मंगलबारदेखि मालपोत र नापीले सेवा दिने

धरान । चौतर्फी दबाब पछि मालपोत र नापी कार्यालयले मंगलबारदेखि सेवा सुचारु गर्ने भएको छ । कार्यालय भवनको विवादले सेवा सञ्चालनबारे अन्यौल भएपछि व्यापक जनगुनासो बढेको थियो ।
दुवै कार्यालयको भवन कहाँ राख्ने भनेर स्थानीयस्तरमा विवाद उठेपछि आइतबारको सर्वदलीय बैठकले जेठ ३० गतेभित्र कार्यालयको टुंगो लगाउने र ३१ देखि सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो । तर, लामो समय सेवा अवरुद्ध हुदा सर्वसाधारणमा असन्तुष्टी बढ्ने भन्दै विभाग र जिल्ला प्रशासनले निर्देशन दिएपछि दुवै कार्यालयले मंगलबारदेखि सेवा प्रारम्भ गर्ने तयारी गरेको हो । तत्कालको लागि दुवै कार्यालयले धरान उपमहानरपालिकाको भवनबाटै सेवा शुरु गर्ने जनाएको छ । ‘विभाग र जिल्ला प्रशासनबाट लामो समय सेवा अवरुद्ध नगरी तत्काल प्रारम्भ गर्नु भन्ने निर्देशन आएकोले मंगलबारदेखि सेवा शुरु गर्ने तयारीमा छौं’–मालपोत कार्यालयका सुब्बा टिकाराम कटवालले भने–‘तत्कालको लागि धरान उपमहानगरकै पुरानो भवनबाट सेवा दिनेछौं ।’
भुकम्प पछि पुरानो भवनबाट उपमहानगरपालिका क्षेत्रीय प्रशिक्षण केन्द्रको भवनमा सरेको थियो । उपमहानगरले पुरानो भवन भत्काएर नयाँ बनाउने तयारीमा छ । करिब चार दशक पुरानो त्यही भवनको भुईतलालाई उपभोग गरेर मंगलबारदेखि मालपोत र नापी कार्यालयको सेवा प्रारम्भ हुनेछ । बिहानसम्म कार्यालय व्यवस्थापन गरेर १० बजेपछि सेवा प्रारम्भ गर्ने तयारी रहेको सुब्बा कटवालले बताए । ‘दराज ल्याएर स्रेस्ता मिलाउदैछौं, सोमबार धरान बजार बन्द हुने भएकोले फर्निचरको सामान मंगलबार बिहान मात्रै आउछ । १० बजेपछि काम शुरु गछांैं’–उनले थपे ।
यसअघि घरभाडाको सुचना आह्वान गर्दा दर्जन घरको प्रस्ताव परेपनि कार्यालयलको लागि उपयुक्त घर नभेटिएपछि दुवै कार्यालय अन्यौलमा थियो । सरकारले उत्तरी क्षेत्रको जनतालाई सेवा पुर्याउने उद्देश्यले गत बर्ष साउन ४ गते सदरमुकाम इनरुवा केन्द्रीत मालपोत र नापी सेवा धरानमा विस्तार गर्ने निर्णय गरेको थियो । इनरुवामा आन्दोलन भएपछि १० महिनासम्म निर्णय कार्यान्वयन हुनसकेको थिएन । गएको शुक्रबार मात्रै मालपोतबाट स्रेस्ता र नापीबाट नक्सा धरान ल्याएपनि भवन नहुदा सेवा अन्यौलमा थियो । आइतबार तत्कालको लागि धरान ८ स्थित सभागृहबाट सेवा शुरु गर्ने योजनासहित मालपोत र नापी कार्यालयले सर्वदलीय बैठक राखे पनि सहमति जुटेको थिएन ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे