पत्रकार सुद्धिकरण अभियान, परीक्षा लिएर मात्र नयाँ सदस्यता वितरण

धरान । पत्रकारहरुको छाता संगठन पत्रकार महासंघमा गैरपत्रकारहरु हावी रहेको भन्दै धेरै आलोचना हुन थालेपछि जिल्ला शाखा सुनसरीले सदस्यता वितरण गर्न परीक्षा प्रणालीको शुरुवात गरेको छ । गैरपत्रकारहरुको कारण पत्रकारहरुप्रति समाजको धारणा नकरात्मक बन्दै गएकोले पत्रकारितामा योग्य व्यक्ति मात्र आउन् भन्ने उद्देश्य लिएर सुद्धिकरण अभियानअन्र्तगत सदस्यता वितरण अघि परीक्षा लिइएको महासंघ सुनसरी शाखाको भनाई छ ।
सुनसरी शाखाले शनिबार धरान १३, अमरहाटस्थित शाखा कार्यालयमा नयाँ सदस्यताको लागि आवेदन दिएकाहरुको लिखित परीक्षा लिएको हो । नयाँ सदस्यताको लागि जिल्ला शाखामा ८२ जनाले आवेदन दिएका थिए । ती मध्ये ६० जना मात्रै परीक्षामा उपस्थित भएको महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले जानकारी दिए । ‘यो पत्रकारितामा सुद्धिकरणको अभियान पनि हो, सदस्यताकोे लागि आवेदन दिनेहरुमा पत्रकारिताको आधारभुत ज्ञान भएको कति छ भनेर मापन पनि हुन्छ’–अध्यक्ष घिमिरेले भने–‘योग्य जति सबैलाई दिऊ तर अयोग्य कसैलाई पनि सदस्यता नदिउ भनेर यो विधि अपनाएका हौं ।’
  पत्रकार महासंघ केन्द्रीय समितिले सुद्धिकरणको अवधारणा अघि सारे पनि परीक्षा विधिबाट सुद्धिकरण अभियान थाल्ने सुनसरी शाखा पहिलो हो । अहिलेसम्म जिल्ला शाखाहरुले सिफारिश गरेको आधारमा जो कोहीले महासंघको सदस्यता पाउदै आएको छ । त्यसरी सिफारिश गरिदा मिडिया हाउस, राजनीतिक दल निकट रहेका गैरपत्रकारहरुले महासंघ सदस्यता पाएको भन्दै आलोचना पनि भइरहेको छ । ‘सदस्य भएकाहरुहरुलाई पनि सुद्धिकरणको प्रक्रियामा छौं । नयाँ सदस्यता वितरणदेखि नै सुद्धिकरण गर्नुपर्छ भनेर परीक्षा प्रणालीमा गएका हौं । यसले भागवण्डामा सदस्यता वितरण हुने प्रवृत्तिलाई निरुत्साहित पनि गर्छ’–अध्यक्ष घिमिरेले भने ।
सुनसरी शाखाले वरिष्ठ पत्रकार हर्ष सुब्बाको संयोजकत्वमा ९ सदस्यीय सदस्यता छनौट सिफारिश समिति गठन गरेको थियो । सोही समितिले आवेदकहरुको आवश्यक कागजात हेरेर लिखित परीक्षा विधि अपनाएको हो । समितिका संयोजक सुब्बाका अनुसार परीक्षा प्रणालीले मिडिया हाउस र पार्टी निकटका जो कोहीलाई महासंघको सदस्यता पाउने प्रवृत्तिको अन्त्य हुनेछ । ‘अब महासंघले प्रणाली अपनाएर मात्र सदस्यता दिन्छ, पत्रकारिताको न्युनतम ज्ञान हुनुपर्छ, सजिलै सदस्यता पाइदैन भन्ने सन्देश जान्छ’–संयोजक सुब्बाले भने–‘परीक्षा दिएर सदस्यता पाएपछि पत्रकार मर्यादामा पनि रहन्छन्, चुनाव हुदा मात्र परिचयपत्र देखाएर भोट हाल्ने परिपाटी पनि हट्छ ।’ आवेदन दिएकामध्ये ६० जना परीक्षामा सहभागी भएको र अरुको आवेदन स्वत खारेज भएको उनले बताए । सिफारिश समितिले आवदेकहरुसँग नागरिकता, न्युनतम एसएलसी पास, ३ बर्षदेखि पत्रकारितामा काम गरेको देखिने आवश्यक कागजात, नियुक्ति पत्र र सिफारिश पत्र माग गरेको थियो । समितिले गरेको सिफारिशको आधारमा जिल्ला कार्यसमितिले नयाँ सदस्यता वितरणको प्रक्रिया अघि बढाउनेछ ।
महासंघ सुनसरीमा हाल २ सय १४ जना सदस्य छन् । यो संख्यालाई पनि सुद्धिकरण गर्नको लागि उपाध्यक्ष वेदराज पौडेलको संयोजकत्वमा ३ सदस्यीय सदस्यता छनबिन समिति बनाएर छानबिन गरिरहेको सुनसरी शाखा अध्यक्ष घिमिरेको भनाई छ । समिति सदस्यमा कार्यसमिति सदस्यद्धय भोजराज श्रेष्ठ र तारा लामगादे छन् । ‘हालको सदस्यमध्ये को को के गर्दैछन्, पत्रकारितामा सक्रिय छन् कि छैनन् ? अन्य पेशातिर पो मोडिए कि ? भनेर आवश्यक छानबिन गरेर प्रतिवेदन पेश गरेपछि पत्रकारितामा सक्रिय नभएकाहरुको सदस्यता खारेजको लागि केन्द्रमा सिफारिश गछौं’–उनले भने ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे