आवासिय चिकित्सकद्धारा आन्दोलनको घोषणा

धरान । स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको निम्ति आमरण अनसन बसेका डाक्टर गोविन्द केसीसँग सरकारले गत चैतमा गरेको सम्झौता विपरीत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीसँग शुल्क उठाउने तयारी गरेपछि यहाँका आवासिय चिकित्सकहरुले आन्दोलनको घोषणा गरेका छन् ।
प्रतिष्ठानस्थित जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीले शनिबार पत्रकार सम्मेलन गर्दै सम्झौता वमोजिम पुर्ण निःशुल्क हुनुपर्ने स्नातकोत्तर तहमा शुल्क असुल्ने तयारी गरेपछि सम्झौता कार्यान्वयन गराउनको लागि आन्दोलनको घोषणा गर्न बाध्य भएको जनाएको छ । ‘सरकारले गरेको सम्झौता हो, त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो माग हो । सहमति पालना भइदिएको भए यस्तो अवस्थै आउने थिएन’–सोसाइटीका अध्यक्ष डाक्टर सुर्यप्रसाद रिमालले भने । सम्झौता पालना गर्न पटक पटक आग्रह गरेपनि सुनुवाई नभएको उनले बताए । गत चैत १९ गते डाक्टर केसी र सरकारबीच भएको ११ बुँदे सम्झौतामा सरकारी शिक्षण संस्थाहरुमा एमडि, एमएस, एमडिएस, डिएम र एमसिएच तहमा शैक्षिक सत्र २०७२÷०७३ देखि अध्ययन गर्ने विद्यार्थीलाई समावेश गर्ने गरी निःशुल्क गर्ने सम्झौता भएको थियो ।
सम्झौताको बुँद नम्बर ८ मा त्यसको लागि कार्यविधि बनाउने र बजेटको व्यवस्था आगामी आर्थिक बर्षदेखि स्वास्थ्य मन्त्रालयले गर्ने उल्लेख छ । निजी कलेजको सम्बन्धमा भने केदारभक्त माथेमा समितिले सिफारिश गरे वमोजिम हुने भनिएको छ । तर, यो सम्झौताको भावना विपरीत प्रतिष्ठानले स्नातकोत्तर तहमा शुल्क लिने गरी प्रोस्पेक्टस सार्वजनिक गरेपछि आवासिय चिकित्सकहरु आक्रोशित भएका हुन् । ‘अन्र्तराष्ट्रिय मान्यताअनुसार पोष्ट ग्रायजुएटलाई शुल्क लिने गरेको छैन, तर दक्षिण एसियाको भारत र नेपालमा मात्रै शुल्क लिने गरिन्छ । यो त विकृतिकोरुपमा नै बढेको छ’–सोसाइटीका पूर्वअध्यक्ष एवं गोविन्द केसी बचाउन अभियानका संयोजक डाक्टर मधुर बस्नेतले भने–‘यो आन्दोलन कुनै स्वास्थ्य संस्था र त्यहाँका पदाधिकारीविरुद्ध नभई सम्झौता पालना गराउन नसक्ने सरकार विरुद्ध हो ।’
बीपी प्रतिष्ठानका आवासिय चिकित्सकसँगै न्याम्स र आइओएमका आवासिय चिकित्सकहरु पनि सम्झौता कार्यान्वयको लागि आन्दोलित हुने बताइएको छ । उनीहरुले आइतबार स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाउने तथा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेका छन् भने सोमबारदेखि जनचेतना तथा जनजागरण अभियान चलाउने भएका छन् । यस्तै, जेठ ३२ गतेदेखि रिले अनसन बस्ने, असार ७ गतेदेखि बीपी प्रतिष्ठान, न्याम्स र आइओएम पदाधिकारीहरुको कार्यलयमा तालाबन्दी गर्ने र असार १० गतेदेखि बीपी प्रतिष्ठानको परीक्षा कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरेका छन् । बीपीमा जुन २७ तारिखमा पोष्ट ग्रयाजुएटको प्रवेश परीक्षा हुने मिति तोकिएको छ ।
चिकित्सकहरुका अनुसार स्नातकोत्तर अध्ययन गर्नेहरुलाई आवासिय चिकित्सकहरुले नै अस्पतालमा आउने विरामीहरुको उपचार गर्छन् । त्यसवापत उनीहरुले जीवन निर्वाह भत्ता पाउछन् । अस्पताल आवासिय चिकित्सकहरुकै भरमा चल्ने र उनीहरुले विरामी जाच्दै प्राक्टिस(अध्ययन) गर्ने हुनाले अध्ययन शुल्क लिन नहुने मान्यता पनि छ । तर, नेपालमा मेडिकल कलेजहरुले उनीहरुबाट मोटो रकम असुल्दै आइरहेको छ । अन्य निजी कलेजमा २०/२२ लाखमा स्नातकोत्तर पढाई सकिन्छ भने बीपी प्रतिष्ठानमा ४५ लाख रुपैया लाग्ने जुनियर रेजिडेन्टहरु बताउछन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे