दृष्टिविहिन विद्यार्थी सतप्रतिशत प्रथम श्रेणी


एसएसली परीक्षा सकेपछि विद्यालयबाट विदाई भएर घर जानुअघि प्रअ केशरी थापासँग सामुहिक तस्बिर खिचाउदै दृष्टिविहिन विद्यार्थीहरु ।
धरान । धरान १५ स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयबाट गत बर्ष एसएलसी परीक्षा दिएका सतप्रतिशत दृष्टिविहिन विद्यार्थीहरु प्रथम श्रेणीमा उर्तीण भएका छन् । गएको शुक्रबार सार्वजनिक नजिता अनुसार विद्यालयबाट परीक्षा दिएका ९ जनै विद्यार्थीहरु प्रथम श्रेणीमा उतीर्ण भएका हुन् ।
उक्त विद्यालयबाट तीन छात्र र ६ जना छात्राले एसएलसी परीक्षा दिएका थिए । विद्यालय प्रशासनका अनुसार परीक्षार्थीमध्ये सोनमती गाढा गाविस ५, सिराहाका रमेशकुमार शाहले ७७.१२ प्रतिशत अंक ल्याएर विद्यालय टप गरेका छन् भने खुदुनाबारी ३ झापाकी सुजता लिम्बूले ७१.३७ प्रतिशत ल्याएकी छिन् । यस्तै, पाँचथरीकी मुना भटराईले ६८.६२ प्रतिशत, ओखलढुंगाकी कविता श्रेष्ठले ६८.६२ प्रतिशत, ताप्लेजुङका सुभाष लिम्बूले ६८ प्रतिशत, भादगाउ सुनसरीका कञ्चनकुमारी चौधरीले ६७.१२ प्रतिशत, इलामकी रीता सुब्बाले ६५.३७ प्रतिशत, मध्यहर्षही सुनसरीकी शोभा कुमारी मेहताले ६७.६२ प्रतिशत र इनरुवा नगरपालिका ३ सुनसरीका जयनारायण ठाकुरले ६६.६२ प्रतिशत ल्याएर पास भएका छन् ।
परीक्षा नजिताले यतिबेला विद्यालय परिवार, विद्यार्थी र तिनका अभिभावकमा खुशीयाली छाएको छ । ‘आशा गरेअनुसार नै फष्ट डिभिजनमा पास भए, आमा बुबा सबै खुशी हुनुभएको छ । म पनि धेरै खुशी छुँ’–जयनारायणले ठाकुरले मोवाइल सम्पर्कमा भने । भविष्यमा उनी धरानमा बसेर अंग्रेजी बिषय लिएर उच्चशिक्षा अध्ययन गर्न चाहन्छन् । जयका बुबा गणेशप्रसाद ठाकुर छोराले नाम राखेको भन्दै गर्व गर्छन् । ‘छोरा फष्ट डिभिजनमा पास भएछ, हामी धेरै खुशी छौं’–उनले बाल्यकाल सम्भ्झदै भने–‘चार महिनाको हुदा आँखा देख्न छोड्यो, बच्छ कि बच्दैन भन्ने थियो, तर अहिले यही छोराले धेरै खुशी दिलायो ।’
विद्यालयकी प्रअ केशरी थापाले सतप्रतिशत विद्यार्थी प्रथम श्रेणमीमा उर्तीण भएपनि ब्रेल लिपीमा परीक्षा दिन नपाउदा डिस्टिङ्सन अंक ल्याउनबाट भने बञ्चित हुनुपरेको बताइन् । ‘स्कुल टप गरेको विद्यार्थील रमेशले जहिल्यै स्कुलको परीक्षामा ८५ भन्दा बढी अंक ल्याउथ्यो, उसले डिस्टिङसन ल्याउनुपर्ने हो’–प्रअ थापाले भनिन्–‘सहयोगीको भरमा परीक्षा दिनुपर्ने व्यवस्थाले दृष्टिविहिन विद्यार्थीहरु मारमा पर्दैआएका छन्, उनीहरुले ब्रेल लिपीमा आफै परीक्षा दिनपाउने हो भने डिस्टिङ्सन ल्याउन सक्छन् ।’ एसएलसी परीक्षामा दृष्टिविहिन विद्यार्थीहरुले सहयोगीको भरमा परीक्षा दिनुपर्छ । सहयोगीले प्रश्न पढीदिने र दृष्टिविहिन विद्यार्थीले त्यसको उत्तर भनेपछि सहयोगीले लेखिदिनुपर्छ । सहयोगी र परीक्षार्थीबीच राम्रो समन्वयन नभइदिदा समस्या हुने गरेको प्रअ थापा बताउछिन् । यो विद्यालयले ०६९ सालदेखि एसएसली परीक्षामा विद्यार्थीहरु सहभागी गराउन थालेको हो । हरेक बर्ष नै शतप्रतिशत विद्यार्थी उतीर्ण हुदै आएका छन् । पहिलो बर्ष १० जनाले परीक्षा दिएकोमा ९ जना प्रथम र एक जना दोस्रो श्रेणीमा उर्तीण गरेका थिए भने दोस्रो बर्ष १२ जनाले परीक्षा दिएकोमा १० जना प्रथम श्रेणी र २ जनाले दोस्रो श्रेणीमा उतीर्ण भएका थिए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे