धरानमा प्रदुषणरहित सिटी सफारी सञ्चालनको तयारी

धरान । भर्खरै दुई गाविस गाभिएर उपमहानगरपालिका बनेको धरानको सबै क्षेत्रका नागरिकलाई यातायातको सुविधा पुर्याउन सिटी सफारी सेवा सञ्चालन तयारी भएको छ । धरानका केही व्यावसायीहरु मिलेर सिटि सफारीको डिलर स्थापना गरेका छन् भने धरान सिटी सफारी व्यावसायी संघ गठन गरेर सेवा सञ्चालनको तयारी गरेका हुन् ।
संघले धरानका विभिन्न ४७ वटा नयाँ रुटको पहिचान गरेर सफारी सञ्चालनको तयारी गरेको जनाएको छ । ब्याट्रीबाट चल्ने वातावरणमैत्री सिटि सफारी सेवा यही शुक्रबारदेखि शुरु हुने संघका अध्यक्ष सुर्दशन श्रेष्ठले बताए । ‘जनताले शुपथ भाडादरमा छिटो छरितो यातायात सेवा पाउनेछन् । ब्याट्रीबाट चल्ने भएकोले वातवारण र साउण्ड पोलुसन पनि हुदैन’–अध्यक्ष श्रेष्ठले भने–‘अहिले जुन जुन स्थान र चोकसम्म यातायातको सेवा छ, त्यसबाहेकको ठाउँमा रुट बनाएर सफारी सञ्चालन गर्नेछौं ।’ धरानलाई वातावरणमैत्री हरित नगरी बनाउन पनि सफारीले मद्दत पुर्याउने उनको भनाई छ ।
चालकसहित पाँच सिट क्षमता भएको सफारीले पहिलो चरणमा भानुचौक केन्द्र बनाएर १५ वटाले सेवा सुचारु गर्नेछ । आवश्यकता अनुसार विस्तारै संख्या र नयाँ रुट थपिदै जानेछ । नगरपालिका, यातायात कार्यालय र संघमा दर्ता भएर सफारी सञ्चालनमा आउनेछ । धरानमा जनघनत्व र रुट अनुसार यातायातको सेवा पुग्न नसकेको गुनासो बढ्दो छ । बेला बेला सिटि बस सञ्चालन हुनुपर्ने आवाज उठेपनि कार्यान्वयन हुनसकेको छैन । नगरक्षेत्रमा टेम्पो र रिक्सा चलेपनि तिनीहरु निश्चित चोकसम्म मात्रै चल्छन् । टेम्पोमा सिट नभरिएसम्म स्टेण्डबाट नछुट्ने भएकोले यात्रुले छिटोछरितो सेवा पाउनसक्दैन । सिटि सफारी सञ्चालन आएपछि भने यो समस्याबाट सर्वसाधारण यात्रुले छुटकारा पाउने सिटी सफारीको डिलर अदिती इन्टरप्राइजेजका सञ्चालकमध्ये एक मनोज भटराईले बताए । ‘घर घरमा सेवा पुग्नुपर्छ भन्ने मान्यता अनुरुप यो सेवा शुरु हुन्छ, धरानमा नयाँ सिमा, भुगोल र चोक थपियो, तर सेवा सुविधा विस्तार नहुदा जनतामा धेरै गुनासा थिए, केही हदसम्म यसले हटाउनेछ’–भटराईले भने ।
व्यावसायीका अनुसार सिटि सफारी मोवाइलकोरुपमा गुडिरहने भएकोले पार्किङस्थल आवश्यक पदैन । अरु जस्तो एक ठाउँमा यात्रु पर्खेर नबस्ने भएकोले सर्वसाधारणले चाडै सेवा पाउनेछ । भाडा पनि रुट अनुसार कम्तीमा १५ देखि ३५ रुपैयासम्म तोकिने संघले जनाएको छ । उपमहानगरबाट ४७ वटा रुटमा एक सय २५ वटा सफारीको अनुमति लिएको अदितीका भटराईले जानकारी दिए । उनका अनुसार वीरगञ्जस्थित ग्रीन इनर्जी ट्रेड लिंक प्रालिको नेपाली उत्पादन र चाइनाको मारुती जेड सफारी सञ्चालनमा आउनेछ । यसको मुल्य २ लाख ७० हजार रहेको छ । सफारीमा कम्तीमा १२५ एम्पीयरको ब्याट्री र न्युनतम १००० वाटको मोटर रहने छ । सफारी खरीद गरेकाहरुलाई चालक पनि उपलब्ध गराउन संघले इच्छुक व्यक्तिलाई तालिम पनि दिएको जनाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे