एम्बुलेन्स सेवामा बेथिती, तोकिएको मापदण्ड र सुविधा छैन
धरान । पूर्वमा डेढ सयको हाराहारीमा एम्बुलेन्स सञ्चालन भएपनि जोखिम अवस्थाका विरामी बोक्ने ‘क र ख श्रेणी ’को एम्बुलेन्स एउटै पनि छैन । ‘ग श्रेणी’ को एम्बुलेन्स मात्रै सञ्चालनमा भएपनि ती सबैमा तोकिएको मापदण्ड पुरा छैन ।
ग श्रेणीको एम्बुलेन्स समान्य विरामीलाई ओसार पसार गर्ने प्रयोजनको लागि मात्रै हो । क र ख श्रेणीको एम्बुलेन्स नभएपछि सिकिस्त एवं जोखिमपुर्ण अवस्थाका विरामीलाई पनि ग श्रेणीकै एम्बुलेन्सले बोक्दै आएको छ । ‘पूर्वमा भएका एम्बुलेन्सहरु सबै ग श्रेणीमा पर्छन्, त्यसमा पनि नीति, कार्यविधिले भनेअनुसारको सुविधा छैन’–रेडक्रस सोसाइटी सुनसरी शाखाका अधिकृत किरण कार्कीले भने–‘कतिपय चालकले त प्राथमिक उपचार पनि लिएका छैनन् । ’
एम्बुलेन्स सेवा सञ्चालन नीतिअनुसार ग श्रेणीको एम्बुलेन्समा फ्रष्टएड बक्स, अक्सिजन सिलिण्डर, फ्लो मिटर र मास्क जडान गरिएको हुनुपर्छ भने आइ.भि.इन्जेक्सन दिने व्यवस्थासँगै स्टेथेस्कोप, बि.पि.अपार्टस्, टर्च लाइट हुनुपर्छ । एम्बुलेन्स चालकले अनिवार्य प्राथमिक उपचार तालिम लिएको हुनुपर्छ । तर, अधिकांश एम्बुलेन्समा यो व्यवस्था छैन । प्रशासन, रेडक्रस, प्रहरीसहितको टोलीले बिहिबार एम्बुलेन्सको अनुगमन गर्दा कतिपयमा तोकिएको मापदण्ड नभेटिएको अनुगमन टोलीले जनाएको छ । टोलीले पहिलो दिन १३ वटा सेवा प्रदायक संस्था र एम्बुलेन्सको अनुगमन गरेको थियो । ती मध्ये १० वटा एम्बुलेन्समा मात्रै अक्सिजन थियो । यस्तै, ६ वटा एम्बुलेन्समा फ्रष्ट एड बक्स थिएन भने २ जना चालकले मात्रै तालिम लिएका थिए । ‘विरामीको अवस्था बिग्रन नदिई अपस्ताल पुर्याउन यी सामग्री र तालिम हुनुपर्छ भनिएको हो । एम्बुलेन्समा यसको व्यवस्था नहुदा आकस्मिक खालका विरामीको ज्यान तलमाथि हुनसक्छ’–कार्कीले भने ।
एम्बुलेन्समा तोकिएको मापदण्ड नहुदा विरामी वा घाइते व्यक्तिले घटनास्थलमा उपचार सेवा पाउदैनन् । अस्पताल पुर्याउदासम्म उनको झन् अवस्था बिग्रन्छ र ज्यानै पनि जानसक्छ । क वर्गको एम्बुलेन्समा एक जना तालिमप्राप्त प्यारामेडिक, एक डाक्टरसहित इसिजी, कार्डिक मनिटर, भेन्टिलेटर, नेबुलाइजर,हेड इमोबिलाइजेशन, रेडियो कम्युनिकेशन सिस्टम, पल्स अक्स मिटरलगायत सुविधा जडान गरिएको हुुनपर्छ । यस्तै, ख श्रेणीको एमबुलेन्समा पनि एक जना प्यारामेडिकसहित प्राथमिक उपचारको सामान,आइभि इनजेक्सन दिने सामान, स्पाइन सपोर्ट, एयर वे, फ्रयाक्चर स्प्लिन्ट, अक्सिजन मास्क, फ्लोमिटरलगायत सेवा हुनुपर्ने प्रावधान छ । क र ख श्रेणीको एम्बुलेन्स चलाउदा भने खर्च धान्नै नसकिने सेवा प्रदायक संघसंस्थाको भनाई छ ।
...............
अस्पताल वरीपरीमात्रै एम्बुलेन्स
पूर्वका अधिकांश एम्बुलेन्सहरु निजी तथा सरकारी ठुला अस्पतालको आसपासमा भाडाका सवारी जस्तै गरि चौबिसै घण्टा रहने गरेको छ । यसले एम्बुलेन्सहरु सेवामुखी नभई नाफामुखी हुदै गएको देखाउछ । नियमनकारी निकायले कडाईका साथ नियम तथा आचारसंहिता पालना गराउन पनि सकेको छैन । ‘जुन ठाउँको लागि सेवा दिन्छौं भनेर भन्सार छुटमा एम्बुलेन्स ल्याएको हो, त्यही जिल्ला, क्षेत्र, वडा वा चोकमा कार्यालय स्थापना गरेर एम्बुलेन्स पनि त्यही राख्नुपर्छ’–रेडक्रस सुनसरी जिल्ला सभापति उमेश थापाले भने–‘तर, एम्बुलेन्समा विकृति छाएको छ, सुनसरीको मात्रै होइन, अन्य टाढाका एम्बुलेन्सहरु पनि धरानको बीपी प्रतिष्ठान वरीपरी पार्किङ्ग गरेर बस्छ ।’बिहिबार अनुगमन गरिएको १३ वटा मध्ये ९ वटा एम्बुलेन्स बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअघि पार्किङ्ग गरेर राखिने गरेको तथ्य खुलेको थियो । यसअघि पनि अनुगमन हुदा एउटै संस्थाको नाममा दुई दर्जन बढी एम्बुलेन्स र शववाहन सञ्चालनमा रहेको भेटिएको थियो । ती मध्ये अधिकांश एम्बुलेन्सहरु ठेक्कामा चलेको पनि भेटिएको थियो । धरानको बीपी प्रतिष्ठानमा सुनसरीबाट मात्रै होइन, झापा, मोरङ, सिरहा, सप्तरीलागयत जिल्लाको एम्बुलेन्सहरु पनि विरामी कुर्दै दिनभरजसो पार्किङ गर्छ । यसले गर्दा ती जिल्लामा ग्रामिण क्षेत्रका विरामीले तत्कालै सेवा पाउदैनन् । ‘अनुगमन पछि बैठकबाट तत्काल सुध्रिन अल्टिमेटम दिन्छौं, छड्के जाँच पनि गछौं । सुधार नभए कारबाही गर्न जिल्ला प्रशासनलाई सिफारिश गछांै’–रेडक्रस सभापति थापाले भने–‘अब कडाईका साथ नियम पालना गराउन क्यालेण्डर नै बनाएर धरान, इटहरी, इनरुवा क्षेत्रमा नियमित अनुगमन गछौं ।’ जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिले अनुगमनको लागि रेडक्रस संयोजक रहेको समितिलाई जिम्मा दिएको छ ।
एम्बुलेन्स सेवा प्रदायक समिति धरानका अध्यक्ष मोहन तिगेलाका अनुसार धरानभित्र २६ वटा मात्रै एम्बुलेन्स भएपनि विभिन्न जिल्लाबाट विरामी लिएर आएपछि तत्काल नफर्कि बीपी प्रतिष्ठानमै विरामी कुरेर बस्ने गरेको बताए । यो विकृत्तिलाई निरुत्साहित गर्न नियम कडाईकासाथ पालना गराउनुपर्ने उनले बताए । जिल्ला एम्बुलेन्स चालक संघका अध्यक्ष रामनारायण मण्डलका अनुसार जिल्लाभर ७२ वटा मात्रै एम्बुलेन्सले सञ्चालन अनुमति पाएको भएपनि २० वटा जति अन्य जिल्लाबाट आएर चलिरहेको छ । ‘जुन ठाउँको लागि ल्याएके हो, त्यही बसेर त्यस क्षेत्रको जनतालाई सेवा दिनुपर्ने हो । यसमा चालकको मात्रै दोष छैन, संघसंस्थाहरुले नै कमाई भएन भनेर पठाउने गरेको पनि छ’–उनले भने ।
Comments
Post a Comment