ सय आय हुने अनुमान गरिएको प्रतियोगितामा ५४ लाख ८५ हजार खर्च हुने आँकलन गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक जि.बि.मार्केटिङ प्रालि(रेडबुल) र सहप्रयोजक गोर्खा ब्रुअरी प्रालि(टुबोर्ग बियर)सँग यसै सँस्करणदेखि थप ३ बर्षको लागि सम्झौता नवीकरण भएको पनि आयोजक क्लबले जानकारी दिएको छ । क्लब अध्यक्ष राईका अनुसार विगतमा प्रयोजन र सहप्रयोजनवापत दिदै आएको रकममा १० प्रतिशत वृद्धि हुने गरी ३ बर्षको नयाँ सम्झौता भएको छ । धरान उपमहानगरपालिका संयोजक रहेको प्रतियोगितामा ताईपाई चाउचाउ, यामाहा, हट्के झट्के, बराह इण्ड्रष्ट्रिज प्रालि, आईएमई पनि सहप्रायोजक रहेको क्लबले जनाएको छ ।
...........................

                                                     प्रर्वद्धन कप हुदै

१९ औं बुढासुब्बा रेडबुल गोल्डकपको प्रचारप्रसार गर्ने उद्देश्यले शनिबार(आजदेखि) प्रर्वद्धन फुटबल प्रतियोगिता(कप) गर्ने धरान फुटबल क्लबले जनाएको छ । क्लबले जनाएअनुसार माघ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ टिम सहभागी हुनेछन् । प्रतियोगितामा प्याब्सन–एन प्याब्सन सुनसरी, बैंकर्स टिम धरान, हार्डवेयर संघ धरान, पत्रकार महासंघ सुनसरी, जिल्ला खेलकुद विकास समिति सुनसरी, होटल एशोसिएन धरान, इन्द्रबराह ज्वेलरी फुटबल टिम र यातायात व्यावसायी संघ सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजारसहित मेडल र प्रमाणपत्र पाउनेछ । बुढासुब्बा गोल्डकपको १९ औं सँस्करणलाई भव्यता दिलाउन र विभिन्न पेशाव्यावसायको क्षेत्रलाई पनि अपनत्व दिलाउन प्रर्वद्धन कप आयोजना गरिएको अध्यक्ष किसोर राईले बताए । ‘बुढासुब्बा गोल्डकपको निरन्तर आयोजना भइरहेको इतिहास छ, यो प्रतियोगितालाई अझै व्यापकता दिलाउन र सबै क्षेत्रको सहभागीताको लागि पनि प्रर्वद्धन कप गरेका हौं’–उनले थपे ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे