टिम सेभ नेपालः 'विपत्तिमा हामी जुट्छौं'

धरान । बैशाख १२ को महाभुकम्प पछि पीडितहरुलाई राहत पुर्याउन जुटेका धराने युवाहरुको टिम सेभ नेपाल, धरान निरन्तर सक्रिय रहने भएको छ । यो टिमले राष्ट्रमा आइपर्ने कुनै पनि विपत्तिमा आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
ओखलढुंगाको प्राप्चा गाविसमा भुकम्प र त्यसको पहिरोबाट विस्थापितहरुलाई तेस्रो चरणको राहत एवं सहयोग पुर्याएकोपछि भएको युवाहरुको भेलाले सेभ नेपाललाई यतिकै विलिन हुन नदिने निर्णय गरेको हो । ‘भविष्यमा आइपर्ने जुनसुकै विपतमा पनि हामी यसरी नै जुट्नेछौं, सबै साथीभाईहरुको यही भनाई रह्यो’–टिमका संयोजक एवं रोयल इष्र्टन इन्फिल्डर्सका अध्यक्ष योगेन राईले भने ।
धरान १५ श्यामचोकस्थित राम कोल्ड सेन्टरमा भएको भेलामा तीन चरणसम्म राहत पुर्याउन खटिएका युवाहरुको उपस्थिति थियो । युवाहरुले भेलामा आफ्नो अनुभव सुनाउनुका साथै सुझावहरु पनि दिएका थिए । त्यसबाहेक अतिथिकोरुपमा उपस्थित व्यक्तिहरुले पनि सुझाव दिएका थिए । भेलामा राहत वितरणको क्रममा सिन्धुपाल्चोक र ओखलढुंगामा खिचिएको तस्बिरहरु प्रोजक्टरमार्फत देखाइएको थियो । बैशाख १२ को भुकम्प पछि धरानका विभिन्न क्षेत्रका युवाहरु मिलेर सिन्धुपाल्चोकमा राहत पुर्याउन गएका थिए । सेभ नेपाल अर्थात नेपाल बचाउ भन्ने नारासहित गएका उनीहरुले पछि आफुहरुलाई सेभ नेपाल टिममा रुपान्तरण गरेका हुन् ।
भेलामा उपस्थित अतिथिहरुले युवाहरुको सेवा भावना प्रसंसनीय रहेको र यसले धराने युवाहरुप्रतिको गलत धारणालाई परिवर्तन गराउन मद्दत पुगेकोसमेत धारणा व्यक्त गरेका थिए । उनीहरुले युवाहरुको यो टिम र भावनालाई सधै जोगाइराख्न आग्रह गरेका थिए । भेलामा धरान प्याराग्लाइडिङ क्लबका अध्यक्ष एवं ओसिस बोर्डिङ स्कुलका प्रिन्सिपल लेखमणी जिमी, निदान समाजका अध्यक्ष चन्द्र सुब्बा, धराने ट्रेकरसम्बद्ध रामकृष्ण राई, पत्रकार सन्तोष काफ्ले, प्याराग्लाइडर राम राई, टेण्डम पाइलट देशविर जिमी, सुनसरी टेक्निकल कलेजका मिलन साम्सोहाङ, युवाहरु बुद्ध लामा(रोबिन्सन), राजेश राई, साधाना लिम्बू, पुरन राईलगायतले बोलेका थिए ।







 










 



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे