भागवण्डामा वडा नागरिक मञ्च गठन हुदै

कांग्रेस र एमालेले गोप्य बैठक बसेर स्थानीयलाई वाइपास गरी मञ्च गठन गरेको भन्दै वडा नम्बर २ का स्थानीयबासी धरानका कार्यकारी अधिकृतसँग समिति वदरको माग गर्दै ।
धरान । स्थानीय निकायमा जनप्रतिनिधि नभएको अवस्थामा वार्डको सर्वाङ्गीण विकासमा नागरिकको प्रतिनिधित्व गराउने उद्देश्य रहेको वडा नागरिक मञ्च राजनीतिक भागवण्डाको आधारमा धमाधम गठन भइरहेको छ । धरान उपमहानगरपालिकाको विभिन्न वडामा राजनीतिक भागवण्डाको आधारमा मञ्च गठन भइसकेको छ भने केही वडामा दलहरुबीच भागवण्डा नमिल्दा गठन हुन सकेको छैन । केही वडामा भने कार्यविधि र उद्देश्य विपरीत मञ्च गठनमा राजनीतिक हस्तक्षेप भएको भन्दै स्थानीयले विरोध पनि जनाएका छन् ।
मञ्चको कार्यविधिमा राजनीतिक चरित्रको संघसंस्था एवं व्यक्ति सदस्य हुने परिकल्पना गरेको छैन । तर, धरानमा कांग्रेस, एमाले, एमाओवादीलगायत साना दलहरुबीच कोटा नै निर्धारण गरेर भागवण्डामा गठन भइरहेको मञ्च गठन भइरहेको असन्तुष्टहरुको भनाई छ । पछिल्लो समय वडा २ मा गठन भएको भनिएको समितिविरुद्ध उपमहानगरपालिकामा निर्णय वदर गर्न ७१ जना स्थानीयले निवेदन दिएपछि राजनीतिक हस्तक्षेप र भागवण्डाको विवाद सतहमा आएको छ । वडा १४ मा चार पटक भेला भएर पनि दलहरुबीच विवाद भएपछि गठन हुन सकेको छैन भने वडा १२ मा गठन भएर पनि विवादमुक्त हुन सकेन । वडा ५ मा एघार जनाको मात्रै समिति बनेको छ ।
स्थानीयका अनुसार बैशाख तेस्रो साता पहिलो भेला हुँदा कांग्रेस र एमालेबीच सदस्य राख्ने बिषयमा विवाद भएपछि गठन हुन सकेन । तर, जेठ २ गतेको भेलामा कांग्रेस र एमाले मिलेर तयार गरेको लिष्ट पढेर सुनाइएको थियो र विरोध हुदा हुदै तिनै नामलाई मञ्च गठन भयो भन्दै उपमहानगरपालिकामा बुझाइएको छ । ‘पहिलो भेलामा विवाद भएपछि कांग्रेस र एमालेका नेताहरु गोप्य बैठक बसेर भागवण्डा गरेर लिष्ट बनाछन,् र दोस्रो भेलामा छलफल नै नगरी एकैचोटी लिष्ट झिकेर नाम पढ्न थाले’–प्राध्यापकसमेत रहेका वडा २ का बासिन्दा विशाल श्रेष्ठले भने–‘दलका दुई चार जना बन्द कोठामा बसेर लिष्ट बनाउने हो भने किन यत्रो भेला गराइरहनु पर्यो ?’
उनका अनुसार मञ्च गठनको कार्यविधिमा बहुमतको आधारमा नभई सर्वसम्मत गठन हुनुपर्ने उल्लेख छ । साथै, राजनीतिक दल, संगठनमा आवद्ध नभई कस्ता व्यक्ति सदस्य रहने भन्ने प्रष्ट उल्लेख छ । तर, मञ्च गठन अति राजनीतिकरण भएर राजनीतिक दलका प्रतिनिधिहरु हावी भएके उनले बताए । ‘राजनीतिक व्यक्ति हुनुहुदैन भन्ने स्पष्टै छ, वडाका सबै तह, तप्काको प्रतिनिधि हुनुपर्छ तर दलहरु मिलेर कोटा तोकेका छन् र आफ्नो मान्छे मात्रै राखेका छन्’–प्राध्यापक श्रेष्ठले थपे–‘राजीतिक हस्तक्षेपले गर्दा एउटै वडाका दाजुभाईबीच गुटबन्दी र मुठभेठको अवस्था सृर्जना भइसक्यो ।’ कार्यविधि र प्रक्रियाअनुरुप मञ्च गठन नहुदा नागरिकको अधिकार कुण्ठित भइरहेको मञ्च गठनप्रति असन्तुष्ट रहेकी विष्णु खनालले बताइन् । ‘भोली बजेट आउछ र त्यतिबेला भागवण्डामा खान पाइन्छ भनेर दलहरु यतिसाह्रो लागेको हो, मञ्च गठन प्रक्रिया र उद्देश्य जे छ, त्यही अनुरुप हुनुपर्छ । स्वतन्त्र नागरिकले विकास, निर्माणमा सहभागी हुनै नपाउने ?’–उनले भनिन् ।
सामाजिक परिचालन कार्यक्रम लागु भएका नगरपालिकाका वडाहरुमा कम्तीमा ३३ प्रतिशत महिला सम्मिलित वडा नागरिक मञ्च गठन हुने भनिएको छ । तीन जना पदेन सदस्य सहित जम्मा २७ सदस्यीय समिति हुनेछ भने मञ्चको कार्यलाई नियमितरुपमा सहजीकरण गर्न, निर्णय कार्यान्वयन गर्न पाँच सदस्यीय व्यवस्थापन समिति गठन हुने व्यवस्था छ । आफ्नो वडाभित्र सञ्चालन भएका विकास निर्माण सम्बन्धी कामहरुको नागरिक निगरानीकर्ताकोरुमपा काम गर्नुका साथै सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, संयुक्त अनुगमनजस्ता कामहरुमा क्रियाशिल रहने जस्ता मञ्चको काम, कर्तव्य र जिम्मेवारी तोकिएको छ । कांग्रेस नगर सभापति किसोर राई मञ्च गठनमा सिधै राजनीतिक हस्तक्षेप नभए पनि लबिङ भने भइरहेको स्वीकार गर्छन् । ‘सहमतिमा नै गठन गर्नुपर्छ भन्ने मान्यता हो तर राम्रो उपस्थिति देखाउने होडबाजीले कतिपय ठाउँमा समस्या भएकै हो’–उनले भने–‘कार्यविधिमा सर्वसम्मत हुनुपर्छ र राजनीतिक हुनुहुदैन भन्ने छ, तर भित्रभित्रै लविङ भइरहेकै हुन्छ ।’
उपमहानगरका कार्यकारी अधिकृत टिकादत्त राईले केही वडामा राजनीतिक भागवण्डा नमिलेर गठनमा समस्या भएको स्वीकार गर्दै राजनीतिलाई पुरै वेवास्ता गर्न सक्ने अवस्था नभएको बताउछन् । ‘वार्डको सर्वाङगीण विकासमा सक्रिय, समाजसेवी नागरिकको प्रतिनिधित्व होस भन्ने परिकल्पना हो, तर अहिलेको अवस्थामा राजनीति विना कुनै काम सम्भव नै छैन । त्यसैले दलहरुलाई मिल्नुस् र सहमतिमै आउनुस भनिसकेको छुँ’–उनले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे