सिटी सफारीको उद्घाटन, टेम्पो र रिक्साका मालिक, मजदुरको विरोध
धरान । वातावरण दिवसको अवसर पारेर प्रदुषणरहित विद्युतीय रिक्सा सिटी सफारी शुक्रबार धरान उपमहागरमा शुरुवात भएको छ । शुक्रबार र्याली आयोजना गरेर सफारीको उद्घाटन भएपनि आइतबारदेखि मात्रै सर्वसाधारणलाई सेवा दिने धरान सिटी सफारी संघले जनाएको छ ।
वातावरण मैत्री भनिएको सफारीको उद्घाटन विवादरहित भने हुन सकेन । टेम्पो र रिक्सा व्यावसायी एवं त्यसमा आश्रित मजदुरहरुले आफुहरुलाई विस्थापित गराउन लागेको भन्दै सिटी सफारी सञ्चालनको विरोध जनाएका छन् । टेम्पो, रिक्सा व्यावसायी तथा मजदुरहरुको विरोधकै कारण शुक्रबार धरानको मुख्य बजार क्षेत्र भानुचौक, छाताचोकमा सिटी सफारीको र्याली जान सकेन । विरोध देखिए पनि सम्बन्धित पक्षसँग छलफलमार्फत समाधान गरेर सर्वसाधारणलाई सेवा दिइने संघका अध्यक्ष सुर्दसन श्रेष्ठले बताए । ‘टेम्पो, रिक्सा व्यावसायी र चालक संघसँग पटक पटक छलफल गरेका थियौं, हामी उहाँहरुलाई विस्थापित गर्न आएका पनि होइनौं’–अध्यक्ष श्रेष्ठले भने–‘अझै पनि वार्ता गरेर सहमतिमा नै सेवा सञ्चालनमा ल्याउछौं ।’

सफारी संघले भने सर्वसाधारणलाई सर्वसुलभरुपमा छिटोछरितो यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सफारीको सेवा सञ्चालनमा ल्याएको जनाएको छ । ब्याट्रीबाट चल्ने भएकोले वातावरण प्रदुषण पनि नगर्ने र साउण्ड पोलुसन पनि नहुने संघको दाबी छ । युवा व्यावसायीहरु मिलेर संघसँगै अदिती इन्टरप्राइजेज नामको सिटि सफारीको डिलर पनि धरानमा सञ्चालनमा ल्याएका छन् । दुवैको शुक्रबार नै एक समारोहबीच उपमहानगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले उद्घाटन गरेका थिए । प्रमुख अतिथि रहेका खतिवडाले धरानलाई सफा, सुन्दर बनाउन टेवा पुग्ने अपेक्षा व्यक्त गर्दै रुटबारे रिक्सा र टेम्पो व्यावसायी, मजदुरहरुको असन्तुष्टीलाई समाधान गर्न सुझाव दिए । ‘पुरानो रिक्सा, टेम्पोको ठाउँमा सिटी सफारी नयाँ प्रयोग हुन्छ र यसले सबैलाई फाइदा पनि गर्छ । तर टेम्पो, रिक्साका मजदुरहरुको रोजीरोटीको पनि सवाल भएकोले र रुटबारे विवाद हुनसक्ने भएकोले उहाँहरुसँग छलफल, सहकार्य गरेर मात्रै अघि बढेमा विवाद नहोला’–उनले भने–‘धरानलाई हरित नगरी बनाउन पनि मद्दत गर्नेछ ।’

धरानमा जनघनत्व र भुगोल अनुसार यातायात सेवा पुग्न नसकेको गुनासो बढ्दो छ । बेला बेला सिटि बस सञ्चालन हुनुपर्ने आवाज उठेपनि कार्यान्वयन हुनसकेको छैन । नगरक्षेत्रमा टेम्पो र रिक्सा चलेपनि तिनीहरु निश्चित चोकसम्म मात्रै चल्छन् । टेम्पोमा सिट नभरिएसम्म स्टेण्डबाट नछुट्ने र चर्को आवाज निकाल्ने भएकोले यात्रुहरु मर्कामा परेको गुनासो गर्छन् । सफारीले यी दुवै समस्याबाट यात्रुलाई मुक्ति दिलाउने संघको दाबी छ । सिटि सफारी मोवाइलकोरुपमा गुडिरहने र एक ठाउँमा यात्रु पर्खेर नबस्ने भएकोले सर्वसाधारणले चाडै सेवा पाउने संघको भनाई छ । कुल २ लाख ७० हजार मुल्य रहेको सफारीमा कम्तीमा १२५ एम्पीयरको ब्याट्री र न्युनतम १००० वाटको मोटर रहेको छ ।
Comments
Post a Comment