नेवा च्यारिटी ८ के रनको तयारी पुरा

धरान । फागुन १४ गते शनिबार आयोजना हुन लागेको धरान रन, पाँचौं नेवा च्यारिटी ८ के रनको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । आयोजक धरान रनले बुधबार पत्रकार सम्मेलन गर्दै दौडमा हालसम्मकै बढी २ हजार २ सय जना सहभागी हुने जानकारी दिएको छ ।
स्वच्छ धरान, स्वस्थ्य धरान नारा दिएर स्थापना भएको संस्था धरान रनले बर्षेनी आयोजना गर्ने दौडमा सहभागी संख्या राजधानीबाहिरको सर्वाधिक हो । दौड शनिबार बिहान साढे ६ बजे भानुचौकबाट शुरु भएर विभिन्न चोक हुदै पुतलीलाइनबाट भानुचोकामा पुगेर टुंगिने प्रवक्ता गोपाल राईले बताए । यो दौडको दुरी ८ किलोमिटरको हुनेछ । प्रतियोगितामा नेपालभरिका विभिन्न उमेर समुहले भाग लिन पाउने प्रवक्ता राईले प्रष्ट्याए ।
दौडमा खुल्ला, १२ बर्ष मुनिका, १३ देखि १६ बर्ष मुनिका र भेट्रान गरि विभिन्न चार उमेर समुहको स्पर्धा हुनेछ । खुल्लातर्फका प्रथम, दोस्रो र तेस्रो हुने धावक, धाविकाले जनही मेडलसहित क्रमशः नगद ४० हजार, ३० हजार र २० हजार पुरस्कार पाउनेछन् । यस्तै, १२ बर्ष मुनि, १६ बर्ष मुनि र भेट्रान(४० बर्षमाथि)का प्रथम, दोस्रो र तेस्रो हुने धावक र धाविकाले मेडलसहित जनही क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार हात पार्ने आयोजक संस्थाका अध्यक्ष रोमु राईले जानकारी दिए । उनका अनुसार दौडमा खुलाबाहेक अन्य उमेर समुहका धावक वा धाविकाले प्रथम, दोस्रो वा तेस्रो स्थान प्राप्त गरेमा खुला र आफ्नो उमेर समुह(दुवैतर्फ)को पनि पुरस्कारको हकदार हुनेछन् ।
आयोजकले जनाएअनुसार दौडमा उमेर समुहअनुसार धावक, धाविकाहरुको ४ वटा फरक रंगको चेष्ट नम्बर हुनेछ, जसले गर्दा उमेर समुह खुट्याउन सजह हुनेछ । यसपटक मिकी माउस र टम एण्ड जेरीको ५ वटा मस्कट पनि प्रस्तुत गरिनेछ भने दर्ता गरेका रनरहरुलाई विगतमा झै एउटा आकर्षक टिसर्ट पनि दिइनेछ । यो पटक वातावरणमैत्री दौड बनाउनको लागि जथाभावी फोहोरमैला नहोस् भनेर संस्थापक अध्यक्ष सन्तोष राईले बेलायतबाटै नष्ट गर्न मिल्ने पोलिथिन ब्याग लिएर आएको पनि जानकारी दिए । उनका अनुसार युरोपतिर प्रचलनमा रहेको उक्त ब्यागमा दौडको क्रममा भएको फोहोरमैला संकलन गरेर व्यवस्थित गरिनेछ ।
आयोजकले विगतको संस्करणमा खर्च कटाएर जोगिएको रकम कुनै सामाजिक संस्था वा अपांगता, असहाय व्यक्तिहरुलाई सहयोग गर्दै आएको थियो । यो बर्षदेखि भने खर्च कटाएर जोगिएको रकमबाट विपन्न, जेहेन्दार तथा अशक्त बालबालिकाहरुको शिक्षामा लगानी गर्न अक्षय कोष खडा गर्ने योजना रहेको पनि संस्थापक अध्यक्ष राईले खुलाए । ‘यो कोषलाई अझ वलियो बनाएर बालबालिका, महिलाको शिक्षा, स्वास्थ्य उपचारलगायतमा खर्च गरिनेछ’–उनले भने–‘पहिला विभिन्न संस्थाहरुलाई कोष चलाउन दिन्थ्यौं, अब हाम्रै टिम तयार गरेर अक्षय कोष बनाउछौं । कोही व्यक्तिलाई अत्यावश्यक सहयोग गर्नुपर्ने भयो भने फरकतरिकाले गछांैं ।’ नेवा च्यारिटी ८ के रनले यसअघि शारीरिक अपांगता भएकी साहित्यकार लक्ष्मी राई, संक्रमित दुव्र्यसनी महिलाहरुको लागि दृष्टि नेपालको ह्यापी होम, धरान पोजेटिभ समुहमार्फत संक्रमित बालबालिकाहरुको शिक्षामा, एकल महिला समुहको छहारी भवन, क्यान्सर पीडित नविन बिक, वृद्धा स्वर्गीय मिठु कटवाल, मृगौला पीडित प्रमिला बिकलगायतलाई सहयोग गरिसकेको छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे