मालपोत र नापी सारिएपनि कार्यालय राख्ने घर भेटिएन


धरान । सुनसरी सदरमुकाम इनरुवामा केन्द्रीत मालपोत र नापी कार्यालयको सेवा उत्तरी भेगमा विस्तार गर्न सरकारले गरेको निर्णय १० महिना पछि मात्रै कार्यान्वयनमा आएको छ । प्रशासनले शुक्रबार राती इनरुवास्थित मालपोत र नापी कार्यालयबाट आवश्यक स्रेस्ता र जग्गाको नक्सा धरान ल्याएपछि सरकारको निर्णय कार्यान्वयनमा आएको हो ।
सरकारले जिल्लाको उत्तरी क्षेत्रका जनतालाई सहजरुपमा सेवा पुर्याउने उद्देश्यले ०७१ असार ४ गते धरानबाट मालपोत र नापीको सेवा शुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि गत कार्तिक महिनादेखि दरबन्दी सृर्जना गरेर सरकारले कर्मचारी खटाइसके पनि इनरुवामा विरोध भएपछि कार्यान्वयनमा आउन सकेको थिएन । आवश्यक स्रेस्ता र नक्सा धरान आएपनि सेवा सुचारु गर्न उपयुक्त भवन एवं घर भाडा नपाएपछि दुवै कार्यालय अन्यौलमा छ । तथापी, जनतालाई सेवा दिन तत्कालको लागि धरान ८ स्थित सभागृहबाटै भएपनि सेवा सञ्चालन गर्ने सोच बनाएको मालपोत प्रमुख उपसचिव श्रवणकुमार पोख्रेलले बताए । यसबारेमा उपमहानगरपालिका र राजनीतिक दलहरुसँग आइतबार छलफल हुने उनले खुलाए ।
‘घरभाडाको लागि सुचना गरेका थियौं, प्रस्ताव आएअनुसार हेर्न पनि गयौं, तर कुनै पनि सेवा सञ्चालनको दृष्टिले उपयुक्त भएन’–पोख्रेलले भने–‘अब फेरि घर भाडामा लिने प्रशासनिक कार्यविधि पुरा गर्दा समय लाग्छ, त्यतिबेलासम्म सेवा रोकिराख्नु त राम्रो हुदैन, त्यसैले तत्कालको लागि सभागृहबाटै भएपनि सेवा सुचारु गर्ने कि भन्ने सोच छ । यसबारे उपमहानगरपालिका र दलहरुसँग छलफल गछौं ।’ सहमति भयो भने सोमबारदेखि सभागृहस्थलबाट सेवा शुरु हुनेछ । उनका अनुसार धरान १६ स्थित कृर्षि विकास बैंकको भवनमा मालपोत र नापी दुवैको कार्यालय राख्न उपयुक्त ठाउँ भएपनि प्राविधिक कारणले अन्तिम समयमा बैंकसँग सम्झौता हुन नपाएको बताए । त्यस भवनमा हाल सुनसरी टेक्निकल कलेजको होस्टल सञ्चालनमा रहेको छ । कलेज र बैंकबीच असारमा मात्रै सम्झौता सकिन्छ । यसअघि बैशाख ३ गते धरान उपमहानगरपालिकामा मालपोत र नापीको सम्पर्क कार्यालय स्थापना गरिएपनि सेवा सञ्चालन भएको थिएन ।
सरकारले हाल धरान उपमहानगरपालिका(तत्कालीन पाँचकन्या र विष्णुपादुका गाविस), बराहक्षेत्र गाविस र हाँसपोशा गाविस क्षेत्रलाईसमेत धरानबाटै सेवा दिने निर्णय गरेको थियो । सरकारको निर्णय वमोजिम तत्कालीन हासपोशा गाविस क्षेत्रलाई इनरुवाबाटै सेवा दिने सर्वदलीय एवं सर्वपक्षीय निर्णय भएर सिफारिश गरेपछि मात्रै धरानमा मालपोतको स्रेस्ता अभिलेख र नापीबाट नक्सा ल्याउन सहज बनेको हो । ‘एक साताअघि सर्वदलीय बैठक बसेको थियो, त्यसै वैठकको सहमतिअनुसार शुक्रबार आवश्यक डकुमेन्ट धरान पठाइएको हो’–सुनसरीको प्रजिअ रविराज पन्थले भने ।
उत्तरी क्षेत्रका जनता मालपोत र नापीको सेवा लिन करिब ४५ किलोमिटर टाढाको इनरुवा धाउनुपर्ने बाध्यता थियो भने ती कार्यालयमा सेवाग्राहीको पनि अत्यधिक चाप थियो । सेवा विस्तार भएपछि भने उत्तरी क्षेत्रका जनतालाई धेरै राहत पुग्नेछ भने इनरुवामा २० प्रतिशत चाप कम हुने मालपोत प्रमुख पोख्रेलले बताए । उनका अनुसार हासपोशाको सेवासमेत धरानबाटै शुरु हुन पाएको भए इनरुवामा ३० प्रतिशत कामको चाप घट्नेछ । सरकारले धरानमा मालपोत कार्यालयको लागि एक उपसचिव, दुई शाखा अधिकृतसहित २१ जना कर्मचारीको दरबन्दी सृर्जना गरेर खटाएको छ भने नापीमा अधिकृतसहित १५ जना खटाएको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे