एन्फामा मतभेद टुंग्याएर अघि बढ्न असन्तुष्ट पक्षको आग्रह
धरान । अखिल नेपाल फुटबल संघ(एन्फा)को असन्तुष्ट पक्षले संस्था नेतृत्वविहिन भएको भन्दै मतभेद त्यागेर नयाँ प्रक्रियाबाट अघि बढ्न संस्थापन पक्षसँग आग्रह गरेको छ । एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि एन्फा नेतृत्वविहिन भएको र नेपाली फुटबलको भविष्य नै संकटमा परेको भन्दै असन्तुष्ट पक्ष लचिलोरुपमा प्रस्तुत भएको हो ।
एन्फा द्धितिय उपाध्यक्ष एवं असन्तुष्ट पक्षधर किसोर राईले बिहिबार गृहनगर धरानमा पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षको धारणा सार्वजनिक गरेका हुन् । उनले कार्यबाहक अध्यक्ष श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली फुटबल नै नेतृत्वविहिन अवस्थामा पुगेकोले आआफ्नो हठ त्यागेर दुवै पक्ष जिम्मेवार हुनुपर्ने समय आएको बताए । त्यसक्रममा उनले स्वर्गीय श्रेष्ठसँगै एन्फाबाट हाल अलगिएका अध्यक्ष गणेश थापाको पनि फुटबलमा योगदान रहेको चर्चासमेत गरे । ‘एन्फा कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको असामयिक निधनले म पनि धेरै दुःखी छ, ०४७ सालमा उहाँले नै मलाई थ्री स्टारमा खेल्ने अवसर दिलाउनु भएको थियो । फुटबल विकासमा उहाँको धेरै योगदान छ । गणेश थापाको पनि उतिकै लगानी छ’–उपाध्यक्ष राईले भने–‘यो शोक र दुःखको बेला हो, तर संस्था र नेपाली फुटबललाई अब शुन्यतामा राख्नु हुदैन, नेतृत्वविहिन हुन नदिन दुवै पक्षले आफ्नो मतभेदलाई अब टुंगोमा पुर्याउनै पर्छ ।’

आफुहरुले व्यक्तिगतरुपमा गणेश थापाको नभई उनले एकलरुपमा संस्था चलाउन खोज्ने स्वेच्छाचारी प्रवृत्ति र आर्थिक अपारदर्शीता भएको कारण मात्रै विरोध गरेको बताए । अध्यक्ष थापाले दुई दशक नेपाली फुटबलको नेतृत्व सम्हालेको उल्लेख गर्दै राईले उनीबाट फुटबल माथि उठ्न नसक्ने जिकिर गरे । भ्रष्टचारकै कारण फिफा अध्यक्ष सेप ब्लाटरले राजिनामा दिएको प्रसंग उल्लेख गर्दै उनले विश्वभर नै भ्रष्टाचारलाई समाप्त पार्ने अभियान छेडिएकोले अध्यक्ष थापा पनि अछुतो भने नरहने ठोकुवा गरे । ‘ एकदुई दिनभित्रै फिफाको इथिक्स कमिटिको निर्णय आउछ’–उनले भने । हाल नेपाली फुटबल सबैभन्दा सुस्त र लथालिङ् अवस्थामा पुगेकोले भविष्यप्रति चिन्तित हुनुपरेको उनले बताए । ‘पद होइन, भुमिका ठुलो कुरा हो । अब मतभेद, संघर्षलाई टुंगोमा पुर्याऔं, र सबै एकमत भएर ओरालो लागेको फुटबललाई उभो लगाऔंं’–राईले भने ।
Comments
Post a Comment