प्राप्चामा जस्तापाताले ल्याएको खुशी(फोटोफिचर)

उनलाई यो खुशी धरानबाट गएका युवाहरुको टिमले दिलाएको थियो । राज्यले विस्थापित परिवारलाई जस्ता पाता पुर्याउन नसकेको बेला धराने युवाहरुको टिम सेभ नेपालले प्रत्येक परिवारलाई एक बण्डल(९ पाता) जस्ता लिएर गएको थियो । यो टिमले केउरेनीका ४५ र घले डाँडा मुनिका १० मगर परिवारलाई जस्ता वितरण गर्यो । धरानका युवा साथीभाई र विदेशमा रहेकाहरुबाट सहयोग जुटाएर विस्थापित परिवारलाई जस्तापाता सहयोग गरेको टिम लिडर राजेश लिम्बूले बताए । ‘भुकम्प र पहिरोले विस्थापित परिवारलाई जस्तापाताको खाँचो छ भन्ने सुन्यौं, यहाँ आएर हेर्दा साँच्चै उहाँहरु समस्यामा पर्नुभएको रहेछ’–उनले भने ।

चित्रा र सेउलाको भरमा विस्थापित

यता त आए तर घरखेत केही थिएन । कहाँ, कसरी बस्ने ? यो चिन्ताले निक्कै पिरोल्यो । अन्त्यमा स्थानीयको जग्गा ठेक्कामा लिएर लिलामायाको परिवारले टाउको लुकाउने अस्थायी टहरो बनाए । जग्गावालासँग कमाएर अन्न दिने, नभए मासिक ३ हजार पैसा बुझाउने सर्त रहेको उनले बताइन् । जग्गाको व्यावस्था भएपछि चित्रा, सेउला हालेर उनीहरुले बस्ने टहरा तयार गरे । ‘घरै रहेन, अर्काको जग्गामा आयौं । रात कटाउनलाई भएपनि चित्रा र सेउलाले टहरो बनायौं’–७२ बर्षीय लिलामायाले भनिन् ।
लिलामाया त एक प्रतिनिधि पात्र मात्रै हुन् । प्राप्चा वडा ८ र ९ बाट विस्थापित ४५ घरपरिवारमध्ये अधिकांशले बाँसको चोयाबाट बनेको चित्रा र सेउला हालेर टहरो बनाएका छन् । महाभुकम्प र पहिरोको डरले विस्थापित भएको निक्कै दिनपछि राज्यकोतर्फबाट एउटा त्रिपाल त पाए, तर त्यसले बर्षासँगै आएको हावाहुरी थेग्नै नसकेको पीडितहरुको गुनासो छ । राज्यले विस्थापितहरुलाई बस्ने ठाउँको व्यवस्थासहित जस्तापाता वितरण गर्ने भनेको सुनेपति यहाँका पीडितहरुले सरकारी राहत पर्खन सकेनन् । अधिकांशले सुरक्षित ठाउँमा गएर जग्गा कमाइदिने, अन्न दिने वा पैसा तिर्ने भन्दै भाडामा लिएर टहरा बनाइसकेका छन् । ‘राज्यले एउटा पाल र कम्मल त दियो, तर त्यसले कहाँ पुग्छ ? हावाहुरी, पानी पर्दा विजोग भयो’–पुष्पराज मंग्रातीले भने–‘जस्तापाता पनि दिने रे, तर कहिले हो ? बर्खा लागिसक्यो, त्यसैले पर्खनै सकेनौं ।’
केउरनी बस्तीका केही परिवार मात्रै बेसीमा भएको आफ्नै जग्गामा सरेका छन् । केही हुनेखानेले मात्रै आफ्नै पैसामा जस्ता ल्याएर सुरक्षित टहरा बनाएका छन् । अधिकांश विपन्न र दलित परिवारको भने उठिबास छ । उनीहरु अर्कै सुरक्षित वडामा कमाएर अन्न दिने वा पैसा दिने सर्तमा जग्गा लिएर टहरो बनाएका छन् । ‘एक महिना बितिसक्यो, राज्यबाट त्रिपाल, कम्मल र एक बोरा चामल मात्रै पायौं । मैले पनि १२ सय रुपैया दिने र काम सघाउने भनेर यो जग्गामा टहरो बनाएको हुँ’–प्राप्चा ९ बाट विस्थापित प्रेम मंग्रातीले भने–‘जसरी पनि बाच्नु त पर्यो नि ।’
केउरेनीबाट विस्थापित ४५ घरमध्ये २० दलित परिवारलाई प्रशासनले प्राप्चा ३ स्थित देउरालीमा अस्थायी शिविर बनाएर राख्ने तयारी गरेको छ । तर, त्यहाँ पनि जस्तापाता अभावले टहरो पुर्ण हुन सकेको छैन । घले डाँडाको पहिरोको खतराबाट विस्थापित १० मगर परिवार पनि चर्किएको घर छोडेर विस्थापित छन् । उनीहरुले पनि चित्राको टहरा बनाएर बसेका छन् । ‘हाम्रो घर २९ गतेको भुकम्पले चिरा चिरा पार्यो, घले डाँडा पनि खस्न लागेकोले घरबार छोडेर हिड्यौं’–चित्राले बारेको टहराअघि उनले भनिन्–‘अब बर्खामा त्रिपाल ओढेर कसरी बस्नु ?’
Comments
Post a Comment