गीतको टाइटलबाट प्रभावित पुरानो डुंगा

धरान । गायक कर्ण दासको चर्चित गीत छ, पुरानो डुंगा..। कलाकार माओत्से गुरुङ त्यो गीतको टाइटलबाट असाध्यै प्रभावित थिए । उनमा परेको त्यही गीतको प्रभावले नेपाली फिल्म क्षेत्रले नयाँ चलचित्र पाउदैछ, पुरानो डुंगा ।
युवा निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्म आगामी मंसिर १० गते रिलिज हुदैछ । पश्चिम कास्कीको बेगनास ताल किनारको माझी परिवारको कथा उनिएको फिल्मको प्रचार भने सुदुर पुर्वबाट शुरु भएको छ । निर्देशक गुरुङका अनुसार माओत्सेले कर्ण दासको गीतको टाइटल धेरै मन पराएकोले नै चलचित्र तयार भएको बताए । ‘माओत्सेले पुरानो डुंगा गीतको टाइटल असाध्यै मन पराएको थियो । फिल्म बनाउने सोच भएपछि थुप्रै पटक बेगनास ताल वरीपरी रहेर उनीहरुको जीवन अध्ययन, अनुसन्धान ग¥यौं’–झापा पछि शुक्रबार धरानमा पत्रकार भेटघाट गर्दै निर्देशक गुरुङले भने–‘अहिले फिल्म तयार छ, रिलिज हुने दिनको पखाईमा छौं ।’
फिल्ममा बेगनास तालमा डुंगा चलाएर बसेको परिवारको कथा छ । निर्देशक गुरुङका अनुसार यो ‘फेमली फिक्सन कमेडी’ फिल्म हो । भाईले अंशमा डुंगा मागेपछि त्यसैको भरमा परिवार चलाईरहेका दाजु र परिवारमा आइपर्ने समस्या, द्धन्दलाई फिल्मले उतारेको छ । निर्देशक गुरुङ मुलधार भनिएको चलचित्रले समेट्न नसकेको समुदाय वा क्षेत्रको कथालाई उत्कृष्टढंगमा पर्दामा उतार्न खप्पिस छन् । यसअघि उनले थकाली समुदाय(जाति)को सँस्कारमा आधारित कबड्डी र त्यसको सिक्वेल बनाएर चर्चा कमाएका थिए । ‘यो पनि फरक समुदाय माझीको फरक शैलीको कथामा बनेको फिल्म हो’–उनी भन्छन् । बेगनास ताल वरीपरीको कथा भएपनि अहिले त्यसक्षेत्रमा माझी परिवार भने पाउन गाह्रो हने उनको भनाई छ । फिल्मको कथा करिब डेढ दशक अघितिरको हो ।
चलचित्रमा माओत्से माझी(दाई) र दयाहाङ राई भाईको भुमिकामा हुनेछन् । यस्तै, प्रियंका कार्की, मेनुका प्रधान, बुद्धि तामाङ, पुष्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पुर्णिमा गुरुङको पनि अभिनय रहेको छ । अभिनेता दयाहाङले कथामा उनिएका पात्र, तिनको स्वभावअनुसार चरित्रमा अन्याय नहोस् भनेर आफुले काम गरिरहेको बताए । फिल्म निर्माणदेखि प्रचारसम्म १ करोड १० लाख खर्च भएपनि लागत भने फिल्मको घोषणा गर्दा उठिसकेको निर्माण पक्षले जनाएको छ । सिनेमा आर्ट र माओत्से गुरुङ फिल्मको प्रस्तुती रहेको पुरानो डुंगा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । कथा भने माओत्से गुरुङको हो । फिल्मको कार्यकारी निर्माता माओत्से, बाल्मिकी पोखरेल र मणिराम पोखरेल हुन् भने रौनक बिक्रम कँडेल, ओमचन्द्र रौनियार र धनबहादुर गुरुङ फिल्मका निर्माता हुन् ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे