जनजाति महिलाहरुलाई श्रृंगार तालिम शुरु
धरान । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले बिहिबारदेखि धरानमा एक महिने श्रृंगार तालिम शुरु भएको छ । राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ सुनसरीको आयोजनामा शुरु भएको तालिममा २६ जना जनजाति महिलाहरु सहभागी छन् ।तालिममा महासंघमा आवद्ध जिल्लामा १३ जातीय संस्थाबाट दुई जनाको दरले २६ महिलाहरु सहभागी भएको आयोजक संस्थाकी अध्यक्ष कल्पना शेर्पाले बताइन् । जिविसको सहयोगमा शुरु भएको तालिम अवधि २० दिनको भनिएपछि एक महिनाको कोर्षअनुसार नै सञ्चालन हुने उनले जानकारी दिइन् । ‘महिला दिदीबहिनीहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने मुख्य उद्देश्य हो, चुलाचौकमा मात्रै सिमित नभई आयमुलक कार्यमा पनि अघि बढौं भनेर कार्यक्रम गरेका हौं’–अध्यक्ष शेर्पाले भनिन् । संस्थाले यसअघि पनि महिलाहरुलाई सुकुटीको अचार, च्याउ खेतीलगायत तालिम दिएर आत्मनिर्भर बनाउने प्रयास गरेको उनले बताइन् ।
तालिम उद्घाटन समारोहका प्रमुख अतिथि एवं आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष खम्बासिंह गुरुङ्गले तालिम लिएपछि त्यतिकै नबसी र्पालर सञ्चालन गरेर आत्मनिर्भर हुन पनि सुझाव दिए । यस्तै, महिला महासंघकी पूर्वअध्यक्ष मिना पुलामीले महिलाले आयमुलक सिप सिकेमा मात्र आर्थिकरुपमा सक्षम हुने र परिवार, समाजमा पनि सशक्तीकारण हुने धारणा राखिन् । स्वागत मन्तव्यको क्रममा आयोजक संस्थाकी सदस्य विमला प्रधानले श्रीमान्को अघि हात पसार्नुपर्ने बाध्यतालाई हटाएर महिलालाई आर्थिकरुपमा सक्षम बनाउने तालिमको उद्देश्य रहेको बताइन् । एक महिने तालिमको प्रशिक्षककोरुपमा कल्पना शेर्पा रहेकी छिन् ।


Comments
Post a Comment