अशक्त नातिनी स्याहारर्दै हजुरआमा


धरान । चैत अन्तिम साता अशक्त छोरीलाई बृद्ध आमाको जिम्मा छोडेर धरान ८ की प्रतिमा गुरुङ काठमाण्डौं गएकी थिइन् । मोवाइलमा बेलाबेला कुराकानी हुदै थियो । बैशाख १२ गतेको भुकम्पले भने सम्पर्कविच्छेद गराइदियो । त्यसयता प्रतिमाको मोवाइलमा एक पटक पनि आमाको मोवाइलबाट रिङ्ग बजेको छैन ।
‘दुई महिना हुनलाग्यो, आमासँग बातचित गर्न नपाएको । पहिला त आमा जही गएपनि फोन गर्नुहुन्थ्यो’–गाह्रो मान्दै रतिले सुस्तरी भनिन्–‘अब त आमासँग भेटै हुदैन जस्तो छ ।’ झण्डै दुई महिनादेखि प्रतिमा सम्पर्कविहिन छिन् । यता, घरमा अशक्त(अपांग) १८ बर्षीय छोरी रति उनको वृद्धा हजुरआमा मिना खड्काको विचल्ली छ । हजुरआमा बनिबुतो गर्न कतै निस्किइनन् भने चुलो बल्दैन । रति युवा उमेरमा प्रवेश गरेपनि न राम्रोसँग हात चल्छ, न खुट्टा नै । बोली पनि राम्ररी फुट्दैन । हजुरआमा एक्लै छोडेर कतै गइन् भने रतिको झनै बिजोग हुन्छ । त्यसमाथि हजुरआमा कानै सुन्दिनन्, एउटा कुरा सोध्दा अर्कै जवाफ फर्काउछिन् । ‘यसको आमा हरायो, कहाँ गयो गयो । कहाँ खोज्ने, कस्लाई भन्ने केही थाह छैन’–धेरै प्रयासपछि प्रश्न  बुझेर वृद्धाले जवाफ फर्काइन् ।
उनीहरु बसेको घर भाडाको हो । पानी, बिजुलीसहित पन्ध्रसय मासिक भाडा तिर्न पनि उनीहरु सक्दैनन् । नियमित घरभाडा तिर्न नसक्दा घरधनीले बेला बेला निस्केर जाऊ भन्दा अत्यास लाग्छ । रतिलाई अपांग भत्ता वापत एक हजार भत्ता आउछ भने एकल महिला वापत हजुरआमाले पाँच सय पाउछिन् । बेला बेला त्यही भत्ता मिलाएर घरभाडा तिर्छन् । जस्तापाताले बारेको घरमा दिउसो बस्न पनि तात्तिएर सकस हुन्छ । तरपनि घरभित्रै गुम्सिएर बस्नु रतिको बाध्यता हो । बेला बेला हजुरआमाले घरबाहिर सित्तलमा लैजान्छिन् । उनको लागि वृद्धा हजुरआमा नै सबथोक हुन् । आफ्नी आमाले दुई जनासँग बिहे गरेपनि उनले बुबाको माया, स्नेह पाउन सकिनन् ।
अठार बर्षीय रति जन्मदै अशक्त थिइन् । त्यही कारण आफ्नो बुबा रमेश तामाङ उनी तिरस्कृत भइन् । कस्ती छोरी जन्माएकी भन्दै रमेशले श्रीमति(प्रतिमा)लाई पनि हेला र हिंसा गर्थे । एकदिन बुबा रमेशले आमालाई त्यागेर जादा रति सानै थिइन् । बेसहरा बनेकी प्रतिमाले पुनः धरानमै राजन गुरुङसँग दोस्रो बिवाह गरिन् । रति पनि आमासँगै गइन् । एक भाई र बहिनी पनि जन्मिए । तर, नयाँ बुबासँग पनि आमा(प्रतिमा)को घरजम टिकेन । परिवारलाई छोडेर राजन बेपत्ता भएको पनि धेरै भइसक्यो । दोस्रो बुबाबाट जन्मिएको १० बर्षीय भाई अर्काको घरमा छन् भने १४ बर्षीय बहिनी उनीसँगै बसेर पढ्दैछिन् ।
स्थानीयका अनुसार रतिको आफ्नै बुबा रमेश अहिले पनि धरान १२, चतरालाइनतिर छन् । तर, अपांग भएकै कारण उनले रतिलाई न आफ्नो छोरी स्वीकारछन् त कुनै सहयोग नै गर्छन् । ‘रतिको आफ्नै बुबा चतरालाइनमा छ, नहेरे पनि कोठा भाडा तिरिदिए हुन्थयो । मानोचामल त बोजुले मागेर भएपनि ल्याउछिन्’–छिमेकी सविता तामाङ्गले भनिन् । रतिको अवस्था देखेपछि धरान १९ स्थित अपांग पुर्नस्थापना तथा असहाय सेवा केन्द्रले पहिल्यै ह्विलचियर दिएको थियो भने सोमबार रतिको घरमा पुगेर ५ हजार नगद र ५० केजीको एक बोरा चालम सहयोग गरेको छ । चामल र नगद हस्तान्तरण गर्नेक्रममा परिवारको विचल्ली देखेपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुदमकुमार सिजापतिले थप एक बोरा चालम सहयोग गर्ने वचन दिएका छन् ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे