पुरानो अस्पतालमा केएचडिसिको ल्याब र परामर्श केन्द्र

धरान । मृगौला, मुटू, उच्च रक्तचाप, मधुमेहजस्ता भयावह रोगहरु लाग्नै नदिन १४ बर्षअघि शुरु गरिएको केएचडिसि कार्यक्रमको निःशुल्क जाँच तथा परामर्श केन्द्र पुरानो अस्पतालमा खोलिएको छ । धरानको घनश्याम स्मृति प्रतिष्ठान र अञ्जना अग्रवाल स्मृति प्रतिष्ठानले ल्याब सामग्री उपलब्ध गराएपछि धरान ४ छाताचोकस्थित पुरानो अस्पतालमा केएचडिसिको जाँच तथा परामर्श केन्द्र सञ्चालनम आएको हो ।
प्रतिष्ठानले मंगलबार एक कार्यक्रम बीच केएचडिसिलाई ल्याब सामग्री हस्तान्तरण गरेपछि केन्द्रको पनि औपचारिकरुपमा उद्घाटन गरिएको थियो । केएचडिसिका संस्थापक एवं वरिष्ठ मृगौला तथा मुटूरोग बिशेषज्ञ डा.सञ्जिव शर्माले केन्द्रको उद्घाटन गरेका थिए । धरान उपमहानगरपालिकाको सहकार्यमा स्थापना गरिएको केन्द्रको सञ्चालनमा भने सत्य साई केन्द्रले सहयोग गर्ने बताइएको छ । केएचडिसि केन्द्रको ल्याब सञ्चालनको लागि १५ लाख ६५ हजार बराबरको सामग्री घनश्याम र अञ्जना स्मृति प्रतिष्ठानले उपलब्ध गराएको हो । यसैगरि, जनसेवक भण्डारी र शिव राईले सञ्चालन खर्चको लागि जनही एक लाख रुपैया सत्य साई केन्द्रलाई मंगलबारै हस्तान्तरण गरेका छन् भने तीर्थ गुरागाईले पनि एक लाख रुपैया सहयोग गर्ने वचन दिएका छन् । स्वर्गीय घनश्याम अग्रवालकी पत्नी कृष्णदेवीको रगतको नमुना लिएर ल्याब शुरुवात भएको घोषणा गरिएको थियो । यसअघि भने केएचडिसिको परामर्श केन्द्र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थियो ।
बीपी प्रतिष्ठानमा मेडिसिन विभाग प्रमुखसमेत रहेका वरिष्ठ चिकित्सक डा.सञ्जिव शर्माले सन् २००३ मा केएचडिसि कार्यक्रमको शुरुवात गरेका थिए । मृगौला, मुटू, उच्चरक्तचाप, मधुमेहजस्ता रोग लागेकाहरु आर्थिकरुपमा पनि थप पीडित भएको थाह पाएपछि उनले रोग लाग्नै नदिन यो अभियान शुरुवात गरेका थिए । घर घरमा पुगेर रगत र पिसाबको नमुना संकलन गरी निःशुल्क जाँचको पनि व्यवस्था गरेपछि उनको यो अभियान लोकप्रिय बन्यो । रोगको लक्षण बेलैमा थाह पाउने र सावधानी अपनाउदा ठुलो उपचार खर्चबाट जोगिनेबारे केएचडिसि कार्यक्रमले जनस्तरमा चेतनासमेत फैलाउन सफल भएको थियो । केएचडिसि कार्यक्रम धरानमा मात्र सिमित नभई पुर्वका विभिन्न जिल्लामा पनि पुगेको थियो ।
‘कमाउन विदेश गएको युवा मृगौला फेल भएर फर्कियो । डाइलासिस गर्नुपर्छ भन्दा औषधि किन्ने पनि पैसा छैन भन्दा ज्यादै पीडा महसुस भयो’–केएचडिसि कार्यक्रमको पृष्ठभुमिबारे उनले खुलाए–‘समयमै जाँच गराएको भए डेढ,  २ सयमै निको हुन्थ्यो, ढिलो गर्दा सम्पत्ति सकियो, जीवनै खतरामा प¥यो । त्यसैले भयावह रोगलाई रोक्न घरघरमा गएर पिसाब जाँच गर्न थाल्यौं ।’ परामर्श केन्द्रमा एक जना प्राविधिक र डाक्टर पनि राक्ने योजना रहेको उनको भनाई थियो । रोग लाग्नभन्दा अगावै लक्षण पत्ता लगाए न्युन खर्चमै निको पार्न सकिने उनले सुनाए । साथै, खानपान र जीवनशैलीमा सचेत हुन सके धेरै रोगहरुबाट बच्न सकिने उनले बताए । घनश्याम प्रतिष्ठानका सञ्चालक एवं छोरा रजत अग्रवालले ट्रष्ट स्थापना गरेर स्थायीत्व दिने बताए । समारोहमा एमाले नेता प्रदिप भण्डारी, पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरे, जनसेवक भण्डारी, श्यामा रेग्मीलगायतले केएचडिसि कार्यक्रमसँगै सहयोगी संस्थाहरुको प्रसंसा गरेका थिए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे