सिटी सफारीविरुद्ध रिक्सा, टेम्पोको र्याली

धरान । वातावरणमैत्री भनिएको विद्युतीय रिक्सा सिटी सफारीको सेवा शुरु नहुदै टेम्पो र रिक्सा व्यावसायी एवं मजदुरसँग विवाद चर्किएको छ । टेम्पो र रिक्सा मजदुरहरुको विरोधकै कारण आइतबारदेखि प्रारम्भ गर्ने घोषणा गरेपनि धरान सिटी सफारी संघले सेवा दिन सकेन । टेम्पो र रिक्सा व्यावसायी एवं त्यसमा आश्रित मजदुरहरुले आफुहरुलाई विस्थापित गराउन लागेको भन्दै शुक्रबार सिटी सफारीको उद्घाटन एवं र्यालीकै क्रममा विरोध जनाएका थिए ।
टेम्पो र रिक्सा चालक, व्यावासीहरुले आइतबार वृहतरुपमा विरोध र्याली गर्दै सिटी सफारीको सञ्चालनमा रोक लगाउन माग गरेका छन् । र्यालीकै क्रममा उनीहरुले उपमहानगरपालिकामा ज्ञापन पत्रसमेत बुझाए । त्यसक्रममा केहीबेर उपमहागरपालिका अघिको चतरालाइन छाताचोक सडकखण्ड अवरुद्ध भएको थियो । रिक्सा, टेम्पोमा आश्रित व्यावसायी, मजदुरहरुले शुक्रबार नै सिटी सफारी रोकौं अभियान संघर्ष समिति गठन गरिसकेका थिए । ‘धरानमा ०३६ सालदेखि रिक्सा र ४५ सालदेखि टेम्पोले सेवा दिदै आएको छ, यो पेशामा आश्रित व्यावसायी, मजदुरहरुलाई विस्थापित गर्ने गरि छलफल, सहमति नै नगरी सिटी सफारी चलाउने भनेपछि विरोध गरेका हौं’–समितिका सचिव हिमाल श्रेष्ठले भने–‘सिटी सफारी धरान क्षेत्रमा आवश्यक छ कि छैन ? सुरक्षाको दृष्टिले उपयुक्त हो कि होइन भन्ने अध्ययन नै नगरी हचुवाको तालमा शुरु गर्न लागिएको छ ।’
संघर्ष समितिले धरान केही भिरालो र ओरालो क्षेत्र पनि भएकोले त्यस्तो बाटोमा ब्रेक अनियन्त्रित हुन्छ कि हुदैन, ब्रेक भाचिएर दुर्घटना हुने सम्भावना छ, छैन भनेर प्राविधिकबाट पुष्टि गर्न आवश्यक भएको बताएको छ । यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन ०४९ वमोजिम को १ ह वर्गमा टेम्पु दर्ता गरी सञ्चालन गर्न ब्लु बुक, सवारी चालक अनुमति पत्र, जाँच पास, रुट इजाजतको आवश्यक पर्ने भएपनि समान वर्गमा दर्ता हुने सिटी सफारी भने ऐनविपरीत सञ्चालन हुन नहुने समितिको भनाई छ । ‘टेम्पोले मात्रै प्रदुषण पारेको जस्तो कुरा गरेर यसमा आश्रित सयौं मजदुरको परिवारलाई पेटमा लात हान्न खोजिएको छ, यदि त्यसो हो भने टेम्पु, रिक्सा व्यावसायीलाई सुविधासहितको विकल्प पहिलो प्राथमिकता दिएर मजदुर र तिनका आश्रित परिवारको गाँस, बाँस र कपासको सुनिश्चित गरिनुपर्छ’–संघर्ष समितिका संयोजक राम तामाङले भने ।
धरानमा ४ सय ७० वटा टेम्पो र ट्याक्सी सञ्चालनमा छ भने ४ सय २६ वटा रिक्सा सञ्चालनमा रहेको छ । साथै, त्यतिकै संख्यामा चालक एवं मजदुरहरु पनि आश्रित छन् । धरान उपमहानगरका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले रिक्सा, टेम्पु व्यावसायीको ज्ञापन पत्र बुझ्दै दुवै पक्षलाई उपस्थित गराएर छलफल गरेपछि सहमति अनुसार मात्रै अघि बढ्ने बताए । ‘रिक्सा, टेम्पोको प्रतिनिधि र सिटी सफारीको प्रतिनिधिलाई सँगै राखेर छलफल गरी निष्कर्षमा पुगेपछि मात्रै सफारी दर्ताको सिफारिश गछांै’–खतिवडाले भने । उता, सिटी सफारी संघले रिक्सा, टेम्पो व्यावसायीलाई विस्थापित गर्न नआएको दाबी गर्दै आपसी सहमतिमा नै अघि बढ्ने बताउदै आएको छ । यसअघि पनि दुई चरणमा रिक्सा, टेम्पो व्यावसायीसँग छलफल भएको संघले जनाएको छ । ‘टेम्पो, रिक्सा व्यावसायी र चालक संघसँग पटक पटक छलफल गरेका थियौं, हामी उहाँहरुलाई विस्थापित गर्न आएका पनि होइनौं’–अध्यक्ष सुर्दशन श्रेष्ठले भने–‘अझै पनि वार्ता गरेर सहमतिमा नै सेवा सञ्चालनमा ल्याउछौं ।’









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे