बराहक्षेत्रमा पर्यटकीय आर्कषण थपिदै

धरान । धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि ओझेलमा परेको प्राचिन बराहक्षेत्र मन्दिरमा विभिन्न पर्यटकीय आर्कषण एवं सुविधा थपिदै गएको छ । मन्दिरमा तीर्थालु– भक्तजनसँगै घुम्नको लागि पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पर्यटकीय संरचनाहरु थपिएको हो ।
स्थानीयका अनुसार करिब तीन बर्षयता मन्दिर आसपासमा आर्कषण र सुविधाहरु थपिन थालेको हो । आर्कषण थपिएर मन्दिर आसपासको स्वरुप फेरिएपछि तीर्थालुसँगै घुम्न आउने पर्यटकहरुको पनि संख्या बढ्दै गएको छ । स्थानीयबासी र बराहक्षेत्र संरक्षण मञ्चको पहलमा वृहत्तर बराहक्षेत्र विकास समिति, पर्यटन कार्यालय झापालगायतको लगानीमा पर्यटकीय आर्कषणहरु थपिएका हुन् । भक्तजनबाट संकलित रकम पनि मन्दिरमा लगानी गरिएको छ । मन्दिर परिसरमा बराह कुण्ड र यात्री विश्रामस्थल बनाइएको छ । कुण्डमा बराह अवतारले पृथ्वीलाई पातलबाट बोकेर उद्दार गरेको झल्किने सुन्दर प्रतिमा राखिएको छ ।
 बराह कुण्ड परिसरबाट तालजस्तो देखिने सप्तकोशी र पारीपटि उदयपुरको मैनामनी, धनकुटाको छिन्ताङ डाँडा नियाल्न भ्यु प्वान्ट निर्माण गरिएको छ । त्यहाँ तीर्थालु एवं पर्यटकहरुलाई बस्न कुर्सीसमेत राखिएको छ । कुण्ड नजिकै अहिले ३५ मिटर लम्बाई र ८ मिटर चौडाई भएको आर्कषक पार्क पनि निर्माण भइरहेको बराहक्षेत्र संरक्षण मञ्चका सचिव गंगा बहादुर मगरले जानकारी दिए । ‘मेलामा धेरै भीडभाड हुने भएकोले कोका कौशीकी संगमस्थलसम्म पुग्न वैकल्पिक बाटो पनि बनाइदिएका छौं, पहिला मन्दिर अघिबाटै शव लगिन्थ्यो, अब त्यही वैकल्पिक बाटोबाट लगिन्छ’–उनले भने ।
मन्दिरको मुख्य प्रवेशद्धार बृहत्तर बराहक्षेत्र विकास समितिले निर्माण गरिरहेको छ भने गेटबाहिर पर्यटक एवं तीर्थालुलाई सहजताको लागि सोधपुछ(सुचना केन्द्र) भवन निर्माण गरिएको छ । कोका नदीतर्फ झर्ने सिढीको पूर्वपटि विश्रामलय थपिएको छ भने किरात हाङसाम माङखिम(शिवालय) पनि निर्माण भइरहेको सचिव मगरले बताए । तीथालु, भक्तजनले दिएको पैसाबाट बास बस्न धर्मशाला पनि थपिदैछ । सेक्ष ट्राभलिङसम्बद्ध धरानका पर्यटन व्यावसायी बासुदेव वराल घुम्ने उद्देश्यले मात्रै आउने युवा पुस्तालाई पनि आकर्षित गर्न मठमन्दिर आसपासमा सौन्दर्य थप्न जरुरी रहेको बताउछन् । ‘मन्दिरमा आर्कषणको चीज थपिदा तीर्थ गर्न आउने मात्रै होइन, युवा पुस्तालाई पनि लोभ्याउछ र धार्मिक आस्था पनि बढ्छ’–पर्यटनकर्मी वरालले भने–‘यसले बाह्रै महिना तीर्थालु, पर्यटकहरुको चहलपहल बढाउछ, यही बसौं बसौं बनाउछ ।’
मन्दिरका मुलपूजारी दुर्गानाथ भण्डारीका अनुसार दैत्य हिरष्यक्षले पृथ्वी र वेदलाई समुन्द्रमुनि लिएर गएपछि उद्दार गर्न भगवान विष्णुले बराह अवतार लिएर दैत्यको बध गरेका थिए । हिन्दु धर्ममा बराहलाई विष्णुको तेस्रो अवतार मानिन्छ । बराहलाई कोका र कौशीकीको संगमस्थलमा नै शान्ति मिलेकोले यही बास गरेको विश्वास गरिन्छ । बराहको प्राचीत मन्दिर रहेको स्थान धरानबाट करिब २४ किलोमिटर पश्चिम उत्तर र चतराबाट झण्डै ८ किलोमिटर उत्तरमा पर्छ । बराहक्षेत्रमा कार्तिक शुक्ल एकादशीदेखि पुर्णिमासम्म ठुलो मेला लाग्छ । यो मेला सत्य युगको राजाको पालादेखि लाग्दै आएकोले राजर्षि एवं पौराणिक मेला पनि भनिन्छ । यो बेला भक्तजनहरुको घुइचो लाग्छ । यस्तै, माघे संक्रान्ति र पौषे औशीमा पनि यहाँ भक्तजनहरु आउछन् भने साउन महिनामा हरेक आइतबार, बैशाख शुक्ल द्धावदशी, वाला चर्तुदशी र रामनवमी पनि भक्तजनहरुको भीड लाग्ने पुजारी भण्डारीले बताए ।
.........................

                                                   बाटोको असुविधा


मन्दिर आसपासको स्वरुप फेरिदै गएपनि सडक असुविधाले पर्यटकलाई त्यहाँसम्म पुग्न भने निकै हैरानी खेप्नुपर्छ । झन् बर्खायाम लागेपछि पहिरोले बाटो पुरिदा यातायात नै अवरुद्ध हुन्छ । ‘यहाँको ठुलो समस्या भनेकै चतरादेखि मन्दिरसम्म आउने बाटो हो, पक्की र व्यवस्थित बनाइदिने हो भने पर्यटक, तीर्थालुलाई धेरै सहज हुन्थ्यो र यो ठाउँको कायापलट हुनेथियो’–मुल पूजारी दुर्गानाथ भण्डारीले भने ।
उनका अनुसार परार साल पहिरोले ४ दिन बाटो बन्द भएको थियो भने पोहोर १५ दिन बाटो थुनिएको थियो । चतरा बजारदेखिको झण्डै ८ किलोमिटर बाटो दशकौंदेखि कच्ची छ । सुरक्षित र पक्की सडक बनाइदिने हो भने मन्दिर दर्शन गर्न सहज हुने र दिनहु हजारौं तीथार्लु, पर्यटकहरु आउने स्थानीयको भनाई छ । यहाँ नेपालका साथै भारत, भुटानबाटसमेत भक्तजनहरु आउने गर्छन् । सबैको एउटै गुनासो छ, बाटोको असुविधा । त्यसो त धरानको सर्दु खोलाबाटै कच्ची बाटोको कहर शुरु हुन्छ ।

                                     बर्खामा मन्दिर कटानको जोखिम

सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र मन्दिर बर्षेनी कटानको जोखिममा छ । मन्दिरलाई कटानबाट जोगाउन स्थायी एवं दीर्घकालीन खालको कुनै कदम चालिएको छैन । जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयबाट पाएको तारजालीले मात्रै कटान रोकथामको प्रयास भइरहेको बराहक्षेत्र संरक्षण मञ्चका सचिव गंगा मगरले बताए । ‘कोशी नेपालकै ठुलोमध्येको नदी हो, यसले हरेक बर्ष कटान गर्दैछ, मन्दिर एकदमै जोखिममा छ’–उनले भने–‘सरकारले नै स्थायीखालको कदम चाल्नुपर्छ, नत्र मन्दिर जोगाउन गाह्रो पर्छ ।’






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे