लाइसेन्स विना नै चल्छ पूर्वमा सिटी सफारी

धरानमा सञ्चालनको तयारीमा रहेको सिटी सफारी ।

धरान । पूर्वमा रिक्साको विकल्पमा भित्रिएको तीन पांग्रे सिटी सफारी यातायात व्यावस्था कार्यालयमा दर्ता भएर सञ्चालनमा आएपनि त्यसका चालकहरुसँग भने लाइसेन्स छैन । सवारी तथा यातायात व्यवस्था ऐन ०४९ वमोजिम दर्ता भएको सवारीसाधान लाइसेन्स विना चालकले चलाउन पाउदैन । तर, पूर्वका मुख्य राजमार्गमै पनि लाइसेन्स विनाका चालकले नियमविपरीत सिटी सफारी चलाइरहेका छन् ।
ट्राफिक, यातायात व्यवस्था कार्यालयलगायत नियमनकारी एवं सरोकारवाला निकाय मौन छ । ती निकाय नीतिगत समस्या भएको भन्दै पन्छिने गरेका छन् । पछिल्लो समय धरानमा शुरु हुन लागेको सिटी सफारी विवादमा तानिए पछि यातायात व्यावसायीहरुले नै लाइसेन्स प्रकरण उठाएका छन् । इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोशी सवारी दर्तामा हालसम्म ६ सय ९९ वटा सिटी सफारी दर्ता भएका छन् । यसबाहेक पूर्वमा मेची अञ्चलमा पनि दर्ता भएर सिटी सफारी गुडिरहेको छ । यातायात व्यवस्था विभागले नीतिगत निर्णय गरेपछि सम्बन्धित नगरपालिकाको सिफारिशमा सिटी सफारी ‘ह’ वर्गको सावरीमा दर्ता हुनेगरेको छ । यो ‘ह’ वर्गमा टेम्पो दर्ता भएका हुन्छन् । चालक अनुमति पत्र विना ती सवारी चलाउन पाइदैन । तर, त्यही वर्गमा दर्ता भएको सिटी सफारी भने चालक अनुमपति पत्र नलिएको चालकहरुले नै चलाइरहेका छन् ।
चालकको लाइसेन्स नहुदा विमा पनि नहुने र भवितव्य दुर्घटना हुदा मृतकले क्षतिपूर्तिसमेत नपाउने भएकोले यो गम्भीर बिषयमा राज्यको सरोकारवाला निकाय मौन बसेको यातायात व्यावसायीहरु नै बताउछन् । ‘टेम्पो सरहको वर्गमा सिटी सफारी दर्ता भएको छ, तर लाइसेन्सविना नै चालकले चलाइरहेको छ । तर, त्यही सरहको टेम्पो लाइसेन्स विना चलाउन पाइदैन’–पूर्वाञ्चल यातायात व्यावसायी संघका अध्यक्ष सरोज श्रेष्ठले भने–‘ऐनविपरीत सिटी सफारी कसरी चल्न पायो ? देखि देखि नियमनकारी निकाय चै चुप मै चुप भएर बसेको छ ।’
अध्यक्ष श्रेष्ठका अनुसार यातायातमा दर्ता भएपछि ब्लु बुक, जाँचपास, रुटपरमिट र चालकको लाइसेन्स अनिवार्य हुनुपर्छ । तर, सफारीको हकमा लागु भएको छैन । यसले निम्त्याउने अझ जटिल समस्या भनेको दुर्घटना हुदाको हो । दुर्घटना भएको समयमा चालकको लाइसेन्स नहुदा विमा कम्पनीबाट क्षतिपूर्ति प्राप्त हुदैन । त्यसबेला कोही यात्रुको मृत्यु भएको वा अंगभंग, घाइते भएको खण्डमा उपचार खर्च, क्षतिपूर्तिलगायत विमा कम्पनीले दिदैन । ‘सिटी सफारी राष्ट्रिय राजमार्गमा नै गुड्छ । बस, ट्रकले नै ठोकाइदेला, त्यतिबेला चालकको लाइसेन्स मात्रै नहुदा विमाबाट घाइते, मृतकले क्षतिपूर्ति पाउदैन । यति गम्भीर बिषयमा राज्यपक्ष किन मौन छ, थाह छैन’–उनले भने ।
यातायात व्यवस्था कार्यालय कोशी सवारी दर्ताका प्रमुख विष्णु पौडेलले टेम्पो सरह ह वर्गमा दर्ता भएपछि चालकले अनिवार्य लाइसेन्स लिएको हुनुपर्ने बताए । धेरैजसोको लाइसेन्स नभएको आफुले सुनेपनि त्यसको चेकजाँच गर्ने निकाय ट्राफिक भएको भन्दै उनी पन्छिए । रुटपरमिट विपरीत गुडेको भएपनि ट्राफिकले नै कारबाही गर्ने अधिकार भएको पौडेलले बताए । पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका एसपी नवराज केसीले सिटी सफारी लाइसेन्स विना नियमविपरीत सञ्चालनमा रहेपनि व्यावहारिकताको दृष्टिले केही छुट दिइएको बताए । ‘कानुनत ः लाइसेन्स विना चल्नै पाउदैन, तर व्यावहारिकतालाई ध्यान दिएर लाइसेन्स हेरेको छैनौं’–उनले भने–‘लाइसेन्स विनाको चालकले दुर्घटना गराउदा विमाबाट मृतकले क्षतिपूर्ति पाउदैन, विमा गर्न पनि त लाइसेन्स नै चाहिन्छ ।’ यातायात व्यावस्था कार्यालय कोशी सवारी चालक अनुमतिपत्र कार्यालय प्रमुख रघुवर शाहले भने सिटी सफारीको चालकलाई लाइसेन्स दिन नीतिगत समस्या रहेको बताए । उनका अनुसार ह वर्गमा दर्ता भएको सवारीलाई सि वर्गको लाइसेन्स दिने व्यवस्था छ । तर, हालसम्म सि वर्गमा टेम्पो र अटो रिक्सा मात्रै उल्लेख छ, त्यहाँ सिटी सफारी पनि थपिएपछि मात्रै लाइसेन्स दिने प्रक्रिया शुरु हुन्छ । ‘सिटी सफारीलाई लाइसेन्स अनिवार्य हुनुपर्छ, लाइसेन्स विना चलाउदा धेरै जटिल समस्याहरु आउछन् । तर, यसको लागि नीतिगतरुपमा नै व्यवस्था हुनुपर्छ’–उनले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे