धान दिवसको अवसरमा पानवारीमा भव्यरुपमा रोपाई महोत्सव(फोटोफिचर)


धरान । १२ औं राष्ट्रिय धान दिवसको अवसरमा मंगलबार धरान २३ स्थित पानवारीमा भव्यरुपमा रोपाई महोत्सव सम्पन्न भएको छ । पानवारीस्थित सहभागी कृर्षि सहकारी संस्थाद्धारा आयोजित महोत्सवमा स्थानीयमात्रै होइन, धरान बजार क्षेत्रबाट पनि उल्लेख्य सहभागीता रहेको थियो । साविकको पाँचकन्या गाविस गत बर्ष धरानमा गाभिएर उपमहानगरपालिका बनेपछि धरानमा रोपाई महोत्सव भएको यो नै पहिलो हो ।
महोत्सवमा सहभागी हुन धरान बजार क्षेत्रका ४ वटा विद्यालयका विद्यार्थी, राजनीतिक दलका नेता एवं कार्यकर्ता, कृर्षि सहकारी संस्था एवं सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उत्साहजनक सहभागीता थियो । पञ्चे बाजासहित आयोजित रोपाईमा हिलो छ्यापाछ्यापसँगै सहभागीहरु धान रोपे, खेतमै नाचगान गरेर रमाए । उहिल्यै गाउँघरमा धेरै खेत हुनेहरुको यस्तै सामुहिक रोपाई हुने गथ्र्यो । यो प्रचलनलाई वेठी लगाउने भनिन्छ । अचेल वेठीको चलन हराउदै गएको छ ।
वातावरणमैत्री कृर्षि व्यावसाय, हाम्रो लक्ष्य हाम्रो चाहना, हाम्रो सँस्कृतिको जगेर्ना, कृर्षि पर्यटन प्रर्वद्धन, धरानको सम्भावना भन्ने नारा दिएर आयोजित रोपाई महोत्सव सँस्कृति संरक्षणसँगै धरानमा कृर्षि पर्यटनको सम्भावना खोजीगर्ने उद्देश्यले आयोजना गरेको संस्थाका अध्यक्ष ईश्वर लामिछानेले बताए । ‘उहिल्यै गाउँघरमा रोपाई हुदा वेठी लगाउने चलन थियो । अहिले हराईसकेको छ, रोपाई महोत्सवले त्यो सँस्कृति जोगाउन पनि मद्दत गर्छ’–अध्यक्ष लामिछानेले भने–‘आज धरान बजारबाट २ सय बढी मानिसहरु आउनु भएको छ, ४ वटा विद्यालयका विद्यार्थीहरु पनि सहभागी भए, यसले कृर्षि पर्यटनको पनि सम्भावना छ है भन्ने देखाउन खोजेका हौं ।’
प्रमुख अतिथि बनाइए पनि धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई रोपाई महोत्सवमा ढिला गरी आइपुगे । त्यतिबेलासम्म औपचारिक कार्यक्रम सकिएर रोपाहाहरुले आधा मेलो सिध्याइसकेका थिए । कार्यकारी अधिकृत राईसँगै सामाजिक शाखा अधिकृत सुनिल नेपाल, सुचना शाखा अधिकृत भक्तिराज शर्मा, हेमा थलङलगायत कर्मचारी नेपाल सरकारको औपचारिक पोशाकमै मंगलबार मध्याह्न रोपाईस्थलमा पुगेका थिए । जसै उनीहरुको पाइला खेतमा पर्यो, धान रोप्न ब्यस्त रोपाहाहरुले हिलो छ्पाप्न थालिहाले । एकछिन अघि सुकिला पोशाकमा झुल्किएका उपमहानगरका कर्मचारीहरु हिलाम्य भए । उनीहरुलाई चिन्न पनि गाह्रो भइसकेको थियो ।
कार्यकारी अधिकृत राईले तीनदशकपछि हिलोमा टेक्न पाएको भन्दै रोपाई महोत्सव जिन्दगीको रमाइलो क्षण भएको बताए । असार १५ दही चिउरा खाने चलन मात्रै नभएर रोपाई एवं वेठी सँस्कृति नयाँ पुस्तालाई हस्तान्तरणको माध्यम पनि भएको उनले बताए । कृर्षि योग्य जमिन बचाउन उपमहानगर सचेत रहेको भन्दै उनले स्थानीयस्तरबाट पनि पहल हुन आवश्यक रहेको औल्याए । साविक पाँचकन्याका पूर्व गाविस अध्यक्ष रमेश बस्नेतले कृर्षिको सम्भावित ठाउँहरुलाई विना व्यवस्थापन प्लटिङ्ग गर्ने र अन्य प्रयोजनमा प्रयोग गर्ने कार्यलाई रोक्न आवश्यक रहेको बताए । जिल्ला सहकारी संघका सचिव नरेशकुमार इवारमले सहकारीबाट मात्रै कृर्षि र आर्थिक क्रान्ति हुनसम्भव रहेको बताए ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे