खाल्डो नपुर्दा धराप जस्तै बन्यो सडक

धरान । सडक डिभिजन कार्यालय विराटनगरले कोशी राजमार्गको इटहरी–धरान सडकखण्डमा जथाभावी बनेका ‘स्पिड ब्रेकर’ भत्काए पनि तत्काल लेभल नमिलाउदा सडक धराप झै बनेको छ । कार्यालयले एक साताअघि डोजर लगाएर राजमार्गको स्पिड ब्रेकर भत्काउदा सडकमा खाल्डाखुल्डी छ । ती खाल्डालाई कार्यालयले अहिलेसम्म मर्मत गरेर सडकको लेभल मिलाएको छैन ।
टाढाबाट स्पिड ब्रेकर नदेखिदा राजमार्गमा तीब्र गतिमा गुडेको सवारीसाधानले नजिकै आएपछि मात्रै खाल्डो देख्ने हुँदा सडक धराप भैm बनेको चालकहरु बताउछन् । एम्बुलेन्स र विरामी झनै मारमा पर्ने चालकहरुको भनाई छ । ‘सडकमा खाल्डाखुल्डी हुँदा विरामीलाई झन् दुःख हुन्छ । कतिको शरीर क्र्याक भएर अस्पताल लैजादै गरेको हुन्छौं, खाल्डोमा एम्बुलेन्स गल्डाङगुल्डुङ भएर झनै क्र्याक बढ्नसक्छ’–एम्बुलेन्स चालक गोविन्द विसंखेले भने–‘पहिला पो हम्पस् देखिन्थ्यो, र गाडी स्लो गथ्र्यौ, खाल्डो त नजिकै पुगेपछि मात्र देखिन्छ ।’
उनका अनुसार पहिला हम्पस्(स्पिड ब्रेकर) छ भनेर चालकहरुले त्यही अनुसार सावधानी अपनाउने गर्थे । त्यो भत्काएपछि भने त्यहाँ स्पिड ब्रेकर छैन भनेर गाडी स्पिडमा आउदा दुर्घटना हुनसक्ने उनले बताए । ‘धेरै गाडी चल्ने राजमार्गमा खाल्डाखुल्डी राख्नै हुन्न, सम्बन्धित निकायले चाडै पिचिङ गरिदिनुपर्छ’–विसंखेले थपे । कानुनीरुपमा राजमार्गमा सवारी आवागमनलाई अवरोध पुग्ने गरि स्पिड ब्रेकर राख्न पाइदैन । तर, धरान–इटहरी सडक खण्डमा भने जथाभावीरुपमा स्पिड ब्रेकर बनाइएको थियो । गाडीको स्पिड नियन्त्रण गर्न भन्दै स्थानीयले बनाएपनि त्यही स्पिड ब्रेकर कपितय अवस्थामा दुर्घटनाको कारण र सडक भत्कनु एवं आयु कम हुनुमा स्पिड ब्रेकर पनि एक कारण थियो ।
धरान उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठका अनुसार मापदण्डविनाका स्पिड ब्रेकरमा टाढैबाट देखिने गरी पेन्टिङ नहुदा दुर्घटना निम्त्याउने कारण बन्नेगर्छ । तीब्र गतिमा गुडेको गाडी एक्कासी स्पिड ब्रेकर देखेपछि ब्रेक लगाउदा माथिल्लो लेयर घिस्रन्छ र सडक त्यहीबाट भत्कन शुरु हुन्छ । ‘स्पिड ब्रेकरको छेउछाउ हेर्नुभयो भने धेरै भत्किएको देख्नुहुन्छ, यसको कारण त्यही नै हो । क्वालिटी राइडमा असर गर्छ र यात्रुलाई पनि असुविधा हुनपुग्छ’–इञ्जिनियर श्रेष्ठले भने ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक प्रदिप कुमार सिंहले दुर्घटना कम गराउनकै लागि सडक कार्यालयले स्पिड ब्रेकर भत्काए पनि खाल्डो नै छाडेकोले जोखिम कम नभएको बताए । यद्यपी उनले स्पिड ब्रेकर हुँदाको भन्दा दुर्घटनाको जोखिम भने कम रहेको दाबी गरे । ‘मापदण्ड विपरीत बनेको स्पिड ब्रेकर हुदा जस्तो धराप नै त अहिले छैन, तर पनि सडकमा खाल्डो राखिरहनु हुदैन’–सिंहले भने ।
सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख रामचन्द्र राउतले बर्षाको कारण कालोपत्रे गर्न ढिलाई भएको भन्दै स्पिड ब्रेकर भत्काएको खाल्डोमा चाडै लेभल मिलाउने बताए । राजमार्गमा स्पिड ब्रेकर राख्न नपाउने नियमअनुसार सडक विभागले परिपत्र गरेपछि भत्काएको उनको भनाई छ । ‘विभागीय परिपत्र आएपछि भत्काएको हो, कालोपत्रे गरेर तुरुन्तै लेभल मिलाउछौं । अहिले बर्षात भइरहेकोले मात्रै ढिलाइ भएको हो’–प्रमुख राउतले भने ।

शहरी सडकमा जताततै स्पिड ब्रेकर


धरान उपमहानगरपालिका क्षेत्रभित्र निर्माण भएको शहरी सडकमा पनि मापदण्डविरीत जथाभावी स्पिड ब्रेकरहरु बनेका छन् । शहरी सडकमा भने आवश्यकता अनुसार मापदण्ड पुरा गरेर स्पिड ब्रेकर बनाउन सकिन्छ । तर, धरानका सडकमा बनेको स्पिड ब्रेकर बनाउन स्वीकृति नदिइएको उपमहानगरपालिकाका योजना शाखा प्रमुख इञ्जिनियर सुरज श्रेष्ठ बताउछन् । ‘सानो दुर्घटना भयो कि भोलीपल्ट नै स्पिड ब्रेकर बनिसकेको हुन्छ, कानुनीरुपमा कसैलाई पनि स्वीकृत दिइएको छैन’–उनले भने ।
जथाभावी बनेको स्पिड ब्रेकरको धेरै आलोचना हुनथालेपछि करिब ५ बर्षअघि नगर परिषदले मापदण्ड बनाएको थियो भने भत्केको सडक मर्मतसम्भार गर्नुपर्दा स्पिड ब्रेकर हटाएर मात्रै बनाइदिने नीति लिएको थियो । त्यसपछि भने सडक बनाउदा नै मापदण्ड पुरा गरेर स्पिड ब्रेकर बनाउने क्रम बढेको इञ्जिनियर श्रेष्ठले बताए । ‘सडक मर्मत गर्नुपर्दा स्पिड ब्रेकर भत्काए मात्रै नगरपालिकाले बनाइदिने भनेपछि अव्यावहारिक स्पिड ब्रेकरहरु भत्काउन थाल्यो, अचेल नयाँ सडक बन्दा मापदण्डअनुसार कै बन्छ’–उनले भने । उपमहानगरपालिका कार्यालयले स्पिड ब्रेकरको ६ फिट चौडाई र बीचमा ६ इञ्च बढी उठ्न नहुने मापदण्ड बनाएको छ । यस्तै, डेढ सय मिटरको दुरीमा मात्रै बनाउन मिल्ने र टाढैबाट राती पनि देख्न सकिने संकेत राख्नुपर्ने मापदण्ड छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे