व्यापारीक भवन ठडिदै, सर्वसाधारणलाई भने रोक
धरान । भुकम्प पछि सरकारले असार मसान्तसम्म दुई तलाभन्दा अग्ला घर एवं भवन बनाउन रोक लगाएपनि धरान उपमहानगरपालिका क्षेत्रमा भने पुर्ण पालना भएको छैन । उपमहानगरपालिकाले सरकारको निर्देशन वमोजिम घरनक्सा दर्ता रोके पनि दुई तलाभन्दा बढीको स्वीकृति भएका संरचना अहिले पनि धमाधम निर्माण भइरहेको छ ।
सरकारी निर्देशन उल्लंघन गर्नेमा निर्माणाधिन निजी व्यापारीक भवनहरु छन् । उपमहानगरपालिका कार्यालयलाई सरकारको निर्देशन अटेर गरेर ती भवन ठडिइरहेको जानकारी भएर पनि मौन छ । तर, सर्वसाधारणको निर्माणाधिन घर मापदण्डविपरीत भए तत्काल उपमहानरपालिकाले निर्माण कार्य रोक्न भन्दै पत्र थमाउने गरेको छ । बैशाखको भुकम्प पछि सरकारले नक्सा दर्ता गर्न र स्वीकृत भइसकेको घरनक्सालाई पनि दुई तलामाथि बनाउन रोक लगाउन स्थानीय निकायलाई निर्देशन दिएको थियो । नक्सा स्वीकृत भएपनि निर्माण कार्य शुरु नभएकोलाई पनि बनाउन नदिन सरकारको निर्देशन थियो । निर्देशन वमोजिम उपमहानगरको एक टोलीले केही वार्डमा सर्वसाधारणको निर्माणाधिन घरमा अनुगमन गरेपनि निर्देशन अटेर गर्ने व्यापारीक भवनको काम भने रोक्न तत्परता देखाएको छैन ।
अहिले धरानमा निर्माण स्वीकृत लिएका ठुला व्यापारीक भवनमध्ये धरान ९ पुतलीलाइनस्थित भाटभटेनी र धरान १५ स्थित लोक खापुङको होटल पनि दुई तला बढी नै निर्माण भइरहेको छ । यस्तै, धरान ८ धनकुटे रोडमा गोर्खा डिपार्टमेन्ट स्टोर र पुरानो ट्राफिक चोकमा पनि एक निजी भवन निर्माणाधिन रहेको छ । सरकारको निर्देशनलाई कार्यान्वयन गर्ने क्रममा उपमहानगरले लगत्तै सार्वजनिक सुचना मार्फत दुई तलामाथि घर एवं भवन नबनाउन आह्वान गरेको थियो । त्यतिबेला भाटभाटेनीको भवनको तेस्रो तला ढलाई भएकै थिएन । शनिबार निर्माणाधिन भवनस्थल पुग्दा पाँचौं तलाको ढलाईको काम भइरहेको थियो । यस्तै, लोक खापङको होटलको पनि तेस्रो तलाको काम जारी छ । यस्तै, धरान ८ स्थित गोर्खा डिपार्टमेन्ट स्टोर र पुरानो ट्राफिक चोकस्थित भवनको काम सरकारी निर्देशन र उपमहानगरपालिकाले सुचना जारी गर्दा काम शुरु भएकै थिएन । निर्देशनअनुसार दुवै भवनको काम रोकिनु पर्ने हो, तर धमाधम बनिरहेको छ । भाटभटेनीका लेबर सुपरभाइजर गणेश श्रेष्ठले सरकारको निर्देशनबारे आफुले सुनेपनि कुनै निकायबाट काम रोक्न भनेर पत्र वा निर्देशन नपाएको बताए । ‘कसैले केही पनि भनेको छैन, पाँच तलाको नक्सा भएकोले अहिले त्यहीसम्मको काम हुदैछ ।’–श्रेष्ठले भने ।एपमहानगरपालिकाका घरनक्सा उपशाखाका नायब सुब्बा हरि कार्कीले भने सार्वजनिक सुचना जारी गरेसँगै पहिलो चरणमा निर्माण व्यावसायीहरुको संगठन स्थानीय भवन निर्माण व्यावसायी संघलाई काम रोक्न पत्र पठाएको बताए । मापदण्ड विपरीत घर बनिरहेको उजुरी आएपछि वडा १५, ८, ३ लगायत वार्डको केही क्षेत्रमा स्थलगत अनुगमनमा गएर काम रोक्न निर्देशन दिएपनि ठुला व्यापारीक भवनमा भने नपुगिएको उनले बताए । उनका अनुसार ७ वटा जति सर्वसाधारणको घरलाई निर्माण रोक लगाइएको छ । ‘निर्देशन, नियम सबैलाई समान हो, सर्वसाधारणलाई मात्रै हो भन्ने होइन’–कार्कीले भने–‘भोली(आइतबार)देखि स्पटमा नै गएर मापदण्ड विपरीतका भवनलाई काम रोक्छौं ।’
उनका अनुसार यो बर्ष करिब साढे ५ सय घरनक्साले उपमहानगरपालिका कार्यालयबाट निर्माण इजाजत पाएका छन् । ती घरमध्ये कति २ तला माथिको अनुमति छ भनेर आइतबारसम्म निक्यौल हुने र ती सबैलाई आइतबारदेखि नै निर्माणस्थलमा गएर काम रोक्न पत्र थमाउने नायक सुब्बा कार्कीले बताए । ‘इजाजत लिएकाको मात्रै होइन, इजाजत विना पनि घर बनिरहेको छ छैन, इजाजत लिएभन्दा बढी तला थपिएको छ छैन भनेर पनि हामी निरीक्षण गरिरहेकै छौं’–उनले थपे ।


Comments
Post a Comment